आमिर खानको फिल्म ‘तारे जमिन पर’ले हरेक बच्चा आफैमा विशेष हुन्छन् भनेका छन् । आमिरको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनले शिक्षा र बालबालिकाबारे घतलाग्दो कुरा बोलेका छन् । आमिरको भनाईको सार यस्तो छ, ‘हरेक बच्चाको आ-आफ्नै खुबी हुन्छ । केही सवल पक्ष हुन्छ । केही कमजोर पक्ष हुन्छ ।’
आमिरले भनेका छन्, ‘बच्चाको खास खुबी के हो ? त्यो हामीले चिन्नुपर्छ । ऊ के गर्न चाहन्छ, के बन्न चाहन्छ, के गर्दा खुसी हुन्छ ? त्यही कुरा बुझेर उसलाई हामीले सहयोग गर्नुपर्छ ।’
ठीक यही ठाउँमा आएपछि हाम्रो कमजोरी के हो भनेर खुट्याउन सकिन्छ । हामी छोराछोरीलाई विद्यालय पठाउँछौं । विद्यालय पठाउँदा उनलाई गह्रौ पुस्तकको भारी भिराइदिन्छौं । बच्चा विद्यालयमा पुग्छन्, अब उसले शिक्षकले भने बमोजिम आफुलाई पेश गर्नुपर्ने हुन्छ । ऊ खाज्ञाकारी बन्नुपर्छ । शिक्षकले पढाएको कुरा खुरुखुरु पढ्नुपर्छ । सोधेको प्रश्नको ठिकसँग उत्तर दिनुपर्छ ।
शिक्षक र अभिभावकको दवाव बच्चाको टाउकोमाथि
यसको अर्थ के भने बच्चालाई न अभिभावकले, न शिक्षकले उनीहरुको खुबी पहिल्याउने कष्ट गर्छन् । बरु तयारी पुस्तकमा भएका पाठ घोक्न लगाउँछन् । अभिभावकको ध्याउन्न के हुन्छ भने, जसरी पनि बच्चाले राम्रो पढोस् । शिक्षकको ध्याउन्न हुन्छ, जसरी पनि विद्यार्थीबाट राम्रो रिजल्ट निकाल्नेछु ।
यसमा केही स्वार्थ लुकेका छन् । अभिभावकको स्वार्थ भनेको, ‘मेरो बच्चाले धेरै पढोस् । राम्रो जागिर पायोस् । भविष्य सुरक्षित होस् ।’ शिक्षकको स्वार्थ हो, ‘आफुले पढाएको विद्यार्थीले राम्रो अंक हासिल गरोस्, ताकि मेरो पदोन्नती वा तलबमा वृद्धि हुनसक्छ । विद्यालयको ब्रान्ड भ्यालु बढ्छ ।’
तर, बच्चा के चाहन्छन् ? उनीहरुले कहिल्यै सोध्दैनन् । बच्चा के कुरामा खुसी हुन्छन् ? उनीहरुले कहिल्यै चासो राख्दैनन् । बच्चाको खुबी के हो ? उनीहरुले कहिल्यै खोतल्दैनन् । त्यसैले एउटा बच्चा जब विद्यालय जान्छ, उनीहरुका कतिपय क्षमताहरु संकुचन हुनपुग्छ ।
शिक्षा पद्धती वा विद्यालयप्रति असहमति जनाउन खोजिएको होइन । कुनै आरोप लगाउन खाजिएको होइन । विद्यालय शिक्षा बेठिक भन्न खोजिएको पनि होइन । तर हामीले जुन शिक्षण प्रणलीभित्र बालबालिकालाई समेट्दैछौं, त्यसले उनीहरुको सर्वाङ्गिण विकासमा होइन बरु नतिजामा मात्र ध्यान दिएको छ भन्न खोजिएको हो । र, वास्तविकता पनि त्यही हो ।
आमिरकै भनाई सापट लिऔं, ‘हरेक शैक्षिक संस्था भन्छ, मेरो रिजल्ट राम्रो छ । मेरो पढाई राम्रो छ । मैले पढाएको विद्यार्थीले टप गरेको छ ।’ तर, त्यसपछि कुरा उसले भन्दैन । किनभने विद्यालयको भूमिका पनि त्यती नै । अर्थात निश्चित परीक्षाहरुमा पास गराउनु । परीक्षामा उत्कृष्ट अंकका साथ पास गराएपछि विद्यालयको दायित्व पुरा हुन्छ ।
बच्चालाई अक्षरको बोझ
खासमा विद्यालयले लागि यस्तो आधार तय गर्नुपर्ने हो, जहाँ टेकेर बच्चाले आफ्नो क्षमता, खुबीलाई थप निखार्न सक्छन् । उनीहरुको आफ्नो बुद्धि, विवेक, क्षमताको विकास हुन्छ र त्यसकै उपयोगबाट भोलिका दिनमा केही गर्न समर्थ हुन्छन् । तर हाम्रो विद्यालय शिक्षाले बच्चाको समग्र विकासमा होइन, केवल परीक्षाको रिजल्टमा ध्यान दिन्छ । त्यही कारण बच्चाहरु रिजल्टको पछाडि दौडन्छन् ।
अभिभावक पनि चाहन्छन्, आफ्नो बच्चाले परीक्षामा उत्कृष्ट अंक हासिल गरोस् । यसबाट के बुझिन्छ भने, बच्चालाई शिक्षक वा अभिभावकले केवल प्रमाणपत्रका लागि पढाइरहेका छन् । विद्यालयले खुलमखुला भन्ने गरेका छन्, ‘हामीकहाँ पढेपछि विश्व बजारमा बिक्ने प्रमाणपत्र प्राप्त हुन्छ । तपाईं जहाँ पनि रोजगारका लागि एप्लाई गर्न सक्नुहुन्छ ।’
यसबाट के बुझिन्छ भने, शिक्षक र अभिभावक बच्चालाई केवल जागिरको लागि पढाइरहेका छन् । तर, पढ्नुको अर्थ जागिर मात्र हो त ? के शिक्षाको उदेश्य राम्रो ठाउँमा रोजगार प्राप्त गर्नु हो ?
पक्कै होइन । शिक्षाको अर्थ शिक्षित हुनु हो । सभ्य हुनु हो । सुसंस्कृत हुनु हो । जान्ने, बुझ्ने हुनु हो । जीवनोपयोगी शिक्षा आर्जन गर्नु हो । यसका लागि बच्चालाई त्यही शिक्षा चाहिन्छ, जो उसले आफ्नो व्यवहारिक जीवनमा प्रयोग गर्न सक्छन् ।
अनावश्यक अक्षरको बोझ बोकाएर, हुबहु प्रश्नोउत्तर गर्न लगाएर विद्यालयको ब्रान्ड भ्यालु बढाउनका लागि होइन, बच्चाको क्षमता विकासको लागि हुनुपर्छ शिक्षा ।
क्षमता विकास महत्वपूर्ण
अभिनेता आमिरको भनाई यहाँ पनि सान्दर्भिक हुन्छ, जो उनलाई फिल्म ‘थि्र इडियट्’को विशेष प्रदर्शनपछि एक मजदुरले सोधेका थिए । मजदुरले आमिरसँग प्रश्न गरेका थिए कि, फिल्मको अन्त्यमा तपाईं बैज्ञानिक हो भन्ने थाहा हुन्छ । तर, तपाईसँग त सर्टिफिकेट थिएन नि ? कसरी यस्तो हुन्छ ?’
यही प्रसंग उप्काउँदै आमिरले भनेका छन्, ‘त्यो एकदमै अहंम प्रश्न थियो । म पढ्छु । परीक्षामा पास हुन्छु र मेरो हातमा प्रमाणत्र मिल्छ । त्यसबाट यति कुरा मात्र थाहा हुन्छ कि म पढेलेखेंका हुँ कि होइन ? मैले कति पढेको छु । तर जब म आफै सक्षम छु । केही गर्ने क्षमता मसँग छ भने त्यो कागजको कुनै अर्थ रहँदैन ।’
खासमा हामीले पढ्ने भनेको प्रमाणपत्रका लागि होइन । बरु आफ्नो क्षमता विकासका लागि हो । जब हामीमा क्षमता विकास हुन्छ, तब प्रमाणपत्रको कुनै भ्यालु रहँदैन । उदेगलाग्दो चाहि के छ भने, अहिले विद्यालय तथा अभिभावकले विद्यार्थीबाट उत्कृष्ट प्रमाणपत्रको अपेक्षा गर्छन् ।
जबकी उनीहरुको क्षमता के छ, के कुरामा रुची छ, के बन्न चाहन्छ, कस्तो जीवनमा रमाउन चाहन्छ भन्ने कुरालाई पटक्कै ध्यान दिदैनन् । जबरजस्ती पुस्तकको पाठ घोकाएर प्रमाणत्रको दौडमा मिसाइदिन्छन् । यस्तो रिले दौड दौडाइएकै कारण बच्चाहरु भोलिका दिनमा डिग्रीको प्रमाणपत्र काखीमा च्यापेर रोजगारका लागि भौतारिने गर्छन् ।
बच्चालाई पढाउनु भनेको उनीहरुलाई जबरजस्ती पाठ घोकाउनु होइन । कुनै कुरा जान्ने बनाउनु होइन । बच्चालाई पुस्तक घोकाउनुअघि, पाठ रटाउनुअघि के ख्याल गर्नुपर्छ भने बच्चाको खुबी के कुरामा छ ? उसको रुची के छ ?
बच्चाको यही कुराले उसलाई कस्तो शिक्षा दिने भन्ने मार्गदर्शन गर्छ । कसरी शिक्षा दिने भन्ने कुरा पनि बुझ्न सकिन्छ ।
अभिनेता आमिरले ति प्रश्नकर्ता मजदुरसँग प्रतिप्रश्न गर्छन्, ‘के तपाईंलाई लाग्छ म राम्रो अभिनेता हुँ ?’
मजदुरले भनेछन्, ‘हो, लाग्छ ।’
आमिरले सारमा यसो भनेछन्, ‘तर, म राम्रो अभिनेता हुँ भन्ने प्रमाणपत्र मसँग छैन । यद्यपी तपाईंलाई विश्वास छ कि म राम्रो अभिनेता हुँ भन्ने कुरा । जब हामी सक्षम हुन्छौं । सफल हुन्छौं । तब हामीलाईं प्रमाणत्रको औचित्य रहन्न ।’
उनकै भनाई यहाँ सान्दर्भिक छ, बच्चालाई शिक्षा दिनु भनेको ज्ञानी बनाउनु मात्र होइन । सक्षम र उत्तरदायी नागरिक बनाउनु पनि हो । भोलि गएर उसले सहज रुपमा आफ्नो जीवन व्यतित गर्न मात्र होइन अरुको मद्दत गर्न पनि सकोस् । अरुको मुहारमा खुसी ल्याउन सकोस् । तर, के तपाईं-हामीले बच्चालाई यस किसिमको वातावरण दिएका छौं ?
हरेक बच्चाको आ-आफ्नै खुबी हुन्छ । क्षमता हुन्छ । त्यसलाई पहिचान गरेर त्यसलाई कसरी फलाउने, फुलाउने भन्ने कुरामा हामीले सहयोगी भूमिका खेल्ने हो ।
सबै बच्चा एकनास हुँदैनन् । सबैले एउटै कुरालाई एकै हिसाबले बुझ्दैनन् । उनीहरुको सोचाईं, बुझाईं, ग्रहण गर्ने क्षमता पनि एकनास हुँदैन । बच्चाहरुको यी भिन्न भिन्नै प्रवृत्तिलाई बुझेर सही ढंगले उनीहरुको क्षमता विकास गराउनका लागि हामीले सहयोग गर्नुपर्छ । किनभने कुनैपनि बच्चा आफैमा कमजोर हुँदैनन् । कमजोर त हाम्रो परीक्षा प्रणालीले देखाउने हो । प्रमाणत्रले देखाउने हो । तर वास्तवमा बच्चा कमजोर हुँदै हुँदैनन् ।
प्रतिक्रिया 4