
२० असार, सिन्धुपाल्चोक । विद्यालय बाहिर रहेको सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने उदेश्यले सरकारले दोस्रो चरणको भर्ना अभियान सुरु गर्दै गर्दा सिन्धुपाल्चोकमा भने ५१० जना बालबालिकाहरु विद्यालय बाहिरै रहेको पाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइले दोस्रो चरणको भर्ना अभियानको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमा यो संख्याका बालबालिकाहरु विद्यालय बाहिरै रहेको तथ्यांक सार्वजनिक भएको हो ।
तत्कालिन जिल्ला शिक्षा कार्यालयले गत वर्ष गरेको घुरधुरी सर्वेक्षण अनुसार सबैभन्दा बढी साविकको बाँडेगाँउ गाविसमा विद्यालय बाहिर धेरै विद्यार्थीहरु रहेका छन् ।
बाँडेगाउँमा मात्रै ९७ जना विद्यालय उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख गौरी शंकर पाण्डेले जानकारी दिए ।
त्यस्तै साविकको हैबुङ गाविसमा ८६, भोटेनाम्लाङमा ४१, बालबालिकाहरु विद्यालय बाहिर नै रहेको शिक्षा विकास तथा समन्वय इकाइले जानकारी दिएको छ ।
स्थानीय संरचनामा गएपछि भनेको स्थानीय तह मध्ये बाह्रविसे नगरपालिकामा मात्रै ३०,चौतारा नगरपालिकामा ३५ बालबालिकाहरु विद्यालय बाहिर छन् ।
सरकारले बैशाख १ देखि १४ गतेसम्म पहिलो चरणको भर्ना अभियान सञ्चालन गरेको थियो । यो वर्षको भर्ना अभियानबाट कति बालबालिकाहरु विद्यालयमा भर्ना भए भन्ने आधिकारीक तथ्यांक नआएपनि अझै गत वर्षकै तुलनामा बालबालिकाहरु विद्यालय बाहिरै भएको हुन सक्ने समन्वय प्रमुख पाण्डेले बताए ।
प्हिलो चरणमा विशिष्ट व्यक्तित्वहरुबाट अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउने सरकारले घोषणा गरेपनि सिन्धुपाल्चोकमा भने जम्मा चार जना विशिष्ट व्यक्तिहरुले मात्रै अभिभावकत्व ग्रहण गरेका छन् ।
राष्ट्रिय सभा सदस्य विमला राइले जिल्लाका १३ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेकी छन् । त्यस्तै कानूनमन्त्री शेरबहादुर तामाङले चार, प्रदेश ३ का सामजिक विकासमन्त्री युवराज दुलालले १, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले १ र समन्वय इकाइका प्रमुख गौरी शंकर पाण्डेले एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेर विद्यालय भर्ना गराइदिएका छन् ।
हास्य कलाकार जितु नेपालले पनि एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दे विद्यालयमा भर्ना गराइदिएका छन् ।
दोस्रो चरणको विद्यालय भर्ना अभियानमा सबै स्थानीय तहले घरधुरी सर्वेक्षण गरेर बाँकी रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने कार्यक्रम रहेको शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत अशोक पराजुलीले जानकारी दिए ।
सरकारले दोस्रो चरणको भर्ना अभियान अन्र्तगत साउन ३१ सम्म घरधुरी सर्वेक्षण बाट विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने र भदौ ३१ गतेभित्र आफ्नो स्थानीय तहमा विद्यालय बाहिर कुनै पनि बालबालिकाहरु नरेको घोषणा गर्ने कार्यक्रम तय गरेको छ ।
सरकारको राष्ट्रिय नीति अनुसार नै आफूहरु जिल्लामा अभियानलाई प्रभ्ावकारी रुपमा सम्पन्न गर्न लागेको अधिकृत पराजुलीले बताए ।
प्रतिक्रिया 4