+
+

प्रदेश ५ को संसदमा दुई विधेयक र एक प्रतिवेदन पेश

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १७ गते १५:४३

१७ साउन, बुटवल । प्रदेश ५ को बिहीबारको संसद बैठकमा दुई विधेयक र एक विधेयकसँग सम्बन्धित विषयगत समितिको प्रतिवेदन पेश भएको छ ।

प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश अन्र्तगतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्बन्धी ऐन संशोधन गर्न बनेको बिधेयक र प्रदेश अन्र्तगतका गाउँ तथा नगर सभाको कानुन निर्माण प्रक्रिया सम्वन्धि ऐन संशोधन गर्न बनेको बिधेयक पेश गरेका हुन् ।

बिहीबारकै बैठकमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य सर्तका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित प्रदेश मामिला तथा कानुन समितिको प्रतिवेदन समितिका जेष्ठ सदस्य भोजप्रसाद श्रेष्ठले पेश गरेे ।

प्रतिवेदन पेश गर्नुअघि नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा नियमावलीको नियम ९९, १०७ र ११० निलम्बन सम्बन्धी पेश गरेको प्रस्ताव सभाले पारित गरेको थियो ।

यसअघिका बैठकमा बिशेष समय लिएर बोल्ने नेपाली कांग्रसकी सांसद रिना नेपाल बिक र राजपाकी कल्पना पाण्डेले उठाएका प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सांसदहरुले एक अर्कालाई आरोप लगाउँदा सांसदको गरिमालाई ख्याल गर्नुपर्नेमा जोड दिए ।

बिहीबारको बैठकमा बिशेषाधिकार समितिमा रहने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेपनि दलहरुबाट सो समितिमा रहने सदस्यहरुको नामवली प्राप्त नभएको भन्दै सभामुख पूर्णबहादुर घर्तिले तेस्रो नम्बर कार्यसूचीबाट हटाएका थिए ।

प्रदेश सभाको बिहीबारको बैठक २५ मिनेटमै सकिएको थियो । अर्को बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?