+
+
Shares

मान्छेलाई हजारौं वर्षदेखि ‘पोर्ट्रेट’ किन मन पर्दै आइरहेको छ ?

प्राचीन कालमै विकसित भएको यो विधा ऐतिहासिक रूपमा विभिन्न उद्देश्यका लागि प्रयोग गरिन्थे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राचीन रोमन कालदेखि पोर्ट्रेटले शासकहरूको प्रचार-प्रसार र सम्मान जगाउने काम गरेको छ।
  • पुनर्जागरण कालपछि पोर्ट्रेट कला फस्टाएको र आज सामाजिक मुद्दा उठाउन समावेशी माध्यम बनेको छ।

कलामा पोर्ट्रेटको एउटा विशेष स्थान छ । इतिहासमा को कस्ता थिए भन्ने कुराको जानकारी वर्षौंअघि बनाइएका पोर्ट्रेटहरू हेर्दा थाहा पाइन्छ । कुनै पोर्ट्रेटबाट सामाजिक, सांस्कृतिक र राजनीतिक इतिहासबारे समेत महत्त्वपूर्ण जानकारी पाउन सकिन्छ ।

भलै कलाका अन्य विधाले पनि त्यस्ता जानकारी दिन्छन् । तर पोर्ट्रेट सबैभन्दा सुलभ र लोकप्रिय छ । यसले हामी मानिसहरूको बारेमा आधारभूत सत्यहरू देखाउँछ ।

प्राचीन समयदेखि आजको दिनसम्म पोर्ट्रेट कलाको अभिन्न अङ्ग रहिरहेको छ । आजकल त स्मार्टफोन क्यामेरामा पोर्ट्रेट मोड नै राखिएको छ । व्यावसायिक स्टुडियोमा गएर खिचिने पोर्ट्रेट त छँदै छन् ।

त्यसो भए के हो त पोर्ट्रेट ?

पोर्ट्रेट भनेको कुनै व्यक्तिको अनुहार वा पूरै शरीरलाई केन्द्रित गरेर बनाइएको चित्रकला, मूर्ति वा फोटो हो । यसको मुख्य उद्देश्य व्यक्तिको व्यक्तित्व, मनोभाव र पहिचानलाई कलात्मक तरिकाले प्रस्तुत गर्नु हुन्छ ।

आज फेसन उद्योगदेखि राजनैतिसम्म यसको प्रयोग हुन्छ । कुलीन वर्गदेखि सामान्य नागरिकसम्मले यसलाई प्रयोग गर्ने गर्छन् । प्राचीन कालमै विकसित भएको यो विधा ऐतिहासिक रूपमा विभिन्न उद्देश्यका लागि प्रयोग गरिन्थे ।

कला इतिहासकारहरूका अनुसार त्यो बेलादेखि अहिलेसम्म सत्तामा रहेकाहरूको महिमा गाउनदेखि मृतकहरूको सम्झना गर्नेसम्मका काम पोर्ट्रेटमार्फत गरिँदै आएको पाइन्छ ।

ईसापूर्व पहिलो र दोस्रो शताब्दीमा रोमनको फायुम क्षेत्रमा ममीको बाकसमा अचम्मलाग्दा प्राकृतिक चित्रहरू बनाइएको भेटिएको छ । ती पोर्ट्रेटका प्राचीन उदाहरण हुन् तत्कालीन सम्राटहरूको प्रचार-प्रसारका लागि पोर्ट्रेटहरू एक महत्त्वपूर्ण साधन थिए । शाही पूजास्थलहरूमा राखिएका पोर्ट्रेटहरूले त्यहाँका नागरिकहरूमा शासकप्रति सम्मान र भावना जगाउने काम गर्थ्यो।

मध्य युगका भने केही पोर्ट्रेट मात्र भेटिएका छन् । ती पनि प्राचीन कालका जस्तै उद्देश्यका लागि प्रयोग गरिएका थिए । छैटौं शताब्दीमा रेभेनाको सान भिटाले चर्चमा सम्राट जस्टिनियन र महारानी थियोडोराको शरीर आकारको बनाइएको मोजाइक एउटा उदाहरण हो । मोजाक भनेको विभिन्न रङका साना-साना टुक्राहरूलाई मिलाएर बनाइने एक प्रकारको कलाकृति हो ।

मध्यम वर्गका मानिसहरूको पोर्ट्रेटहरू १५औं शताब्दीसम्म देखा परेका थिएनन् । यसको अर्थ पोर्ट्रेट हुनेखाने वर्गकै कब्जामा सीमित थियो । सन् १४३४ को जान भान आइकको ‘द म्यारिज अफ द अर्नोल्फिनी’ एक प्रसिद्ध पोर्ट्रेट हो । अहिले यो चित्र लन्डनको नेसनल ग्यालरीमा राखिएको छ ।

यसरी विभिन्न कालखण्डबाट गुज्रिदै आएको पोर्ट्रेट खास फस्टाएको भने रेनासाँ (पुनर्जागरण) काल पछि हो । यसको मुख्य कारण व्यक्तिको पहिचान र प्रतिष्ठा नै थियो । कला इतिहासकारहरू शहरको विकासलाई पनि कारण मान्छन् । शहरहरूको विकासले व्यापारी वर्गको उदय भयो, जो आफ्नो चित्र बनाएर कुलीन वर्गको नक्कल गर्न चाहन्थे । त्यसका लागि उनीहरूले कलाकारलाई आफ्नो अथवा आफ्नो मान्छेका पोर्ट्रेट बनाउन लगाउँथे । मोनालिसा त्यसको उदाहरण हो ।

त्यस्तै व्यापारीहरूकै पोर्ट्रेटका केही उदाहरण भने ह्यान्स होल्बाइनको ‘जर्ज गिजे’ र जान गोसार्टको ‘जान जाकोब्ज स्नोक’ हुन् । उनीहरू पनि त्यो समयका सामान्य व्यापारी नै थिए । तर उनीहरूले पोर्ट्रेटमा आफूलाई भव्य पोशाक लगाएको, चिठ्ठी, कागजात, लेख्ने सामग्रीले घेरिएको देखाउन रोजेका छन् ।

महिलाहरूले भने पोर्ट्रेटमा सुन्दर कपडा, कुमारीत्व र गहनाहरूमार्फत आफ्नो हैसियत र धन देखाउन खोजेको पाइन्छ । महारानी एलिजाबेथ प्रथमका विभिन्न चरणमा बनाइएका पोर्ट्रेटहरू हेर्दा यो कुरा प्रस्ट हुन्छ ।

पोर्ट्रेटको बढ्दो महत्त्व १७औं शताब्दीमा झनै सुदृढ भएको देखिन्छ । त्यसको मुख्य कारण फ्रान्सेली रोयल एकेडेमीले पोर्ट्रेटलाई कलामा विधागत वरियता सिर्जना गर्नु हो । त्यसमा महान तथा असल व्यक्तिहरूलाई दस्ताबेज गर्ने उद्देश्य राखिएको थियो ।
यसपछि पोर्ट्रेट केन्द्रित ग्यालरीहरू पनि खुल्न थाले । बेलायतको नेसनल पोर्ट्रेट ग्यालरी र चार्ल्स विल्सन पिलको ‘ग्यालरी अफ इलस्ट्रियस पर्सनजेस’ उदाहरण हुन् ।

१९औं शताब्दीसम्म आइपुग्दा पोर्ट्रेट मध्यम वर्गसमक्ष पुगिसकेको थियो । फोटोग्राफी पनि उदाइरहेको थियो । यसपछि कलाकारहरूले सामाजिक मान्यताहरूलाई चुनौती दिन थाले । कारण उनीहरूले धनीका मात्र होइन, साधारण मानिसहरूलाई पनि आफ्नो कलाको मूल विषयवस्तु बनाउन थालिसकेका थिए ।

भ्यान गगको ब्यान्डेज लगाएको कानसहितको सेल्फ पोट्रेट यो समयको चर्चित पोर्ट्रेट हो । जसलाई आफैंमा शक्तिशाली कलात्मक अभिव्यक्ति मानिन्छ ।

अनि पाउला मोडर्सन बेकर र एलिस नील जस्ता कलाकारहरूले यो परम्परालाई अगाडि बढाउँदै किसान र सीमान्तकृत मानिसहरूलाई सम्मानका साथ पोर्ट्रेटमा ल्याउन थाले । यसलाई आफ्नो कलाहरू कैद गर्ने र सामाजिक मुद्दाहरूमाथि बोल्ने माध्यमका रूपमा प्रयोग गर्न थाले ।

आजको समयमा आइपुग्दा पोर्ट्रेट केन्द्रित ग्यालरीहरू विश्वभर खुलेका छन् । पोर्ट्रेट मात्र बनाउने र खिच्ने कलाकार/फोटोग्राफरहरू धेरै छन् । यसमार्फत नै सामाजिक मुद्दाहरू धेरै उठाइएका छन् । त्यसअर्थमा पोर्ट्रेट आज समावेशी बन्न पुगेको छ ।

यसरी वर्षौंदेखि पोर्ट्रेटहरू मानव पहिचान र अनुभवलाई बुझ्ने माध्यम बनेको अवस्था छ । यसले हामी को थियौं ? को छौं ? र, को हुन सक्छौं ? भनेर बुझ्न सहयोग गरिरहेको छ ।

यसकारण नै हजारौं वर्षदेखि मान्छेलाई पोर्ट्रेट मन पर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?