Comments Add Comment

आजका पत्रिका : के हुन् विप्लवका माग, किन भएन वार्ता ?

आयात रोक्न पहिलोपटक कानुन बन्दै

१ चैत, काठमाडौं । राजधानी काठमाडौंबाट  प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि विप्लवसँग सम्बन्धित विषयले नै आज पहिलो प्राथमिकता पाएको छ । सरकारको प्रतिबन्धपछि उसले सञ्चालन गरिरहेको हिंसात्मक गतिविधि र प्रचण्डले गरेको दाबीलाई पत्रिकाहरुले विभिन्न शीर्षकमा उतारेका छन् ।

त्यस्तै, सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा देखिएको जटिलता, स्वास्थ्य क्षेत्रको अनियमिततालगायत विषय पनि आजका पत्रपत्रिकाहरूको हेडलाइन बनेको छ ।

संसदको अनियमितताबारे मुख्य समाचार बनाएको नागरिकले विप्लव समूहको माग र वार्ताको वातावरण बन्न नसक्नुको कारणबारे सोधीखोजी गरेको छ ।

नागरिकका अनुसार, विप्लवको मुख्य माग नै संसदीय व्यवस्था परिवर्तन छ । त्यसकै लागि उसले केही वर्षदेखि संघर्ष गर्दै आएको छ । यद्यपि, यो समूहसँग वार्ताको वातावरण बन्न सकिरहेको छैन ।
सरकारी वार्ता टोली स्पष्ट धारणाका साथ नआएकोले वार्ता गर्नुको कुनै औचित्य नदेखेको विप्लव समूहको दाबी छ ।

तर, सरकारको भने अलग्गै दाबी छ । वार्ताको वातावरण बनाए पनि विप्लव समूहले धोका दिएको सरकार पक्षको भनाइ छ ।

नागरिकमै उच्च आयातले मुलुकको अर्थतन्त्रमा समस्या आएका बेला स्वदेशी उत्पादनलाई संरक्षण गर्न चाहेको वस्तुको आयात रोक्न सक्नेगरी कानून बनाउन लागिएको अर्को खबर पनि छ ।

सरकारले तयार पारेको सेफगार्ड्स, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी सामान आयातमा पूर्ण वा आंशिक रुपमा रोक लगाउन सक्ने प्रावधान समेटिएको समाचारमा उल्लेख छ ।

विश्वका धेरै मुलुकले आफ्ना उत्पादन संरक्षण गर्न यस्तो कानून बनाएर लागू गरेका छन् । नेपालले भने पहिलोपटक यस्तो कानून बनाउन लागेको हो ।

सरकारले निकै तामझामका साथ सामाजिक सुरक्षा कार्यात्रम घोषणा गरे पनि रोजगारदाता कार्यान्वयन गर्न हिच्किचाएको कान्तिपुरले लेखेको छ । मुलुकभर ९ लाखभन्दा बढी रोजगारदाता रहेकामा कार्यक्रम घोषणा भएको करिब ४ महिना पुग्न लाग्दा २१ सय हाराहारी मात्र सहभागी भएका छन् ।

सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमतिमा गत मंसिर ११ मा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको थियो । तर असल श्रम सम्बन्ध बनाउन ल्याइएको कार्यक्रममा रोजगारदाताको सहभागिता निकै न्यून देखिएको समाचारमा उल्लेख छ ।

कान्तिपुरले भिडियो कलबाटै तलाक गरिएकोलाई एंकर बनाएको छ । विदेशमा रहेका बाँकेका मुस्लिम युवकले श्रीमतीलाई फोनबाटै तलाक (सम्बन्धविच्छेद) गरेका हुन् ।

कान्तिपुर लेख्छ– नेपालगञ्ज उपमहानगरपालिका ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमान्सँग सामान्य भनाभन भयो । भोलिपल्ट श्रीमान्को भिडियो कल आयो । उनले एकैचोटि तलाक, तलाक र तलाक भने । इस्मा अक्क न बक्क भइन् । कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टुट्यो । ३३ वर्षीया इस्मा अहिले मजदुरी गरेर छोरी हुकाउँदै छिन् ।

प्रचण्डले विप्लवले आफूलाई मार्न लागेको भनेर गरेको दाबीदेखि बोइङ ७३७ म्याक्स विमान ग्राउण्डेड भएकासम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा समेटिएका छन् ।

र, यो पनि– दूतावासको विज्ञप्तिमा ओली राष्ट्रपति !

दिल्लीस्थित नेपाली दूताबासले बुधबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भनेर सम्बोधन गरिएको छ ।

कान्तिपुरका अनुसार नवनियुक्त राजदूत नीलाम्बर आचार्यले भारतीय समकक्षीसमक्ष बुधबार ओहोदाको प्रमाणपत्र बुझाएको बारे विज्ञप्ति जारी गर्ने क्रममा कोविन्दको व्यक्तिगत स्वास्थ्य तथा प्रसन्नताको कामना गरको विवरण उल्लेख छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment