Comments Add Comment

शिवम् सिमेन्टको आईपीओमा अाकर्षण, अधिकांश सूचक उत्कृष्ट

२७ असार, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा साधारण शेयर अर्थात आईपीओ जारी गर्ने भएको छ । उत्पादनमूलक सिमेन्ट उद्योगको इतिहासमा नै आईपीओ जारी गर्ने शिवम् पहिलो उद्योग हो ।

शिवमलाई स्थानीयका लागि प्रतिकित्ता तीन सय र सर्वसाधारणका लागि प्रतिकित्ता ४ सय रुपैयाँका दरले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।

बोर्डले शिवमलाई स्थानीयका लागि जारी पुँजीको दुई प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता तथा सर्वसाधारणका लागि दश प्रतिशत अर्थात ४४ लाख कित्ता आईपीओको जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

स्थानीयबासिन्दाले आईपीओका लागि प्रतिकित्ता ३ सय रुपैयाँ तिर्नु पर्ने छ भने अन्य सर्वसाधारणले एक कित्ताका लागि ४ सय रुपैयाँ तिर्नु पर्ने छ । मकवानपुरबाट दैनिक ३ हजार सिमेन्ट उत्पादन गरिरहेको शिवमले चीनको होंसि समूहको साझेदारीमा नवलपरासीमा ६ हजार टनको सिमेन्ट तथा क्लिंकर उत्पादन शुरु गरेको छ ।

एफपीओमा सर्वसाधारणको आकर्षण देखिएला त ?

शिवम् सिमेन्टले आईपीओ जारी गर्न लागे पनि प्रिमियम सहितको आईपीओ भएका कारण सर्वसाधारणले एफपीओकै नजरले हेरेका छन् ।

बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागू गरी प्रिमियमसहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पुँजीको न्यूनतम दश प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने सहुलियत दिएको थियो ।

सो सहुलियत पाए पछि शिवमले स्थानीयका लागि ३ सय रुपैयाँ र सर्वसाधारणका लागि ४ सय रुपैयाँका आईपीओ जारी गर्न लागेको हो ।

पछिल्लो समय एफपीओ जारी गरेका कम्पनीहरुमा सर्वसाधारणको आकर्षण देखिएको छैन । यसअघि एफपीओ जारी गरेको एनएमबी बैंक र नेपाल बैंकको एफपीओ सर्वसाधारणले किन्न सकेनन् । सर्वसाधारणलाई एफपीओ बेच्न नसकेपछि दुवै बैंकले संस्थागत लगानीकर्ताका लागि एफपीओ बिक्री खुला गरे पनि अझै बिक्न सकेको छैन ।

यस्तो अवस्थामा प्रिमियम मूल्यसहित शिवमले जारी गरेको आईपीओ पनि बिक्दैन कि भन्ने आंशका गरिएको छ । यद्यपि, शिवम्को आइपीओमा आकर्षण देखिने ठूला लगानीकर्ताहरुको भनाइ छ । उत्पादन मूलक सिमेन्ट उद्योगले पहिलो पटक जारी गर्न लागेका कारण यसको आईपीओमा आकर्षण देखिने लगानीकर्ताहरु बताउँछन् ।

उत्पादनमूलक क्षेत्र भएकै कारणले पनि शिवम् सिमेन्टको आईपीओमा आकर्षण देखिने ति लगानीकर्ताको दावी छ ।

स्थानीयका लागि विशेष फाइदा

शिवमले सर्वप्रथम स्थानीय मकवानपुरवासीलाई आईपीओ जारी गर्दैछ । परियोजना प्रभावित स्थानीयको लागि २६ करोड ४० लाख रुपैयाँको आईपीओ बिक्री गर्नेछ । शिवमले जारी गर्न लागेको आईपीओ स्थानीय वासिन्दाका लागि विशेष फाइदा हुने देखिन्छ ।

आईपीओ सर्वसाधारणका लागि भन्दा स्थानीयका लागि केहि सहुलियत मूल्यमा आउनेछ । आईपीओका लागि प्रिमियम मूल्यसहित सर्वसाधारणले ४ सय रुपैयाँ प्रतिकित्ता तिर्नु पर्ने छ भने स्थानीयबासीले ३ सय रुपैयाँमै पाउने छन् ।

अर्को तर्फ डिम्याट खता तथा अनलाइन आस्वा अनिवार्य नगरिएका कारण स्थानीयलाई थप सहज हुने देखिएको छ ।

इक्राको रेटिङले सक्षम पुष्टि

शिवम्को आईपीओ किन्ने नि नकिन्ने विषयमा सर्वसाधारणमा अन्योलता देखिन सक्छ । कम्पनीको विभिन्न पक्षहरुका कारण आईपीओ किन्न उपयुक्त हुने देखिन्छ । यसका सबै इन्डिकेटर सकारात्मक छन् जसमध्ये एउटा हो इक्रा रेटिङ ।

क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीको शेयरलाई क्रेडिट रेटिङ ग्रेड थ्री प्लस प्रदान गरेको छ । जसले गर्दा कम्पनीको आईपीओ किन्न उपयुक्त देखिन्छ ।

शिवमको वित्तीय अवस्था

शिवमको आईपीओ किन्न उपयुक्त छ भन्ने कुरा उसको वित्तीय अवस्था सबल हुनुले पनि पुष्टि गर्छ । कम्पनीको वित्तीय अवस्था सवल हुनुका साथै आगामी दिनमा आर्जन गर्ने प्रतिफलको सम्भावनामा एकदम राम्रो भएका कारण लगानीका लागि शिवम् उपयुक्त हुने देखिन्छ ।

शिवम् सिमेन्टको चार वर्षको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७०÷७१ मा १ अर्ब २५ करोडको चुक्ता पुँजी रहेकोमा २०७३÷७४ मा चुक्ता पुँजी औसत रुपमा ६० प्रतिशतले वृद्धि गरी २ अर्ब ५० करोड पु¥याएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म चुक्ता पुँजी ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ पु¥याएको छ भने खुद मुनाफा हरेक त्रैमासमा वृद्धि भएको देखिएको छ ।

शिवमले आर्थिक वर्ष २०७४/७५ मा ९३ करोड लाख रुपैयाँ खुद मुनाफा गरेको छ । चिनियाँ कम्पनी होङ्सीसँगको साझेदारीमा खोलेको होङ्सी शिवम सिमेन्ट नवलपरासीमा चैत्र मसान्तसम्म ३ अर्ब ३६ करोड रुपैयाँ उद्योगमा लगानी देखिएको छ । यस उद्योगले पनि उत्पादन थालेको हुनाले लाभांशको रुपमा भविष्यमा राम्रो मुनाफा आर्जन गर्न सकिने देखिएको छ ।

उत्पादन क्षमता बलियो

उत्पादनका हिसाबले पनि शिवम् सिमेन्ट सकारात्मक देखिएको छ । शिवमले क्लिंकर तथा सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै आएको छ ।

त्यस्तै होङ्सी शिवम् सिमेन्टको ग्रान्डिङ क्षमता र क्लिङ्कर उत्पादन क्षमता प्रतिदिन ६ हजार टन रहेको छ । शिवम् सिमेन्ट आफंैमा रामो ब्रान्ड बनाउन सफल हुनु तथा अन्य सिमेन्टभन्दा गुणस्तरीय रहेकाले छिटो समयमा राम्रो प्रतिफल दिने सम्भावना छ ।

शिवम् सिमेन्टको शुरू संचालनको समयमा ग्रान्डिङ प्रतिदिन ७ सय टन क्षमताबाट २०१६ मा ५५ करोड थप लगानी गरी प्रतिदिन २३ सय टन पु¥याएको थियो । त्यस्तै २०१८ मार्चसम्म आउँदा ६५ करोड थप लागतमा प्रतिदिन ३ हजार टन पुगेको छ ।

कम्पनीको स्थापना

शिवम सिमेन्ट २०६० सालमा स्थापना भएको थियो । प्राइभेट कम्पनीको रूपमा स्थापना भएको शिवम २०७२ सालमा आएर पब्लिक कम्पनीमा परिणत भएको हो । हेटौँडामा स्थापना भएको शिवम् सिमेन्ट २०६७ पछि भने व्यावसायिक उत्पादनमा सक्रिय बनेको थियो ।

यस कम्पनीको कारखाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका हटियामा अवस्थित छ । कम्पनीको सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेडमा ८८ प्रतिशत शेयर लगानी छ ।

शिवम् होल्डिङ प्राइभेट लिमिटेड र चीनको होङ्सी होल्डिङ समूहले नवलपरासीको सर्दीमा स्थापना गर्न लागेको होङ्सी शिवम् सिमेन्ट प्रालिमा शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेडमार्फत नेपाली समूहको ३० प्रतिशत र होङ्सी होल्डिङ चिनियाँ समूहको ७० प्रतिशत लगानी रहेको छ ।

कम्पनीमा लगानी र सञ्चालक समिति

शिवममा लगानी राम्रा र ठूला व्यवसायिक घरानाको छ । राम्रा व्यवसायिक समूहको लगानी र सञ्चालक समतिको टिमवर्क राम्रो भएको कारण पनि कम्पनीले राम्रो उत्पादन गर्दै आएको छ । कम्पनीले हाल प्रतिदिन तीन हजार टन सिमेन्ट र १९ सय टन क्लिंकर उत्पादन गर्न थालेको छ ।

शिवम्मा ६ वटा कम्पनीहरु लक्की ग्रुप, शारदा ग्रुप, जेबी मारु ग्रुप, एचआर गोयल ग्रुप, देवेनरा ग्रुप र भिमसरिया ग्रुपको संयुक्त लगानी छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रकुमार गोयल छन् । कम्पनीको सञ्चालकमा रोहित गुप्ता, सन्दीपकुमार शारदा, अमित मोर र रघुनन्दन मारु रहेका छन् । कम्पनीले भारतीय गुणस्तर चिन्ह बीआईएस प्रमाणपत्र, आईएसओ प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment