Comments Add Comment

आजका पत्रपत्रिकाः मन्त्रीले भर्ना गरेका बालबालिका नै विद्यालय गएनन्


१ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । मन्त्री र मुख्यमन्त्रीले भर्ना गरेका बालबालिका विद्यालय नगएका देखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेकासम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।

यसका अलावा असारे विकासको विकृति, डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि चिकित्सक बोलाइएको , यातायात सिन्डिकेटलाई पुससम्मको म्याद थप गरिएको लगायत समाचारले पनि आजका पत्रपत्रिकामा उत्तिकै महत्त्व र स्थान पाएका छन् ।

मन्त्रीले भर्ना गरेका बालबालिका विद्यालय गएनन्

नयाँ पत्रिका दैनिकले आज मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय नगएको खबर छ ।

नयाँ पत्रिकाले लेखेको छ– नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् ।

तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन ।

उद्घाटन कार्यक्रममै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय बालक कर्मा यान्जिन लामालाई कक्षा १ मा भर्ना गराएका थिए । तर, ती विद्यार्थी भर्नाको दिनदेखि अहिलेसम्म सम्पर्कमा छैनन् ।

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पर्साका २ तथा सिरहा र धनुषाका एक,एक गरी चार बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका थिए । तर, अहिले उनी तीन बालबालिकाको मात्रै अभिभावकत्व लिएको दाबी गर्छन् । धनुषाको मिथिलाबिहारी नगरपालिका–५ परती टोलकी पाँच वर्षीया राधिका दासलाई मुख्यमन्त्री राउतले बिर्सिएका छन् ।

बजेट खर्चमा बेथितिः अन्तिम दिन ३३ अर्ब भुक्तानी

वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ।

चालु वर्षको अन्तिम दिन असार ३१ (३२ गते चेक काट्न रोक) गते मात्र देशभरका सरकारी कार्यालयले ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। यसमध्ये पुँजीगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च ५ अर्ब ८३ करोड रुपैयाँ हो। एकै दिन यति ठूलो रकम खर्च भएको मुलुककै इतिहासमा पहिलोपटक हो।

सरकारले असार १ गतेसम्ममा पुँजीगत बजेट एक खर्ब ५९ अर्ब रुपैयाँ खर्च गरेको थियो। असार एक महिनामा मात्र ९६ अर्ब खर्च गरेको छ । यस्तै असार १ गते मा चालु खर्च ६ खर्ब १९ अर्ब रुपैयाँ गरेकामा असारभरिमा ७५ अर्ब रुपैयाँ गरेको छ । दुवै जोड्दा असारमा १ खर्ब ७१ अर्ब रुपैयाँ खर्च गरिएको नागरिक दैनिकमा खबर छ ।

अर्थ मन्त्रालयले काम हुनेबित्तिकै बिलअनुसार रकम भुक्तानी गर्न र वर्षको अन्त्यमा जथाभाबी चर्च नगर्न बारम्बार तोकेता गर्दै आए पनि सबै मन्त्रालयले अटेरी गर्दै आएका छन्। अर्थ मन्त्रालयले जस्तै संसदीय समितिहरु र महालेखा परीक्षकको कार्यालयले लामो समयदेखि वर्षको अन्त्यमा हुने खर्चमा गुणस्तरीय काम नभएको र अनियमितता पनि हुने गरेको बताउँदै त्यसलाई रोक्न निर्देशन दिँदै आएका छन्।

कतिपय आयोजनाहरुले दिएको भुक्तानीलाई महालेखाले बेरुजु पनि औंल्याएको छ । तर वर्षको अन्त्यमा हुने खर्च भने प्रत्येक वर्ष बढ्दै गइरहेको छ।

गत वर्ष असार अन्तिम तीन दिन ९२९, ३० र ३१० मा पुँजीगत र चालु गरी ४६ अर्ब रुपैयाँ खर्च भएको थियो। यसमध्ये पुँजीगत ३५ अर्ब र चालु ११ अर्ब रुपैयाँ थियो । चालु वर्षको अन्तिम दिन असार ३१ मा पुँजीगत बजेट मात्रै साढे २७ अर्ब रुपैयाँ खर्च गरिएको छ।

यातायात सिन्डिकेटलाई पुससम्मको म्याद

सिन्डिकेट अन्त्यपछिको सार्वजनिक यातायात सञ्चालनबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद्को निर्णयविपरीत प्रारम्भिक सुझाव दिएको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार, कार्यदलले सवारीसाधनको रुट परमिट लिएका तर संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका समितिलाई पुस मसान्तसम्म पञ्जीकरण गर्ने अवधि दिनुपर्ने सुझाव दिएको हो । जबकि ४ वैशाखमा मन्त्रिपरिषद् बैठकले असार मसान्तसम्म ती समिति कम्पनीमा दर्ता र नवीकरण हुनुपर्ने निर्णय गरेको थियो ।

तर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भने कार्यदलले सुझाव मात्र दिएको र पुस मासन्तअघि नै कम्पनीमा दर्ता हुनुपर्ने गरी निर्णय गरिने बताए ।

गाह्रो भएपछि केसीले बोलाए चिकित्सक

फाइल तस्वीर

अनशनरत डा. गोविन्द केसीको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ । आइतबार राति डा. केसीलाई धेरै असहज भएपछि उनले सहयोगका लागि चिकित्सकलाई आग्रह गरेका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको छातीमा पीडा बढेपछि र सास फेर्न गाह्र भएपछि उनी केहीबेर अत्तालिएका थिए ।

चिकित्सकका अनुसार डा. केसीको मुटुमा जटिल समस्या उत्पन्न भएको छ । मुटुको चाल निकै बढेको र यसो हुनु ुमानस्वास्थ्यका लागि खतरनाक हुने चिकित्सकले बताएका छन् ।

नागरिक दैनिकका अनुसार केसीको घाँटीमा पनि संक्रमण देखिएको छ । हात पति सुन्निएको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment