Comments Add Comment

प्रदेशको नामबारे नेकपामा विवाद, प्रदेशसभा बैठक स्थगित

१९ असार, पोखरा । प्रदेशको नामबारे सत्तापक्षमा सहमति जुट्न नसकेपछि प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सोमबार प्रदेशसभाले स्थायी राजधानी पोखरा राख्ने प्रस्ताव पास गरेकोच थियो । आज मंगलबारदेखि प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची थियो ।

तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेशको नाम के राख्ने भन्ने सहमति जुट्न नसक्दा संसद बैठक बस्न सकेन । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष प्राविधिक कारण देखाउँदै सूचना टाँस गरेर स्थगित भएको हो ।

अर्को बैठक २१ गते बिहीबार २ बजेसम्मका लागि बोलाइएको छ । यसअघि मंगलबारदेखि छलफल गरेर २० गतेभित्र प्रदेशको नाम टुंगो लगाउने मौखिक सहमति दलहरुबीच भएको थियो ।

प्रदेशको नाममा सहमति जुटाउन मंगलबार बिहान नेकपाको संसदीय दलको बैठक पनि बसेको थियो ।

तर, सहमति जुट्न नसकेको एक सांसदले जानकारी दिए । शुक्रबारको बैठकमा अधिकांश सांसदले गण्डकी राख्नु पर्ने आवाज उठाएका थिए । तर, नेकपाभित्रै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै तत्कालीन माओवादीका सांसदहरु तमुवान-मगराँत वा गण्डकी तमुवान राख्ने पक्षमा उभिएका छन् ।

नेकपाबाट जुन नाम जान्छ त्यही नाम नै सर्वसम्मत गरेर लैजाने पक्षमा मुख्यमन्त्री र सत्तापक्ष सांसद छन् । तत्कालीन एमालेका सबैजसो सांसदले प्रदेशको नाम गण्डकी हुनुपर्ने पक्षमा छन् । एमाले प्रदेश कमिटीले यसअघि नै प्रदेशको नाम गण्डकी राख्ने भनेर सुझाव दिएको थियो ।

संसदमा प्रतिनिधित्व गर्ने पाँच दलमध्ये तत्कालीन माओवादी बाहेकका दल प्रदेशको नाम गण्डकी राख्न सहमत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment