Comments Add Comment

शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

२७ असार, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले कावासोती नगरपालिकासँग शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत वजेट विनियोजन गर्न माग गरेको छ ।

बुधबार कावासोती नगरपालिकाका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको तर्फबाट संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नगरपालिकाको निशर्त अनुदानको न्यूनतम् २० प्रतिशत बजेट विनियोजन गर्ने नितिगत व्यवस्था गर्न माग गरिएको हो ।

विज्ञप्तिमा कावासोती नगरपालिका भित्र ४२ वटा सामुदायिक विद्यालय रहेकोमा नगरपालिकाले शिक्षाको अभिभावकत्व ग्रहण गर्न नसकेको आरोपसमेत लगाइएको छ ।

कावासोती नगरपालिकाले आर्थिक बर्ष ०७५/७६ का लागि आफ्नो बजेटको ०.४ प्रतिशत अर्थात ३० हजार मात्र विनियोजन गरेको छ ।

अखिल नेपाल शिक्षक संगठनका प्रदेश सदस्य गोपाल लम्साल, नेपाल शिक्षक संगठनका कावासोती नगर अध्यक्ष गोपाल ज्ञवाली र नेपाल राष्ट्रिय शिक्षक संगठनका कावासोती नगर अध्यक्ष टिकाराम डुम्रेद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा नगरपालिका कार्यालय भित्र कार्यरत कर्मचारी र नगर भित्रका विद्यालय शिक्षक कर्मचारीहरुले प्राप्त गर्ने सेवा सुविधामा भएको भेदभाव पूर्ण व्यवहारको अन्त्य गरिनु पर्ने, नगरपालिकाका कर्मचारीद्वारा शिक्षकलाई गरिने अपमानजनक व्यवहारको अन्त्य गरिनु पर्ने, नगर शिक्षा अधिकृत मार्फत प्रस्तावित कार्यक्रम स्वीकृत गरिनु पर्ने र सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक कर्मचारीहरुको सेवा सुविधा नगरपालिकाद्वारा भुक्तानी गर्ने व्यवस्था गरिनु पर्ने माग समेत गरिएको छ ।

विज्ञप्तिमा नेपालको संविधानले ३ तहको संघीय, प्रादेशिक र स्थानीय सरकारको व्यवस्था गरी स्थानीय सरकारलाई कक्षा १२ सम्मको शिक्षा हेर्ने जिम्मेवारी प्रदान गरेको भएपनि कावासोती नगरपालिकाले भने शिक्षा क्षेत्रको अभिभावकत्व ग्रहण गर्न नसकेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment