+
+
Shares

सांसद गीता बस्नेतलाई योगेश भट्टराईको प्रश्न- किन भागेको ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १३:३८

२३ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सचिव योगेश भट्टराईले फरार सांसद गीता बस्नेतलाई नभाग्न सुझाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

सहकारी समस्या एकदमै गम्भीर समस्याको रुपमा आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रै प्रतिनिधि सभाका कतिपय माननीय साथीहरू यस मामलामा छानबिनमा हुनुहुन्छ । कतिपय फरार हुनुहुन्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत फरार रहेकोतर्फ संकेत गर्दै उनले थपे, ‘जहाँ गएर जतिसुकै भागे पनि आखिर आउनु नै पर्नेहुन्छ । जो फरार हुनुहुन्छ । म उहाँलाई भन्न चाहन्छु– किन भाग्ने ?’

फरार नरहेर सम्पर्कमा आएर अनुसन्धानमा सघाउन उनको आग्रह छ । अगाडि भन्छन्, ‘आउनुस्, अनुसन्धानको निम्ति, सहयोग गर्नुस्, त्यो नै उपयुक्त कुरा हो ।’
राप्रपाकी सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन् ।

नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।

छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख हिनामिनाको विषयमा अनुसन्धान हुँदा सांसद बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा ९६ लाख ऋण लगानी भएको खुलेको थियो ।

चितवनको सनराइज सहकारीबाट तीनजना व्यक्तिको नाममा करिब ९ करोड लगेर रिसोर्टमा लगानी भएको प्रहरीको प्रतिवेदनमा छ । बर्दियाको नमस्ते सहकारीबाट सञ्जीवकुमार महतोका नाममा समेत २५ लाख निकालेर रिसोर्टमा लगानी भएको छ ।

नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी सांसद बस्नेत भने पक्राउ पुर्जी जारी भएयता १ वर्षदेखि फरार भएकी हुन् ।

फरार नरहेर अनुसन्धानमा सहयोग गर्न बस्नेतलाई एमाले सांसद भट्टराईले सुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?