Comments Add Comment

योगेश भट्टराईले भने : केसीको अनसन सरकारविरुद्ध ग्राण्ड डिजाइन

फाइल तस्वीर

९ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले गोविन्द केसीको अनसन बहुमतप्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको आरोप लगाएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन हो भन्ने आफूहरुसँग सयौं तथ्य र प्रमाण भएको पनि दावी गरे ।

‘गोविन्द केसीको अनसन केहीसँग पनि नजोडिएको अलग्गै विषयचाहिँ होइन । हामी सयौं तथ्य प्रमाणसहित यो कुरा भन्न सक्छौं’ उनले भने ‘यो बहुमतप्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन हो । जब यो राजनीतिक ग्राण्ड डिजाइन हो भने जसका विरुद्ध डिजाइन हुँदैछ भन्ने थाहा छ । त्यो पार्टीले त्यो डिजाइनबाट उम्किन, प्रतिकार गर्न र त्यसबाट प्रतिरक्षा गर्न खोज्दैन त? त्यही ग्राण्ड डिजाइनको भुमरीमा फस्छौं त ? हो हामी फस्न चाहँदैनौं ।’

गोविन्द केसीको माग शैक्षिक माग हो भने माइतीघरमा प्रधानमन्त्रीका विरुद्ध उत्तेजित नारा नलाग्ने पनि उनले बताए । ‘हामीलाई शंका थियो । यो माग राजनीतिक ढंगले आएको छ । उहाँको पक्षमा जो मान्छे सडकमा आए उनीहरुको माग त प्रष्ट रहेछ’ भट्टराईले भने ।

गोविन्द केसीको माग साँच्चै शैक्षिक माग हो भने सरकारसँग कुनै विमति नरहेको पनि उनले बताए । ‘तपाई हाम्रो सत्ता फाल्न आउनुभएको छ भने तपाईको कुरा हामी किन मान्ने ?’ भट्टराईले भने ‘तपाई त सरकारलाई अपदस्त गर भन्न थाल्नुभएको छ भने हामी किन मान्छौं ? हामी अपदस्त हुन चाहन्छौं त, त्यो राजनीतिक म्याण्डेट हो त ?’

पाँच महिना सरकारबाहिर बस्दा कांग्रेसभित्र उत्पात भइसकेको पनि भट्टराईले बताए ।

गोविन्द केसीको वार्ता टोली अहिलेकै विधेयक संशोधन गरेर अगाडि बढ्न लगभग सहमत भएको भन्दै भट्टराईले यो सकारात्मक भएको बताए । ‘यो राम्रो कुरा हो । म यसलाई स्वागत गर्छु । त्यसलाई (विधेयक) स्थगित गर्ने कि कुन कुन दफा सच्याउने कि हामी छलफल गर्छौं’ उनले भने ।

चिकित्सा शिक्षा विधेयकको विषयमा संसदीय समितिमा डा. केसीलाई असीमित समय दिएर छलफल गर्न आफूहरु तयार रहेको पनि भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment