+
+

सार्क मुलुकका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते १८:१३


१९ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सार्क मुलुकका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन् । मंगलबार भारतको नयाँ दिल्लीमा आयोजित सार्क विकास कोषको साझेदारी सम्मेलन-२०१८ लाई सम्वोधन गर्दै अध्यक्ष राणाले नेपालमा लगानीका गर्न सार्क क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरेकी हुन् ।

सम्मेलनमा सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू, अर्थशास्त्रीहरू, सार्क सचिवालय, सार्क उद्योग वाणिज्य संघको सहभागिता रहेको छ । सम्मेलनको दोस्रो प्राविधिक सत्रमा सामाजिक शीर्षक अन्तरगत गरिवी निवारण, मानव विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सह-वित्तियकरणका लागि सम्भावित परियोजनाहरूको पहिचान विषयक विशेष सत्रलाई संबोधन गर्दै अध्यक्ष राणाले सो आग्रह गरेकी हुन् ।

आइफाडका एशिया प्रशान्त क्षेत्रीय अर्थशास्त्री फेबि्रजीओ ब्रेससिआनीको अध्यक्षतामा आयोजित उक्त सत्रमा नेपालको निजी क्षेत्रको तर्फबाट बोल्दै उनले क्षेत्रीय आर्थिक विकासका लागि पूर्वाधार विकासमा ध्यान दिनु पर्ने बताइन् ।

दक्षिण एशियाली राष्ट्रहरूको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरूको निकै ठूलो योगदान रहेकाले एसएमइजहरूलाई पछिल्लो प्रविधिहरूले सुसज्जित बनाउन र यस क्षेत्रमा प्रविधि आदान प्रदानमा विशेष जोड दिनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष राणाले नेपाल दक्षिण एशियामा लगानीका लागि उर्वर क्षेत्र रहेकाले पर्यटन, पूर्वाधार, जलस्रोत, कृषि लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्न पर्याप्त अवसर रहेको जानकारी गराइन ।

उनले सदस्य राष्टहरू बीच सम्पर्क (जल, स्थल, हवाई) विस्तार, सहज आवागमन तथा सिमापार व्यापारमा पनि जोड दिइन् । उक्त सम्मेलनमा सह-वित्तियकरणका लागि पर्यटन, साना तथा मझौला उद्यम (एसएमइज), कृषि, क्षेत्रीय प्रयोगशाला, उर्जा लगायतका सम्भावित क्षेत्रमा परियोजनाहरू प्रस्ताव गरिएको छ ।

अध्यक्ष राणासँगै उक्त सम्मेलनमा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल, सार्क उवासंघका सदस्य वासुदेव गौतम र निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीले भाग लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?