Comments Add Comment

मुस्ताङ दुर्घटनाः घाइतेको अवस्था सामान्य, शव पोखरा ल्याउन मुस्ताङमा हेलिकोप्टर


२३ असार, काठमाडौं । मुस्ताङमा शुक्रबार २० जनाको ज्यान जाने गरी भएको दुर्घटनाका १२ घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जिल्ला अस्पताल, मुस्ताङमा उपचाररत १२ जना घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए । ‘दुर्घटनामा मृतकको संख्या २० पुगेको छ । घाइते १२ जनाको जिल्ला अस्पतालमा उपचार भइरहे पनि अवस्था सामान्य छ’, पौडेलले अनलाइनखबरसँग भने ।

मुस्ताङको स्याङ्बोचेमा शुक्रबार मजदुर बोकेको टिपर दुर्घटना हुँदा कालीगण्डकी करिडोरमा कार्यरत २० जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । उनीहरुको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको शव पोखरा ल्याइँदै

यसैबीच, दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शव पोखरा ल्याउने तयारी भएको छ ।  मृतकहरू जिल्ला बाहिरका भएकाले शव पोखरा ल्याउन लागिएको हो । पोखराबाट सम्बन्धित जिल्लामा लगिने तयारी छ ।

प्रजिअ पौडेलले शव लिन नेपाली सेनाको हेलिकोप्टर मुस्ताङ आइपुगेको र २० वटै शव लिएर पोखरा फर्कने जानकारी दिए । ‘शव लिन नेपाली सेनाको हेलिकोप्टर आइपुगेको छ । जोमसोमका ५ शवसमेत संकलन गरेर पोखरा लैजाँदैछौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment