Comments Add Comment

गोरखामा वर्षाले टाढियो गाउँ र सदरमुकाम

फाइल फोटो

२० असार, गोरखा । वर्षा लागेसँगै जिल्लाका अधिकांश ग्रामीण सडकमा सवारी संचालन हुन सकेको छैन । सौरपानी, वारपाक, भच्चेक र सिम्जुङ्गमा सवारी ठप्प भएको यातायात व्यवसायी समिति गोरखाले जनाएको छ । ‘भच्चेक रुटमा चैत्र १४ गते देखि नै गाडी चलेको छैन,’ समितिका महासचिव अञ्जन बाबु खत्रीले भने, ‘वारपाकको भने राङरुङ खोला सम्म वल्लतल्ल पुगेको छ ।’

सिम्जुङ्गका लागी छुट्ने सवारी चनौटेसम्म र सौरपानीका लागी छुट्ने सवारी झ्याल्ला सम्म मात्र पुगेको उनले बताए ।

फिनाम, कोखेआहाले, झिंगटे, खान्चोक, घ्याम्पेसाल हुदै आरुघाट रुटमा चल्ने सवारीहरु १२ किलो छेवेटार, खहरे, निवेल निस्केर मध्य पहाडी लोकमार्ग हुदै घ्याम्पेशाल जाने गरेका छन् । ‘गोरखा नगरपालिकाको फिनाम र भिमसेन थापा गाउँपालिकाको झिंगटे सम्मको बाटो साह्रै खराव छ, ठाउँठाउँमा पहिरो गएको छ, फेरि सडक हिलाम्मे छ गाडी फस्छ, त्यही भएर मध्य पहाडी लोकमार्ग हुदै जसोतसो आरुघाट सम्म चलेका छन्,’ उनले भने ।

वर्षा लागेसँगै ग्रामीण रुटमा जिल्ला सदरमुकामबाट छुट्ने सवारीको संख्या ५० प्रतिशत कम भएको खत्रीको भनाइ छ । यसअघि दैनिक ४५ वटा सवारी ग्रामीण रुटका लागि छुट्दै आएपनि अहिले करिव २२ वटा मात्र छुट्ने गरेको उनले बताए ।

वर्षातको समयमा सवारी संचालन गर्न कठिन भएको व्यवसायीहरु बताउँछन् । भाडादर समायोजन नगर्दा आफूहरु मर्कामा परेको उनीहरुको गुनासो छ ।

ग्रामिण रुटको यातायात क्षेत्र प्रभावित भएसँगै सदरमुकाम र गाउँको दुरी बढेको छ । सदरमुकाम आवतजावतसँगै दैनिक उपभोग्य सामान ढुवानीमा ग्रामीण भेगका स्थानीयले सास्ती भोग्नु परेको छ । गाउँमा व्यापार व्यवसाय संचालन गरेर बस्नेहरु मारमा परेका छन् ।

सडक मर्मतमा चासो नदिँदा समस्या

सडक स्तरोन्नती र आवश्यक मर्मत अभावमा वर्षेनी वर्षायाममा सवारी आवागमन ठप्प हुने गर्छ । तर, सडक मर्मतमा भने आवश्यक पहल भएको देखिदैन ।

सडक कर भनेरप्रति सवारी दुई सय रुपैयाँ उठाउने गरेपनि सडक मर्मतका लागि चासो नदिएको व्यवसायीहरुको आरोप छ । ‘सडक कर भनेर हामीसँग पैसा उठाउँछन्, तर सडक मर्मतमा भने चासो दिदैनन्, सडक मर्मत नगर्ने हो भने किन कर लिनु Û’ समितिका महासचिव खत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment