Comments Add Comment

भारतीय भन्छन्– पोखराको अगाडि सिंगापुर, थाइल्याण्ड खल्लो

हवाई र सडक यात्रा सहज बनाउन सुझाव


३० असार, बनारस । भारतीयहरुले सिंगापुर, थाइल्याण्ड भन्दा नेपाल आउने बाचा गरेका छन् । नेपाल पर्यटन बोर्डको सहयोगमा बनारस पुगेका पोखरेली पर्यटन व्यवसायीहरुसँग उनीहरुले सिंगापुर, थाइल्याण्डभन्दा नेपाल कयौं गुणा राम्रो भएको बताउँदै पर्यटक बनेर नेपाल आउने बाचा गरेका हुन् ।

पश्चिमाञ्चल होटल संघको ‘चलिए पोखरा’ अभियान लिएर बनारस पुगेका पर्यटन व्यवसायीहरुले शुक्रबार साँझ गरेको भारतीय पत्रकार तथा पर्यटन व्यवसायीहरुसँग गरेको भेटघाटमा उनीहरुले प्राकृतिक सुन्दरता, सांस्कृतिक र एडभेञ्चर स्पोर्टस्को लागि पोखरा साँच्चिकै स्वर्ग रहेको बताए ।

कार्यक्रममा बोल्दै भारतीय विधायन सभाका सांसद रविन्द्र जैसवालले भारतीयको सबैभन्दा मन पर्ने ठाउँ पोखरा भएको बताए । नेपालका पोखरासहित विभिन्न ठाउँ घुमेर सिंगापुर, थाइल्याण्ड जाँदा त्यहाँ खल्लो हुने बताउँदै उनले भने, ‘सिंगापुर, थाइल्याण्ड जानु पहिले एकपटक नेपालको काठमाडौं, पोखरा पुग्नैपर्छ, नेपाल हाम्रोलागि स्वर्ग भूमि हो ।’

उनले बाटोको सहजता र हवाई यात्राको थालनीका लागि भने नेपाल सरकारको ध्यानाकर्षण गराए ।

बनारस होटल एशोसियसनका अध्यक्ष देवेन्द्रनारायण सिंहले नेपाल भारतको ससुराली देश भएको बताउँदै त्यहाँ नगई मन नमान्ने बताए । ऐतिहासिक सम्बन्ध, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाका कारण भारत नगई सुख नपाइने उनको भनाइ छ । उनले भने, ‘नेपाल स्वर्गभन्दा कम छैन, प्रकृतिले कुटीकुटी भरेको छ, त्यहाँ गएपछि मनमा शान्ति र आनन्द मिल्छ ।’

कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले भारतीय पर्यटकलाई पोखरा आउन निम्ता दिएका छन् । भारत र नेपालको बीचमा भाषा, संस्कृति र रहनसहन मिल्ने भन्दै उनीहरुले नेपालका धार्मिक पर्यटक बनारस र बनारसका धार्मिक पर्यटक नेपाल जाने प्रचलन पुरानै रहेको बताउँदै अब यसलाई बढाउनुपर्नेमा जोड दिए ।

पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख सूर्य थपलियाले भारतका लागि नेपाल भ्रमणको प्राथमिकतामा १३ स्थान पर्ने गरेको जानकारी दिए । नेपाल आफैमा सुन्दर रहेको र त्यसमा पनि पोखरा र यसको आसपासमा अझै पर्यटकका लागि धेरै स्मरण भइरहने खालका स्थल रहेको जानकारी दिए ।

विगतमा ‘चलिए पोखरा’ लगायतका प्रवद्र्धनात्मक कार्यक्रम पछि भारतीय पर्यटक नेपाल आउने क्रम बढेको उनको भनाइ छ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमण पछि भारतीय पर्यटकको नेपाल आगमन बढेको चर्चा गर्र्दै उनले भारतीय प्रधानमन्त्री मोदीप्रति आभार प्रकट गरे । उनले नेपाल घुम्न भारतका बनारस, पटना, कानपुर, लखनउलगायतका गर्मी ठाउँका पर्यटकका लागि रेनी सिजन अर्थात जुन, जुलाई महिना उपयुक्त रहेको बताए । यो गर्मी ठाउँका भारतीयहरुको लागि गर्मी छल्ने उपयुक्त ठाउँ भएको उनको भनाइ छ ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका उपाध्यक्ष तथा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले पोखरा पर्यटकका लागि धेरै दृष्टिकोणले उपयुक्त रहेको धारणा राखे । प्याराग्लाइडिङ, ट्रेकिङ, मुक्तिनाथदेखि विन्ध्यवासिनी हुँदै तालबाराहीको दर्शन, ८ तालको अवलोकन, त्यहाँका विभिन्न प्राकृतिक गुफा लगायतका विभिन्न स्थान घुम्न र दर्शनका लागि पोखरामा स्थल रहेको जानकारी दिए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखराका होटलमा ३ हजारदेखि १५ हजार भारतीय रुपैयाँमा प्रतिपर्यटकका लागि प्याकेज रहेको जानकारी दिए ।

उक्त अवसरमा बनारसका पर्यटन व्यवसायी र पत्रकारले भारतीय पर्यटक बाहक सवारीले नेपालमा जाँदा विभिन्न स्थलमा अनावश्यक झमेला खेप्नु परेको, पोखरा सुन्दर भएपनि त्यहाँ पुग्ने सडक स्तरीय नरहेको र हवाई पहुँच नरहेको भन्दै सुधार गरे वनारसी पर्यटक पोखरा जान आतुर रहेको धारणा राखे ।

पटना हुँदै बनारस आएको ‘चलिए पोखरा’ अभियानको टोली शनिबार विहान भारतको उत्तर प्रदेशको राजधानी लखनउ प्रस्थान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment