Comments Add Comment

म्याग्दीका दुईतिहाइ भूकम्पपीडित अनुदानको दोस्रो किस्ता लिन आएनन्


१९ साउन, म्याग्दी । जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि ०७५ असार मसान्तसम्मको समयसीमा तोकेको थियो । विभिन्न माध्यमबाट पहल गरिए पनि दुईतिहाइभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता अनुदानका लागि अझै सम्पर्कमा नआएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

उक्त एकाइका अनुसार भूकम्पबाट कम प्रभावित १७ जिल्लामा पर्ने म्याग्दीका ७८० ले पहिलो किस्तावापतको रु. ५० हजारका दरले करीब रु चार करोड अनुदान लिएका थिए । हालसम्म २२० ले दोस्रो र १६ ले मात्र तेस्रो किस्तावापतको रकम लिएका छन् ।

प्राधिकरणले ०७५ पुस मसान्तसम्म अन्तिम तथा तेस्रो किस्तावापतको अनुदान वितरण गरिसक्ने लक्ष्य राखे पनि तोकिएको समयमा दोस्रो किस्ताबपतको अनुदान लिन नआएका पीडितलाई के गर्ने भन्ने निर्णय भइसकेको छैन ।

पहिलो किस्ता रु ५० हजार र दोस्रो किस्ता रु एक लाख ५० हजारका दरले अनुदान वितरण गर्ने व्यवस्था भएको एकाइ प्रमुख शिवराम गेलालले जानकारी दिए ।

२०७३ पुसमा प्राधिकरणका प्राविधिकले स्थलगत सर्वेक्षण गर्ने क्रममा ८६८ निजी घरमा भूकम्पले क्षति गरेको पहिचान गरेको थियो ।

केहीले भने समयमै प्राविधिक सेवा नपाएकाले घर बनाए पनि अनुदान पाउन ढिलाइ भएको अन्नपूर्ण गाउँपालिका–६ घारका हिमबहादुर खड्काले बताए । पुनःनिर्माण प्राधिकरणले बेनी नगरपालिकामा दुई, धौलागिरि, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा एक–एक प्राविधिक खटाए पनि आफूहरूले सेवा पाउन नसकेको पीडितको गुनासो छ ।

घर बनाउन शुरु गरेका गरीब विपन्न वास्तविक भूकम्पपीडित भने ऋण पाएपनि निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र दक्ष कामदार अभावका कारण समस्यामा परेको मंगला गाउँपालिका–२ का दधिलाल विश्वकर्माले बताए ।

सग्लै घरलाई भत्किएको कागज बनाएर र मापदण्डविपरीत दुई ठाउँमा घर भएकाले समेत पहिलो किस्ता अनुदान बुझेका पुनः निर्माणले गति लिन नसक्नुको प्रमुख कारक बनेको स्थानीयवासीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment