+
+

अधिनायकवाद रोक्न बृहत प्रजातान्त्रिक मोर्चा आवश्यकः राणा

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते १६:५०

१९ असार, बुटवल । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सरकार दुई तिहाई बहुमतको अहंकारले अधिनायकवादी बन्दै गएकाले भन्दै त्यसलाई रोक्न बृहत प्रजातान्त्रिक मोर्चाको आवश्यकता औंल्याएका छन् ।

पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न बुटवल आएका राणाले पत्रकारहरुसँगको साक्षात्कारमा सरकारको अधिनायवादी कार्यशैली र कदमहरु रोक्न नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र राप्रपासमेतको बृहत प्रजातान्त्रिक मोर्चा बनाउन आवश्यक भएको बताए । ‘प्रधानमन्त्रीका कार्यशैली र निर्णयहरु अधिनायकवादी दिशामा गइरहेका छन्’ अध्यक्ष राणाले भने, ‘सरकारको अधिनायकवादविरुद्ध बृहत प्रजातान्त्रिक मोर्चा बनाउनुपर्ने जरुरी भइसक्यो ।’

सत्तारुढ दलका अध्यक्षको कार्यकारी राष्ट्रपतिको कुरा, सम्पत्ति शुद्धिकरण आयोग, राजस्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोग जस्ता स्वायत्त निकायहरुलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु र प्रधानमन्त्री कार्यालयबाटै सबै मन्त्रालयलाई चलाउन निर्देशन दिनसक्ने अधिकारसहितको विज्ञहरुको टोली नियुक्ति प्रकृयाले कम्युनिष्टहरुको जनवादी केन्द्रीयता र प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैलीलाई प्रमाणित गरेका अध्यक्ष राणाको आरोप छ ।

निर्माण व्यवसायीहरुलाई जथाभावी तानाशाही शैलीमा पक्राउ गरी जेल हाल्ने कार्य पनि सरकारको अधिनायकवादी कदम भएको अध्यक्ष राणाले तर्क गरे ।

आफ्ना अधिनायकवादी कदमहरु ढाकछोप गर्न सरकारले मिडिया म्यानेजमेन्ट संचालन गरेर सञ्चार माध्यमहरुमा अशोभनीयरुपमा विकास र समृद्धिको भ्रमपूर्ण विश्वास स्थापित गर्ने प्रयास गरिरहेको आरोप समेत राणाले लगाए । ‘अहिले सञ्चार माध्यमहरुमा विकास, समृद्धि र यसको चाइनिज कनेक्सनबारे तारन्तार समाचारहरु आइरहेका छन्,मानौं चाइनाले तुरुन्तै विकास र समृद्धि रातारात नेपालमा ल्याइदिन्छ,’ अध्यक्ष राणाले भने, ‘वर्तमान सरकारले अशोभनीय रुपमा मिडिया म्यानेजमेन्ट संचालन गरेर जनतामा भ्रमपूर्ण विश्वास स्थापित गर्ने प्रयास गरिरहेको छ ।’

पूर्व पराराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणमा भएका सम्झौताको प्रष्ट मोडालिटी, वहुप्रतिक्षीत र महत्वपूर्ण मानिएको ट्रेड एण्ड ट्रान्जिट प्रोटोकल तथा पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौतामा किन हस्ताक्षर हुन सकेन भन्ने विषय आम जनतामाझ प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरे ।

चीनसंगका सम्झौतामा ब्यहोर्न कठिन हुने ब्याज दर र आर्थिक अपारदर्शिताले मुलुक डेब्ट ट्रयाकमा पर्ने खतरा औंल्याउंदै राणाले चीनसंग १.२६ खर्बको ब्यापार घाटाको अवस्थामा निर्यात गर्ने वस्तु उत्पादन बृद्धि नगरी चीनबाट रेल मात्रै ल्याउंदा नेपालको अर्थतन्त्र झनै धराशायी हुने औंल्याए । ‘चीनसंगको चुलिंदो ब्यापार घाटाका बीच विना योजना अगाडि बढाउन खोजिएको रेल परियोजना र अन्य लगानी परियोजनाले ब्यापार घाटा अकल्पनीय हुन गई देशको सिंगो अर्थतन्त्र नै धराशायी हुने खतरा टड्कारो छ,’राणाले भने, ‘बहुआयामिक ट्रेड एण्ड ट्रान्जिट प्रोटोकल तथा पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर नभई दुई देशबीच भएको १४ बुंदे संयुक्त विज्ञप्तिमा नपर्नुले धेरै प्रश्नहरु उठाएको छ ।’

राणाले रेल परियोजना र अन्य लगानी परियोजनाको लगानी र ब्याज दर तथा अन्य शर्तहरु सावधानीपूर्वक अध्ययन गरेर मात्र अघि बढ्न सरकारलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?