Comments Add Comment

टिचिङमा कलेजो प्रत्यारोपण सुरु गर्न स्वास्थ्य मन्त्रालयको आलटाल


३२ असार, काठमाडौं । स्वास्थ्य मन्त्रालयको ढिलासुस्तीका कारण त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको काम रोकिएको छ ।

कलेजो प्रत्यारोपण सम्बन्धी गठन गरिएको पुरानो समिति करिब डेढ वर्ष अगाडि भंग भएको र नयाँ गठन नभएको कार कलेजो प्रत्यारोपणको काम अगाडि बढ्न नसकेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

‘कलेजो प्रत्यारोपण गर्नका लागि हामीलाई स्वीकृति दिने निकाय भनेको स्वास्थ्य मन्त्रालय हो । तर स्वास्थ्य मन्त्रालयमा नै विगत डेढ वर्षदेखि उक्त कमिटी थिएन’, त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवाको नेतृत्वकर्ता डा. रमेश सिंह भण्डारीले भने ।

स्वास्थ्य मन्त्रालयद्वारा हालै मात्र सिफारिस गरिएको नयाँ समितिले अनुमति दिनासाथ आगामी दुई महिनाभित्रमा अस्पतालले कलेजो प्रत्यारोपणको काम थालनी गर्ने अस्पतालले जनाएको छ ।

‘कलेजो प्रत्यारोपणका लागि आवश्यक पर्ने आईसीयु कक्ष तथा आवश्यक जनशक्तिसहित हामी कलेजो प्रत्यारोपणका लागि तयारी अवस्थामा छौं । स्वास्थ्य मन्त्रालयले स्वीकृति दिनासाथ आगामी दुई महिनाभित्रमा यसको थालनी गर्छौ’, शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराले भने ।

उनका अनुसार कलेजो प्रत्यारोपण गर्नकै लागि स्वास्थ्य मन्त्रालयले त्रि वि शिक्षण अस्पताललाई करिब एघार करोड रुपैया बजेट समेत विनियोजन गरेको थियो ।

उक्त बजेटबाट अत्याधुनिक आईसीयु कक्षको निर्माण गर्नुका साथै कलेजो प्रत्यारोपणका लागि आवश्यक उपकरणको व्यवस्था गरेको थियो । कलेजो प्रत्यारोपणका लागि बीस जना भन्दा बढी विरामीले अस्पतालमा आफ्नो स्क्रिनिङ गराइसकेका छन् ।

अस्पतालमा हाल कलेजो सम्बन्धी समस्या लिएर आउने विरामीको संख्या वाषिर्क तीन सय देखि चार सयको हाराहारीमा छ । त्यसमध्ये ४० देखि ५० प्रतिशत विरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

नेपालमा प्रत्यारोपणको सुविधा भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्र्रत्यारोपण केन्द्रमा मात्र भएकाले कलेजो प्रत्यारोपणकै लागि सयौ मानिस भारतको विभिन्न शहर पुग्ने गर्छन् ।

त्रिवि शिक्षण अस्पतालमा समेत यो सेवा सञ्चालन भएमा नेपालीले २० देखि २५ लाख रुपैयामा नेपालमै कलेजो प्रत्यारोपण गर्न सक्नेछन् ।

विभिन्न किसिमको संक्रमण, फ्याटी लिभर, लगायत धुमपान, मद्यपान लगायतका कारण लिभर सिरोसिस भएमा कलेजो प्रत्यारोपण गर्नुपर्छ ।

लिभर सिसोसिस भएमा कलेजो पूर्णतया नष्ट भई कलेजोले काम गर्न छोड्छ । कसैकसैको कलेजो विस्तारै बिगि्रए पनि कसैको कलेजोमा एकाएक संक्रमण भई कलेजो पूर्णतया नष्ट हुने गर्दछ । यसरी कलेजो नष्ट भएमा पनि कलेजो प्रत्यारोपण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment