+
+

चीनपछि बंगलादेशसँग ऊर्जा सहकार्य सम्झौता गर्दै सरकार

सुदिल पोखरेल सुदिल पोखरेल
२०७५ असार २० गते ११:४०
फाइल फोटो

२० असार, काठमाडौं । सरकारले बंगलादेशसँग पनि पनि ऊर्जा सहकार्य सम्झौता गर्ने तयारी गरेको छ । केही साता अघि मात्रै चीनसँग ऊर्जा सहयोग सम्झौता गरेको सरकारले बंगलादेशसँग पनि प्रक्रिया अघि बढाएको हो ।

ऊर्जा , जलस्रोत तथा सिँचाई मन्त्रालयले बंगलादेशलाई सम्झौता गर्ने मिति तय गर्न पत्र पठाएको छ ।

करिब ६ महिना अघि पत्र पठाएको थियो । तर, बंगलादेश सरकारले कुनै प्रतिक्रिया नदिएपछि पुनः पत्र पठाएको मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार करिब २ वर्ष अघि नै बंगलादेशसँग ऊर्जा सहकार्य सम्झौताको प्रक्रिया अघि बढाइएको हो । मन्त्रिपरिषद्ले बंगलादेशसँग गर्ने सम्झौतालाई पास गरिसकेको छ भने दुई देशबीच सम्झौताको मस्यौदा आदानप्रदान भइसकेको छ ।

‘बंगलादेश सरकारकै आग्रह अनुसार हामीले प्रक्रिया अघि बढाएका छौं’ उनले भने, ‘यसले बंगलादेशका लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज हुनेछ ।’

अहिलेसम्म नेपालले भारत र चीनसँग मात्र ऊर्जा सहकार्यसम्वन्धी सम्झौता गरेको छ । यो सम्झौता भएसँगै दुई देशबीच ऊर्जासँग सम्बद्ध संयन्त्र बन्छ भने विद्युत खरिद सम्झौताको लागि बाटो खुल्नेछ । साथै बंगलादेशी लगानीकर्ताको लागि पनि सहज हुन्छ । बंगलादेशमा ऊर्जाको ठूलो माग रहेको छ । नेपालमा उत्पादन भएको बिजुली पुर्‍याउन सके दुवै देशलाई नै फाइदा पुग्न सक्ने देखिन्छ ।

तर, नेपालबाट बंगलादेशसम्म बिजुली पुर्‍याउनको लागि भारतको भूमि प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि बंगलादेशले पनि भारतसँग छलफल गरिरहेको भन्दै प्रवक्ता घिमिरेले भने, ‘भारत सकारात्मक भएसँगै सम्झौता हुनेछ ।’

बंगलादेशको ३० प्रतिशत पानी नेपालको नदीमा निर्भर छ । गंगा नदीको ७० प्रतिशत पानी नेपालबाट आउँछ र बंगलादेशको कुल जलस्रोतको ३० प्रतिशत योगदान गंगाले गर्छ । बंगलादेशको अहिले विद्युतको जडित क्षमता १६ हजार मेगावाट छ । सन् २०२१ मा माग बढेर ३० हजार मेगावाट पुग्ने अनुमान छ ।

अहिले भने बंगलादशेले भारतबाट ६ सय मेगावाट विद्युत् आयात गरिरहेको छ । नेपालसँग ऊर्जा सहकार्य सम्झौता गरेर यहाँको बिजुली पनि आयात गर्ने उसको सोच छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?