Comments Add Comment

डा. केसीमाथिको धरपकड निन्दनीयः मसाल

अध्यादेश अनुरूप विधेयक संसदमा प्रस्तुत गर्न माग


४ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले चिकित्सा शिक्षासम्बन्धी माग राखेर अनशनरत डा. गोविन्द केसी र उनका समर्थकमाथि बिहीबार जुम्लामा गरिएको धरपकडको निन्दा गरेको छ । उसले बलप्रयोगबाट नभई वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न समेत सरकारसँग माग गरेको छ ।

डा. केसीको जीवनरक्षा अहिलेको महत्त्वपूर्ण कार्य भए पनि न्यायपूर्ण मागहरूलाई स्वीकार नगरेर सरकारले गलत बाटो समातेको उसको भनाइ छ ।

‘डा. केसीको जीवनरक्षा गर्नु अहिलेको अत्यन्त महत्त्वपूर्ण कार्य हो,’ मसालका महासचिव मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर उनको जीवनरक्षा त्यस प्रकारको जर्बजस्ती कारवाही गरेर होइन, न्यायपूर्ण मागहरूलाई स्वीकारेर गर्नुपर्दथ्यो र पर्दछ पनि ।’

मसालले केसीका माग व्यक्तिगत नभएर जनताका भएकाले माथेमा प्रतिवेदनअनुसार यसको समाधान खोज्न सुझाएकाे छ ।

ओली सरकारको सिफारिसमा गत वैशाख १३ गते जारी गरेको अध्यादेशबाट विमुख भई नयाँ विधेयक प्रस्तुत गर्दा अहिलेको परिणाम आएको भन्दै मसालले माथेमा आयोगको प्रतिवेदन र स्वयं आफ्नै सिफारिसमा जारी अध्यादेश अनुरूप विधेयक संसदमा प्रस्तुत गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment