Comments Add Comment

प्रतिस्पर्धीको नजरमा स्थानीय तहका जनप्रतिनिधिहरुको एक वर्ष

प्रतीकात्मक तस्वीर

२५ असार, डोटी । स्थानीय तहको निर्वाचन अन्तरगत दोश्रो चरणमा असार १४ गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पदभार सम्हालेको एक वर्ष पूरा भएको छ ।

निर्वाचनका क्रममा गरिएका बाचा अनुसार काम गर्न नसकेको र बिगतको भन्दा बढी अनियमितता भइरहेको आरोप लागिरहेका बेला निर्वाचनका प्रमुख प्रतिस्पर्धीहरुले पनि जनप्रतिनिधिहरुले मनोमानी गरिरहेको आरोप लगाएका छन् ।

डोटी दिपायल सिलगढी नगरपालिकाकाको प्रमुख पदका प्रमुख प्रतिस्पर्धी बाजीसिंह खड्काले जनप्रतिनिधिहरुले राजनीतिक आचरण बिपरीत हैकम शैलीमा काम गरिरहेको आरोप लगाए । ‘देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हुँदाहुँदै पनि जनप्रतिनिधिहरु एकतन्त्रीय शासन जस्तो एकलौटी गरिरहेका छन्,’ नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका खड्का भन्छन्, ‘राजनीतिक पूर्वाग्रही भएर योजना बाँड्ने, आफूलाई भोट दिने समुदायमा मात्रै योजना हाल्ने काम भइरहेको छ, यो राम्रो होइन ।’

उनी केही व्यक्तिहरुलाई मात्रै फाइदा हुने तरिकाले गरेका कामबाट जनतामा असन्तुष्टि बढेको वताउँछन् । उनी थप्छन्, ‘शत प्रतिशतै गलत भएको हो त म भन्दिनँ, केही सकारात्मक काम पनि भएका छन् तर सकारात्मक भन्दा नकारात्मक बढी छन् ।’

जनप्रतिनिधिहरुको कामबाट जनता सन्तुष्ट हुने ठाउँ नभएको बताउँछन् शिखर नगरपालिकाको प्रमुख पदका प्रमुख प्रतिस्पर्धी शेरवहादुर मल्ल । ‘चुनावमा जाँदा कुनै एक दलको उम्मेदवार भएर जाने कुरा लोकतन्त्रमा स्वभाविकै हो तर चुनाव जितिसकेपछि जनप्रतिनिधि कुनै दलको मात्रै हुँदैन,’ तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका मल्ल भन्छन्, ‘अहिलेका जनप्रतिनिधिहरु साझा बन्न सकेका छैनन् ।’

मनपरी ढंगले कार्यकर्ताहरुलाई पाल्नका लागि बजेट बिनियोजन गर्ने गरेको मल्लको आरोप छ । उनी भन्छन्, ‘नीति, बिधि र प्रक्रियाको वास्ता छैन, कसरी आफू र आफ्ना कार्यकर्ताहरुलाई फाईदा हुन्छ भन्ने कुरामा बढी ध्यान छ ।’

उनी पहिलो वर्ष अनुभवको कमी भएका कारण पनि यस्तो भएको हुन सक्ने बताउँदै भन्छन्,’तर आगामी दिनहरुमा पनि सही तरिकाले अगाडि बढ्ने लक्षण देखिदैन ।’ उनी अरुलाई अधिनायकबादी देख्नेहरुले पहिले आफु कति लोकतान्त्रिक छु भन्ने हेर्नु जरुरी भएको बताउँछन् ।

सायल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार धर्मराज जोशी पनि जनप्रतिनिधिहरुको कामबाट सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘राजनीतिक व्यवस्था परिवर्तन त भयो तर जनताले परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । उनी भन्छन् ‘अधिकारको व्यापक दुरुपयोग भयो, पहिलेको भन्दा झन बढी भ्रष्टाचार बढ्यो ।’ उनी जनप्रतिनिधि र कर्मचारीहरु मिलेर भ्रष्टाचार भइरहेको दावी गर्छन । ‘नीति छैन, मापदण्ड छैन, योजन

ा छैन, प्रक्रिया छैन’ कांग्रेसको तर्फवाट उम्मेदवार बनेका जोशी भन्छन्, ‘कर्मचारी र जनप्रतिनिधिहरु कसले बढी कमाउने भन्ने होडमा मात्रै रहेको देखिन्छ ।’ उनी व्यवस्था मात्रै परिवर्तन भएर नहुने बताउँछन् । भन्छन्, ‘राजनीतिकर्मीहरुका व्यवहार परिवर्तन हुनु जरुरी छ ।’

के आई सिंह गाउँपालिकाको अध्यक्षमा प्रमुख प्रतिस्पर्धी यज्ञराज जोशी स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई खुशी पार्नुको सट्टा निराश बनाएको आरोप लगाउँछन । ‘परम्परागत शैलीमा योजनाहरु बाड्ने, जहाँ जति मन लाग्यो त्यति बजेट बिनियोजन गर्ने र कमिसन खाने खेलमा जनप्रतिनिधिहरु लागेका छन्,’ एमालेबाट उम्मेदवार बनेका जोशी थप्छन्, ‘राजनीतिक पूर्वाग्रही भएर एकलौटी गर्न खोज्यो भने यसले जनतालाई न्याय हुँदैन, अन्याय हुन्छ ।’ उनी अहिले जनतालाई अन्याय भइरहको बताउँछन् । सात वडा रहेको के आई सिंह गाउँपालिकामा ३७ वटै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु बिजयी भएका हुन् ।

जनप्रतिनिधिहरुले अधिनायकत्व कायम गरेको आरोप लगाउँछन जोरायल गाउँपालिकाको अध्यक्ष पदका प्रमुख प्रतिस्पर्धी दिपक बिष्ट । उनी भन्छन्, ‘कम्युनिस्टहरु जिते भने अधिनायकबाद लागु हुन्छ भन्थे, हो रहेछ ।’

जनप्रतिनिधि र कर्मचारीहरु मिलेर व्यापक रुपमा आर्थिक अनियमितता गरिरहेको आरोप लगाउँदै नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका बिष्ट थप्छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत कानमा तेल हालेर सुतेको छ ।’ उनी आफूहरुले अख्तियारबिरुद्ध पनि लड्नु पर्ने अवस्था आएको बताउँछन् । योजनामा कमिसन खाने गरेको आरोप बिष्टको छ ।

बडी केदार गाउँपालिका अध्यक्षका प्रमुख प्रतिस्पर्धी भक्तबहादुर साउँदको आरोप पनि फरक छैन । ‘संबिधानले दिएको अधिकारको सही तरिकाले कार्यान्वयन हुन सकेन,’ साउँद भन्छन्, ‘जनप्रतिनिधिहरुले आफ्ना वरिपरि घुम्नेहरुलाई मात्र जनता ठानेका छन्, समग्र जनताको कुनै वास्ता छैन ।’

एमालेबाट उम्मेदवार भएका साउँद थप्छन्, ‘स्थानीय तहको समग्र विकासको योजना बन्न सकेन, न त स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रका कानूनहरु नै निर्माण गर्न सकेको छ । ‘

उनले स्थानीय तहको जिम्मेवारी अनुसारको जनप्रतिनिधिहरुमा क्षमता नभएको आरोप लगाए । उनी थप्छन् , ‘खेल कमिसनको मात्रै छ, सडकमा पैसा हाल्ने, डोजर लगाउने अनि कमिसन खाने, यस्तै यस्तै चलेको छ ।’

पूर्वीचौकी गाउँपालिकाको अध्यक्ष पदका प्रमुख प्रतिस्पर्धी रामप्रसाद उपाध्यायको धारणा भने अलि परक छ । ‘एक वर्षको छोटो अवधिमा धेरै कुरा हुने त हैन तर जुन गतिमा काम हुनु पर्ने थियो, त्यो हुन नसकेकै हो’ कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उपाध्याय भन्छन्, ‘नयाँ व्यवस्था भएका कारण जनप्रतिनिधिहरुलाई अनुभव नहुँदा पनि यो समस्या आएको छ ।’

कानुनी जटिलता भएका कारण पनि जनताले सोचे अनुसारको काम हुन नसकेको उपाध्यायको भनाइ छ । ‘पहिले सवै अधिकार स्थानीय तहमा जाने भन्ने हल्लाले जनताको आकांक्षा बढेको थियो, त्यो आकांँक्षा अनुसार काम हुन नसक्दा निरासा छाएको छ ।’ स्थानीय तहको अधिकार क्षेत्रभित्रका काम कारवाहीमा अहिले पनि अन्यौलता रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment