+
+
Shares

१६ मंसिरदेखि कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद, ३२ खेलमा प्रतिस्पर्धा हुने

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज १९ गते ७:२६

१९ असोज, सुर्खेत । कर्णाली प्रदेशमा आगामी १६ देखि २७ मंसिरसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता कर्णाली प्रदेशका अधिकांश जिल्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । प्रतियोगितामा महिला तथा पुरुषका विभिन्न विधासहित ३२ खेल समावेश गरिने भएका छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सहित ११ टोलीका खेलाडी सहभागी हुनेछन् ।

आइतबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा समावेश गरिने खेल, प्रस्तावित खेलस्थल र तयारीबारे जानकारी गराइएको हो । राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिता निर्धारित मितिमै सम्पन्न गर्ने गरी तयारी अघि बढाएको जनाएका कर्णालीका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले बताए ।

प्रतियोगितामा करिब छ हजार पाँच सय खेलाडी सहभागी हुने अनुमान गरिएको छ । खेलाडीसँगै प्रशिक्षक, व्यवस्थापक, निर्णायक, प्राविधिक तथा अन्य पदाधिकारीको समेत सहभागिता रहनेछ ।

प्रतियोगितामा एथलेटिक्स, कुस्ती, कबड्डी, ब्याडमिन्टन, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, आईटीएफ तेक्वान्दो, शारीरिक सुगठन, क्रिकेट, टेबलटेनिस, फुटबल, बुद्धिचाल र ह्यान्डबललगायतका खेल समावेश गरिएका छन् । त्यस्तै हक्की, जुडो, ई–स्पोर्ट्स, खोखो, स्क्वास, रग्बी, सुटिङ, पौडी, साइक्लिङ, तेक्वान्दो, टेनिस, भलिबल, आर्चरी, उसु, जिम्न्यास्टिक, भारोत्तोलन र सेपाकताक्रो पनि प्रतियोगितामा समावेश गर्ने प्रस्ताव गरिएको छ ।

सुर्खेतमा अधिकांश खेल, अन्य जिल्लामा पनि प्रतिस्पर्धा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित खेलस्थलअनुसार सुर्खेतमा एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, ई–स्पोर्ट्स, स्क्वास, रग्बी, साइक्लिङ, तेक्वान्दो, भलिबल, उसु र सेपाकताक्रो सञ्चालन गर्ने तयारी छ ।

त्यस्तै दैलेखमा आईटीएफ तेक्वान्दो र बुद्धिचाल, सल्यानमा टेबलटेनिस, रुकुम पश्चिमको चौरजहारीमा खोखो, नेपालगञ्जमा सुटिङ पौडी भारोतोलन , टेनिस र टेनिस तथा जुम्लामा आर्चरी सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । शारीरिक सुगठन सुर्खेत र कालिकोट, जुडो सुर्खेत र जाजरकोट, जिम्न्यास्टिक सुर्खेत र दैलेख तथा भारोत्तोलन नेपालगञ्ज र सुर्खेतमा सञ्चालन गर्ने प्रस्ताव छ ।

प्रस्तावित खेलस्थलअनुसार ३२ मध्ये अधिकांश खेल सुर्खेतमा केन्द्रित हुनेछन् भने अन्य जिल्लामा पनि विभिन्न खेल सञ्चालन गरिनेछ । यसले कर्णालीका विभिन्न जिल्लामा खेलकुद गतिविधि विस्तार हुनुका साथै स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि खेलस्थलको अन्तिम टुङ्गो र खेल तालिका आयोजकको औपचारिक निर्णयअनुसार तय हुनेछ ।

६ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने

प्रतियोगितामा सात प्रदेशका टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ । करिब छ हजार पाँच सय खेलाडी सहभागी हुने अनुमान गरिएको प्रतियोगितामा विभिन्न खेल विधामा राष्ट्रियस्तरका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिता देशभरका खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च हो । प्रतियोगिताले नयाँ खेलाडीलाई राष्ट्रियस्तरमा स्थापित हुने अवसर प्रदान गर्नुका साथै खेलाडीको क्षमता, प्रतिस्पर्धात्मक भावना र खेलकुद संस्कृतिको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको खेलकुद विकास समितिका सदस्य सचिव रविन चन्दले जानकारी दिए ।

कर्णालीका स्थानीय खेलाडीले पनि राष्ट्रियस्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने भएकाले प्रदेशमा खेलकुदको विकास र नयाँ प्रतिभा पहिचानमा प्रतियोगिता महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । खेलकुदको माध्यमबाट युवालाई सकारात्मक गतिविधिमा जोड्ने र नियमित प्रशिक्षण तथा प्रतिस्पर्धाको वातावरण निर्माण गर्नसमेत प्रतियोगिताले सहयोग पुर्‍याउन सक्छ ।

पूर्वाधार निर्माण र व्यवस्थापनमा चुनौती

प्रतियोगिता आयोजना गर्न खेलस्थलको मर्मतसम्भार, स्तरोन्नति, आवश्यक खेल सामग्री, आवास, यातायात, स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । प्रतियोगिताका लागि आवश्यक खेल पूर्वाधार निर्माण तथा सुधारको काम समयमै सम्पन्न गर्नु आयोजकका लागि महत्त्वपूर्ण चुनौती बनेको छ ।

कर्णाली प्रदेशमा सबै खेलका लागि पर्याप्त र सुविधासम्पन्न पूर्वाधार उपलब्ध नहुँदा केही खेलका लागि वैकल्पिक खेलस्थल प्रयोग गर्नुपर्ने अवस्था छ । प्रस्तावित खेलस्थलमा आवश्यक पूर्वाधारको अवस्था मूल्याङ्कन गरी मर्मतसम्भार, खेल सामग्रीको व्यवस्थापन र प्राविधिक तयारीलाई तीव्रता दिनुपर्ने देखिएको छ ।

प्रतियोगितामा देशभरबाट हजारौँ खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मी सहभागी हुने भएकाले उनीहरूको आवास तथा यातायात व्यवस्थापन पनि चुनौतीपूर्ण हुनेछ । सुर्खेतसहित अन्य जिल्लाका होटल तथा अन्य आवासस्थलको उपयोग, खेलाडीलाई खेलस्थलसम्म पुर्‍याउने यातायात व्यवस्था र स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायबीच समन्वय भएको मन्त्री मल्लले बताए ।

खेल सञ्चालन हुने जिल्लामा सडकको अवस्था, मौसम र भौगोलिक कठिनाइलाई समेत ध्यानमा राखेर तयारी गर्नुपर्ने अर्को बाध्यता रहेको छ । विशेषगरी हिमाली तथा पहाडी जिल्लामा मौसम प्रतिकूल हुँदा यातायात अवरुद्ध हुन सक्ने भएकाले वैकल्पिक योजना आवश्यक देखिएको छ ।

निजी क्षेत्रसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गरिने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सार्वजनिक–निजी साझेदारीको अवधारणा अघि सारिएको छ । आइतबार सुर्खेतमा बसेको मूल आयोजक समितिको बैठकले निजी क्षेत्र, विभिन्न सङ्घसंस्था र सरोकारवालाको सहभागिता बढाउँदै प्रायोजकसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री अस्मित पोखरेलले बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार प्रतियोगिताको व्यवस्थापन, आर्थिक स्रोत परिचालन, प्रचारप्रसार र आवश्यक सामग्रीको उपलब्धतामा निजी क्षेत्रको सहयोग महत्त्वपूर्ण हुनेछ । प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ अनुसार विभिन्न विषयगत उपसमिति गठन गर्ने तथा मूल आयोजक समितिले कार्यसम्पादन समितिलाई आवश्यक जिम्मेवारी प्रत्यायोजन गर्ने निर्णयसमेत गरिएको छ ।

निजी क्षेत्रको सहभागिताले प्रतियोगिताको व्यवस्थापनलाई सहज बनाउनुका साथै स्थानीय व्यवसाय, होटल, यातायात र अन्य सेवा क्षेत्रलाई समेत जोड्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्थापनमा सरकारी बजेटसँगै निजी क्षेत्रको लगानी र प्रायोजनलाई परिचालन गर्ने तयारी गरिएको छ ।

पटकपटक मिति सरेको प्रतियोगिता यसपटक हुने दाबी

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि विभिन्न कारणले पटकपटक सर्दै आएको छ । प्रतियोगिता आयोजना हुन नसक्दा खेलाडीको तयारी, छनोट प्रक्रिया र खेलकुद गतिविधिमा समेत असर परेको थियो । यसपटक भने आयोजकले मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले प्रतियोगिता निर्धारित मितिमै हुनेमा कुनै शङ्का नरहेको बताए । उनले प्रतियोगितालाई प्रभावकारी र उपलब्धिमूलक बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै देशभरका खेलाडीलाई कर्णालीमा स्वागत गर्न सबै सरोकारवालालाई आह्वान गरे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रतियोगिताका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिए । उनका अनुसार प्रदेश रङ्गशालाका लागि नौ करोड, खेल पूर्वाधारका लागि पाँच करोड र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्न आवश्यक तयारी र व्यवस्थापनमा प्रदेश सरकारले प्राथमिकता दिएको उनको भनाइ छ ।

कर्णालीको पर्यटन र आर्थिक विकासमा अवसर

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुनु खेलकुदको प्रतिस्पर्धामा मात्र सीमित नभई प्रदेशको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार र पहिचान स्थापित गर्ने अवसरसमेत हो । प्रतियोगिताका क्रममा देशभरबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, सञ्चारकर्मी र दर्शक कर्णालीमा आउने भएकाले होटल, यातायात, खाद्य तथा सेवा व्यवसायमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

विशेषगरी सुर्खेत, दैलेख, सल्यान, कालिकोट र अन्य प्रस्तावित खेलस्थल भएका जिल्लामा प्रतियोगिता सञ्चालन हुँदा स्थानीय बजारमा चहलपहल बढ्ने, स्थानीय उत्पादनको खपत बढ्ने र पर्यटन क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने सम्भावना छ ।

प्रतियोगितामा सहभागी हुने पाहुनालाई कर्णालीका पर्यटकीय क्षेत्र, सांस्कृतिक सम्पदा र स्थानीय जीवनशैलीसँग परिचित गराउन सके भविष्यमा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्न सक्छ ।

कर्णाली प्रदेश प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो । रारा, फोक्सुण्डो, सिंजा, पञ्चकोशी, काँक्रेविहारलगायतका पर्यटकीय गन्तव्यको प्रचारप्रसारसँगै राष्ट्रिय खेलकुदलाई जोड्न सके प्रदेशको पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा उजागर गर्न सकिनेछ ।

त्यस्तै प्रतियोगिताका लागि निर्माण तथा स्तरोन्नति गरिएका खेल पूर्वाधारलाई प्रतियोगितापछि पनि नियमित प्रशिक्षण, विद्यालयस्तरीय खेलकुद र अन्य राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगितामा उपयोग गर्न सके दीर्घकालीन लाभ लिन सकिनेछ ।

खेलकुद पूर्वाधारको दिगो उपयोगले कर्णालीका युवालाई खेलकुदमा आकर्षित गर्नुका साथै स्थानीय खेलाडीको क्षमता विकासमा सहयोग पुर्‍याउन सक्छ ।

तयारीसँगै कार्यान्वयनमा जोड दिनुपर्ने

प्रतियोगिता आयोजना हुन अब सीमित समय बाँकी रहेकाले खेलस्थलको तयारी, आवास व्यवस्थापन, खेल सामग्रीको उपलब्धता, यातायात, सुरक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता प्रमुख चुनौतीका रूपमा रहेका छन् । हजारौँ खेलाडी र अन्य सहभागीको व्यवस्थापन गर्नुपर्ने भएकाले सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला प्रशासन, सुरक्षा निकाय र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक छ ।

प्रतियोगिताका लागि बजेट विनियोजन र तयारीका योजना सार्वजनिक हुनु सकारात्मक भए पनि ती योजनाको कार्यान्वयन र समयमै काम सम्पन्न गर्नु उत्तिकै महत्त्वपूर्ण छ । पूर्वाधार निर्माण तथा मर्मतसम्भारमा हुने ढिलाइ, आवश्यक खेल सामग्रीको अभाव र व्यवस्थापकीय कमजोरीले प्रतियोगिताको गुणस्तरमा असर पार्न सक्ने भएकाले नियमित अनुगमन र समयबद्ध कार्ययोजना आवश्यक देखिन्छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि आफ्नो व्यवस्थापकीय क्षमता प्रदर्शन गर्ने र राष्ट्रियस्तरमा प्रदेशको पहिचान स्थापित गर्ने महत्त्वपूर्ण अवसर हो । पटकपटक मिति सरेको प्रतियोगिता यसपटक निर्धारित समयमै सम्पन्न गर्न सके कर्णालीको खेलकुद विकासमा नयाँ अध्याय थपिनेछ । त्यसका लागि घोषणा र प्रतिबद्धतामा मात्र सीमित नभई पूर्वाधार, बजेट, व्यवस्थापन र समन्वयका कामलाई समयमै पूरा गरी प्रतियोगितालाई सफल बनाउन आयोजकले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?