
News Summary
Generated by OK AI. Editorially reviewed.- विजया दशमीमा परिवारका ज्येष्ठ सदस्यले सानालाई रातो टीका र जमरा लगाएर सुख, शान्ति र समृद्धिको आशीर्वाद दिन्छन्।
दशैं, प्रायगरी आध्यात्मिक, सामाजिक र सांस्कृतिक एकताको प्रतीक हो । यो पर्वको विशेष दिन विजया दशमी हो ।
यस दिन परिवारका ज्येष्ठ सदस्यले सानालाई रातो टीका, जमरा लगाएर आशीर्वाद दिने परम्परा छ ।
यो आशीर्वाद केवल औपचारिक शब्दहरूको संग्रह नभई गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व बोकेको अभिव्यक्ति हो । दशैंको टीकामा दिइने आशीर्वादको अर्थलाई विभिन्न आयामबाट बुझ्न सकिन्छ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उन्नति, प्रगतिको कामना गर्ने गर्छन् ।
दशैंमा टीका लगाउँदा प्राय गरी दुईवटा मन्त्रोचारण गरी आशीर्वाद दिने प्रचलन छ ।
दशैंमा आशीर्वाद दिँदा पढिने मन्त्र र यसको अर्थ
आयु द्रोण सुते, श्रियं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ
आयु द्रोण सुते : द्रोणचार्यका पुत्र अश्वस्थामाको जस्तै लामो आयु होस् ।
श्रियं दशरथे : दशरथ राजाको जस्तै श्री अर्थात लक्ष्मीको दिव्य कृपा रहोस् ।
शत्रुक्षयं राधवे : भगवान श्री रामचन्द्रले जस्तै शत्रुको नाश गर्नू ।
ऐश्वर्य नहुषे : राजा नहुषको जस्तै ऐश्वर्य प्राप्त होस् । राजा नहुष पृथ्वीसहित स्वर्गको समेत राजा भएको पुराणहरूमा उल्लेख छ ।
गतिश्च पवने : पवन अर्थात हावाको जस्तै गति होस् ।
मानं च दूर्योधने : हस्तिनापुरका युवराज दुर्योधनको जस्तै मान-सम्मान मिलोस् । उनी घमण्डी, अहंकारी भए पनि हस्तिनापुरमा दुर्योधनको मान-सम्मान उच्च थियो ।
सौर्य शान्तनवे : सन्तनुपुत्र देवब्रत जसलाई भीष्मपितामह पनि भनिन्छ, उनको जस्तै सौर्य अर्थात पराक्रम रहोस् ।
यसमा ‘सौर्य शान्तनवे’ को सट्टा कतैकतै ‘दानं सूर्यसुते’ अर्थात सूर्यपुत्र कर्ण जस्तै दानी बन्नू पनि भन्ने गरेको पाइन्छ ।
बलं हलधरे : भगवान कृष्णका दाजु हलोधारी बलरामको जस्तै बल होस् ।
सत्यं च कुन्ती सुते : कुन्तीपुत्र युधिष्ठिर जस्तै सत्यवादी हुनू ।
विज्ञानं विदुरे : विदुर जस्तै ज्ञानले भरिपूर्ण हुनू ।
भवंतु भवतां कीर्तिश्च नारायणे : तपाईंलाई/तिमीलाई प्राप्त होस्, नारायणको जस्तो कीर्ति ।
अर्को मन्त्र छ जुन प्राय महिलालाई आशीर्वाद दिँदा प्रयोग गरिन्छ ।
ऊँ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
यो मन्त्रमा देवी अर्थात दुर्गाका विभिन्न रूप र नामको उच्चारण गरिएको छ । दशैं दुर्गा अर्थात देवीको पूरा अर्चना गर्ने पर्व हो । नवरात्र भरी देवीका विभिन्न स्वरुपको पूजा गरिन्छ ।
देवीका नाम अनुसार विभिन्न शक्तिको अर्थ लाग्छ ।
जयन्ती : विजय शक्ति प्रदान गर्ने
मङ्गला : कल्याणी अर्थात सुख प्रदान गर्ने,
काली : शत्रुको विनाश गर्ने स्वरुप,
भद्रकाली : अभय रुप
कपालिनी : कपाल र मुण्डमाला धारण गरेकी ।
दुर्गा : देवीको एक शक्तिशाली र साहसी स्वरुप, आठ हात भएकी र बाहन सिंहमाथि चढेकी ।
क्षमा : क्षमा प्रदान गर्ने, दया र करुणाको स्वरुप
शिवा : शान्त र शिवको स्वरूप
धात्री : ब्रह्माण्डलाई धारण गर्ने, ब्रह्माण्डको रक्षा गर्ने
स्वाहा स्वधा नमोस्तुते : यी शब्दले देवीको नाममा समर्पण तथा श्रद्धा व्यक्त गरिएको हो ।
अर्थात मात्रा देवीका विभिन्न नाम लिएर उनको आराधना गरिएको हो ।
पारिवारिक एकता
दशैंको टीकाको आशीर्वादले परिवार र समुदायलाई जोड्ने काम गर्छ । मान्यजनबाट आशीर्वाद पाउँदा आनन्द र खुसी मिल्छ । साथै जीवनमा अघि बढ्न प्रेरणा पनि मिल्छ ।
यो प्रक्रियाले पारिवारिक एकता र सामाजिक सम्बन्धलाई बलियो बनाउँछ । टीका लगाउने र आशीर्वाद दिने कार्यले कम्तीमा वर्षको एक पटक परिवारका सबै सदस्यलाई एकै ठाउँमा भेला हुन प्रेरित गर्छ ।
प्रतिक्रिया 4