+
+

पर्सागढीमा ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रम

चालु आवको वजेट ५१ करोड, ८६ लाख वजेट

सुरेश बिडारी सुरेश बिडारी
२०७५ साउन १६ गते १३:४८

१६ साउन, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रमसहित चालु आर्थिक वर्ष ०७५/०७६ को वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पर्सागढी नगरपालिका वडा नं ८ को कार्यालय हरपुरमा आयोजित सार्वजनिकीकरण कार्यक्रममा मेयर लोकनारायण यादवले गाउँमा दलित विपन्न समुदायको जनसंख्या बढी देखिएकोले उनीहरुको जीवनस्तर उकास्नका लागि विपन्नको आँगनमा नगर प्रमुख कार्यक्रम ल्याइएको जानकारी दिए ।

‘नगरमा अझैपनि कतिपय विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर छन्, उनीहरुको अभिभावकको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय नगएको देखिन्छ,’ मेयर यादवले भने, ‘गरिबीको रेखामुनी रहेका नगरवासीहरुको जीवनस्तर उकास्नका लागि कार्यक्रम ल्याइएको हो । उनीहरुलाई आयमुलक काममा लगाउन योजनाबद्ध ढंगले लाग्छौं ।’

कार्यक्रमका लागि नगरपालिकाले यस वर्ष २० लाख वजेट विनियोजन गरेको जानकारी दिँदै मेयर यादवले यसलाई एनजीओ, आइएनजीओहरुले ल्याउने कार्यक्रममा समेत जोडिने बताए ।

नगरपालिकाका सूचना अधिकारी किसुनदेव यादवले नगरमा ४० प्रतिशत दलित समुदाय रहेको र उनीहरुको आर्थिक अवस्था कमजोर नै रहेको बताए । ‘अहिले यकिन तथ्याङक त हामीसँग छैन, नगरपालिकाको प्रोफाईल तयार गरिरहेका छौं । केहिदिनमै यकिन विवरण आउँछ,’ उनले भने, ‘नगरपालिकाको सबै वडामा दलित समुदाय छन्, उनीहरु प्रायः गरिबीको रेखामुनी नै देखिन्छन् ।’

नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण लगायतका विषयलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७४/७५ का लागि ५१ करोड, ८६ लाख ६५ हजार ६ सय ५५ रुपैयाँ २६ पैसाको वजेट विनियोजन गरेको छ ।

जसमा केन्द्र सरकारको तर्फबाट ४४ करोड ६९ लाख ७० हजार ६ सय १९ रुपैयाँ २६ पैसा, प्रदेश सरकारबाट विनियोजित १ करोड २९ लाख ३७ हजार र विभिन्न संघ संस्था र गैरसरकारी निकायबाट आउने ९५ लाख ८४ हजार ५ सय रुपैयाँ रहेको छ ।

नगरपालिकाको आन्तरिक आम्दानी ३ करोड २४ लाख १९ हजार १ सय ९५ रुपैयाँ हुने अनुमान गरिएको छ ।

चालु तर्फ १२ करेाड ४८ लाख १८ हजार ७ सय ८६ रुपैयाँ र पूँजीगततर्फ ३९ करोड ३८ लाख ४६ हजार, ८ सय ६९ रुपैयाँ २६ पैसा विनियोजन गरिएको हो ।

चालु खर्चमा २४ प्रतिशत र पूँजीगत खर्चमा ७६ प्रतिशत खर्च हुने अनुमान नगरपालिकाको छ ।

प्रत्येक वडाका लागि ६० लाखका दरले बजेट र ठूला वडाका लागि नगरस्तरीय कार्यक्रमबाट थप वजेट दिइने जनाइएको छ ।

पर्सा गढीमा सेवा प्रवाह र विकास व्यवस्थापनसँगसँगै आन्तरिक आय वृृद्धका लागि करदातालाई न्युन कर र सेवा शुल्क प्रताव गरेर करको दायरा बढाइएको, घर नक्सा पास, अभिलेखिकरण, सम्पत्ति कर, व्यवसाय दर्ता कर आदि कार्यान्वयन गरिने नगर प्रमुख यादवको भनाइ छ ।

नगरपालिकाको प्रशासकीय भवन निर्माण, फोहोर मैला व्यवस्थापन, विद्यालयमा दिवा खाजा कार्यक्रम, बालमैत्री नगर घोषणा, खुल्ला दिसामुक्त क्षेत्र घोषणा, सीप मुलक र आय आयर्जन उन्मुख लक्षित कार्यक्रमलाई नगरपालिकाले मुख्य कार्यक्रमको रुपमा अघि सारेको छ ।

त्यसैगरी पर्सागढी नगर गुरुयोजना, पर्यटन गुरु योजना, भू-उपयोग नीति र योजनालाई आधार मानेर विकासका कामहरु अघि बढाउने, कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रगत रणनीति र योजना निर्माण, प्राविधिक जनशक्तिको आपूर्ति, मेशीनरी उपकरण तथा साधनको परिचालनमार्फत विकास व्यवस्थापन गर्ने रणनीति नगरपालिकाको छ ।

उपभोक्ता समितिलाई प्राथमिकतामा राखेर स्थानीयको सहभागितामा विकास निर्माणका कामहरु सञ्चालन गर्ने र नगरपालिका सञ्चालनका लागि आवश्यक ऐन नियम निर्माणको कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?