Comments Add Comment

समीक्षाको मृत्युबारे प्रदेश सरकार गम्भीर छ : मन्त्री केसी

रहस्यमय रूपमा मृत्यु भएकी समीक्षा ।

२६ असार, बुटवल । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले रुपन्देही रुद्रपूरकी बालिका समिक्षा ठकुरीको रहस्यमय मृत्युको घटनालाई प्रदेश सरकारले गम्भीरतासाथ लिएर अनुसन्धान कार्य अगाडि बढाएको बताएका छन् ।

मंगलबार बसेको प्रदेश नं ५ को प्रदेश सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै मन्त्री केसीले किशोरीको रहस्यमय मृत्युको घटनाको गहिराईमा पुगेर अनुसन्धान गर्न प्रदेश सरकारले मातहतका प्रहरी निकायलाई निर्देशन दिएको जानकारी गराए । ‘समीक्षाको मृत्युको अनुसन्धानलाई प्रहरी उपरीक्षक (एसपी) ले नै नेतृत्व गर्नुभएको छ’-मन्त्री केसीले सांसदहरुलाई आश्वस्त पार्दै भने ।

प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै महिला सांसदहरुले १६ वषिर्या किशोरी समीक्षा ठकुरीको रहस्यमय मृत्यु घटनाको बारेमा प्रभावकारी अनुसन्धान गर्न र सत्य तथ्य पत्ता लगाएर दोषिलाई कार्वाही गर्न माग गरेका थिए ।

समीक्षा ठकुरीको रहस्यमय मृत्यु महिला हिंसाको चरम उत्कर्षको उदाहरण भएको भन्दै सांसदहरुले महिला हिंसा घटनाका मुद्धा सहज रुपमा दर्ता समेत नहुने गरेको भन्दै त्यस्ता मुद्धा सहज रुपमा दर्ता गर्ने व्यवस्था मिलाउन समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

घटना घटेको लामो समयसम्म मुद्धा दर्ता नहुनु र विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन प्रसारण भए पछि मात्रै मुद्धा दर्ता गरिनु,स्थानीय तहका प्रतिनिधिहरु र स्थानीय प्रहरी प्रशासनले समेत घटनाप्रति चासो नदेखाउनु दुखद भएको सांसदहरुको गुनासो गरेका थिए ।

मंगलबारको बैठकमा सांसदहरुले कार्य व्यवस्था परामर्श समितिले निर्णय गरे बमोजिम सदन सञ्चालन गर्न माग गरेका छन् । प्रदेश सांसद रमा अर्याल र तारा जिसी ले कार्य व्यवस्था समितिले एउटा निर्णय गर्ने तर संसदमा अर्कै विषयमा छलफल हुने गरेको भन्दै कार्य व्यवस्था परामर्श समितिले तय गरे बमोजिम सदन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

विगतमा कार्य व्यवस्था परामर्श समितिले तय गरे बमोजिमका एजेण्डामा छलफल हुने गरेको स्मरण गराउदै सांसद रमा अर्यालले पछिल्लो समय सरकार किन निरंकुश हुन थालेको हो भनि प्रश्न गरिन् ।

त्यसैगरी आजको बैठकमा विशेष समय लिएर बोल्दै नवलपरासीका सांसद बैजनाथ कलवार ले गौतम बुद्धको मावली स्थल रुपन्देहीको देवदह नभएर नवलपरासीको रामग्राम स्थित पण्डीतपुर भएको दाबी गरे ।

गौतम बुद्धको मावली स्थल इसा पुर्व ५०० वर्ष अगाडि कोलीय राजाद्धारा निर्मित रामग्राम स्तुप रहेको स्थान भएको विभिन्न सोध र अनुसन्धानले देखाएको दाबी गर्दै सांसद कलवारले विभिन्न समयमा भएका उत्खनन् र अनुसन्धान प्रतिवेदन समेत प्रदेश सभालाई हस्तान्तरण गरे ।

प्रदेश सभाको आजको बैठकमा यस अघिको बैठमा सांसदहरुले उठाएका प्रश्नहरुको भौतिक पुर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरी,उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जवाफ दिएका थिए ।

प्रदेश सभामा प्रदेशका मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा अन्य सेवा र सर्तहरुको बारेमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथी छलफल भएको थियो ।

बैठकमा सांसदहरु चेतनारायण अर्याल,तुलाराम घर्ती मगर,सहषराम यादव छलफलमा सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment