Comments Add Comment

भेगासिटीमा हाउजिङ बनाउन सुधीर बस्नेत तयार, पीडितले न्याय पाउने बाटो खुल्याे

गाैरीबहादुर कार्कीले भने- यो सकारात्मक कदम हाे

२७ असार, काठमाडौं । सहकारी ठगी काण्डमा मुछिएका सुधीर बस्नेतले अन्ततः दुईवटा हाउजिङ बनाउने र पीडितलाई हस्तान्तरण गर्ने सम्झौता गरेका छन् । सोमबार कोहिनुरहिल र भेगाससिटी हाउजिङ दुई वर्षभित्र बनाइसक्ने गरी बस्नेतले पीडितहरुसँग सम्झौता गरेका हुन् ।

पीडितहरुसँग गरिएको सहमति मंगलबार गौरीबहादुर कार्की अध्यक्ष रहेको समस्याग्रस्त सहकारी संघ वा संस्था व्यवस्थापन समितिको कार्यालयमा दर्ता भएको छ ।

कोहिनूर र भेगासिटी हाउजिङ्गका पीडित उपभोक्ताहरु र ओरियण्टल को-अपरेटिभका आधिकारिक प्रतिनिधिहरुबीच अधुरो अपार्टमेन्टको निर्माण कार्य पूरा गर्ने र बुकिङ्गकर्ताहरुलाई कानूनीरुपमा छिटो  फल्याट वितरण गराउने सम्बन्धमा भएको त्रिपक्षीय सहमती आजै सरकारी कार्यालयमा दर्ता भएको हो ।

बस्नेत र पीडितहरुवीच भएको सहमतिपत्रमा ओरियण्टल सहकारीका अध्यक्ष बस्नेत, भेगासिटी पीडित उपभोक्ता समितिका तर्फबाट तेजबहादुर गुरुङ र ओरेण्टल सहकारीका पीडितहरुको तर्फबाट कुन्तिदेवी पोखरेलले हस्ताक्षर गरेका छन् ।

बस्नेतको नेतृत्वमा कोहिनुरहिल हाउजिङ्गले सञ्चालन गरेको ललितपुर साविक इमाडोल गाविस, हाल परिवर्तित महालक्ष्मीनगरपालिका वडा नं.२ मा सञ्चालन गरेको भेगाससिटीमा निमर्माणाधीन अपार्टमेण्टको बाँकी निर्माण कार्य सम्पन्न गर्ने सहमतिमा उल्लेख छ ।

सम्झौता अनुसार बस्नेतले ए, बी र ई ब्लकका २ सय फ्ल्याटको हाउजिङ एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।

त्यसैगरी ८० देखि एक सय फ्ल्याटसम्मको ‘एफ’ ब्लकको हाउजिङ १५ महिनाभित्र निर्माण गर्नुपर्ने छ भने ‘सी’ र ‘डी’ ब्लकका अन्य सम्पूर्ण हाउजिङ २ वर्षमा सम्पन्न गर्ने गरी बस्नेत र पीडित पक्षबीच सहमति भएको छ ।

मंगलबार कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी संघ र संस्थाको व्यवस्थापन समितिको कार्यालय सिंहदरबारमा उक्त सहमति पत्र दर्ता गरिएको हो ।

हाउजिङको निर्माणका लागि आवश्यक रकम तत्कालीन अवस्थामा कानून बमोजिम खरिद करार गर्ने पक्षसँग रहेको बक्यौता तथा थप नयाँ सहमति बमोजिमको अन्य रकम लगायतको आन्तरिक श्रोतबाट जुटाएर परिचालन गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी ‘उठेको रकम निर्माण कार्यका लागि सहकारी ऐन, २०७४ बमोजिम गठित व्यवस्थापन समितिको परामर्श र सहयोगमा कम्पनी सञ्चालनको आधिकारितक प्रतिनिधि, कानून बमोजिम अपार्टमेण्ट खरिदकर्ताहरुको आधिकरिक प्रतिनिधि समेत संयुक्त बैंक खाता सञ्चालन गराउने गरी निर्माण कार्य गर्ने गराउने’ सहमति पत्रमा उल्लेख गरिएको छ ।

भेगाससिटी अपार्टमेन्ट तयार भएर हस्तान्तरण भइसकेपछि बाँकी रहेका अपार्टमेन्ट सहकारीतर्फको समस्या समाधानका लागि व्यवस्थापन समितिको जिम्मामा राखिने बताइएको छ ।

भेगाससिटी अपार्टमेन्ट निर्माणका लागि कर्जा दिने बैंक वित्तीय संस्था समेतको हदैसम्मको ब्याज मिनाहाका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने लगायतको सहमति भएको छ ।

भेगासिटीका उपभोक्ता समितिले कम्पनीको तर्फबाट निर्माण पूरा नगरेका अपार्टमेन्टहरु भेगासिटीका बुकिङकर्ता समेतको सक्रियतामा उपभोक्ता समितिले हालै निर्माण कार्य गरेको एकिन लागत खर्चलाई बुकिङकर्ताले दिन बाँकी रकम मूल्य समायोजनको रकममा कट्टा गरिने बताइएको छ ।

अपार्टमेन्ट लिन पैसा दिएका तर हालको नयाँ समिति व्यवस्थामा मञ्जुर नभई अपार्टमेन्ट लिन नचाहनेका लागि पैसा फिर्ता समेत दिने सहमति भएको छ ।

आपार्टमेन्टका लागि विभिन्न व्यक्तिबाट बुकिङवापत अर्बौं रुपैयाँ लिएर भवन नबनाएपछि ओरियण्टल सहकारीका सञ्चालक बस्नेत ठगीको आरोपमा जेल परेका थिए ।

अघिल्लो महिना जेलमुक्त भएका बस्नेतले पीडितहरुलाई अपार्टमेन्ट बनाइदिने र लिन नचाहने पीडितहरुको पैसा फिर्ता गरिदिने प्रतिवद्धता जनाएका हुन् ।

यसैवीच बस्नेत जुलमुक्त हुनासाथ पीडितहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर बस्नेतको ठगी कार्यबारे जानकारी गराएका थिए ।

यसैवीच बस्नेतले पीडितसँग गरेको सहमतिलार्इ समस्याग्रस्त सहकारी संघ वा संस्था व्यवस्थापन समितका अध्यक्ष गाैरीबहादुर कार्कीले सकारात्मक कदम भनेका छन् । अधुरो हाउजिङकाे निर्माण गर्न गराउन भएको सहमतिले वर्षाैंदेखि अलपत्र परेको अायाेजना सम्पन्न गर्ने बाटो खुलेकाे कार्कीले विश्वास व्यक्त गरेका छन् ।

मंगलबार समस्याग्रस्त सहकारीको कार्यालयको सरकारी छाप लागेको सहमतिपत्र यस्तो छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment