
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालीहरुको महान चाड बडादशैं आज देश–विदेशमा आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ।
- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत निर्धारण गरेको थियो र दिनभर टीका लगाउन सकिने जनाएको छ।
- समितिले टीका लगाउँदा परम्परागत अभ्यासअनुसार टीका दिने व्यक्ति पश्चिम र टीका लिने व्यक्ति पूर्व फर्किनुपर्ने बताएको छ।
१६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं आज देश–विदेशमा आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ ।
दशैं घर वा पूजाकोठामा घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवी दुर्गाको प्रसादका रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने परम्परा छ । दशैं आफैंमा शुभ दिन भएकाले सर्वसाधारणले साइत कुर्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिले आज बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत निर्धारण गरेको थियो । तर समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार अब त्यो साइत बितिसक्दा पनि सर्वसाधारणले दिनभर नै टीका थाप्न सक्नेछन् ।
‘दशैंको बिहानदेखि अपराह्नसम्म सम्पूर्ण समय शुभ हुन्छ । सर्वसाधारणलाई टीका थाप्न साइत कुर्न आवश्यक छैन,” भट्टराईले भने, ‘अब पनि टीका लगाउन सकिन्छ, यसलाई असाइत मानिँदैन।’
पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउँदा परम्परागत अभ्यासअनुसार टीका दिने व्यक्ति पश्चिम र टीका लिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको छ ।
आजको दिनलाई परिवारभित्र मिलन र आशीर्वादको दिनका रुपमा लिने गरिएको छ । परम्पराअनुसार गुरुपुरोहित भए उनीमार्फत, नभए परिवारका ज्येष्ठ सदस्य वा अन्य मान्यजनको हातबाट टीका–जमरा लगाइन्छ । त्यसपछि मात्रै अन्य मान्यजन कहाँ गई टीका–आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।
यसरी, बिहान तोकिएको साइत बितिसक्दा पनि आज दिनभर नै टीका लगाउन सकिने भएकाले घर–घरमा अहिले पनि बडादशैंको रमाइलो माहोल चलिरहेको छ ।
प्रतिक्रिया 4