९ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।
होटल व्यवसायी संघ सुर्खेत र कर्णाली प्रदेश समितिका पदाधिकारीसँगको भेटमा मुख्यमन्त्री शाहीले पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक विकाससँग जोड्न सकिने बताउँदै त्यसका लागि होटल व्यवसायीको सक्रिय भूमिका आवश्यक रहेको बताएका हुन् ।
कर्णालीमा पर्यटक भित्र्याउने तथा प्रदेश सरकारले घोषणा गरेको पर्यटन दशकलाई प्रभावकारी बनाउने विषयमा मुख्यमन्त्री शाहीले होटल व्यवसायीबाट सुझाव मागेका थिए । पर्यटन प्रवर्द्धनका लागि सरकारले गर्नुपर्ने काम तथा निजी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा समेत छलफल भएको थियो ।
यस्तै, सुर्खेतमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा आउने खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा अन्य पाहुनाको आवास व्यवस्थापनका विषयमा पनि छलफल भएको छ ।
राष्ट्रिय खेलकुदलाई कर्णालीको पर्यटन प्रवर्द्धनसँग जोड्न सकिने विषयमा समेत मुख्यमन्त्री शाहीले व्यवसायीहरूसँग सुझाव लिएका थिए ।
होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले पर्यटन दशकको तयारीसँगै पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक तथा यातायातको पहुँच सहज बनाउनुपर्ने बताए ।
होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष प्रतिभा वलीले कर्णालीका होटलको वर्गीकरण गर्नुपर्ने माग राखे । उनले पर्यटक बोक्ने सवारीसाधनलाई सहज रूपमा पहिचान हुने नम्बर प्लेट उपलब्ध गराउने व्यवस्था गर्न पनि प्रदेश सरकारसँग आग्रह गरे ।
व्यवसायीहरूले पर्यटन पूर्वाधार, यातायात पहुँच, होटल क्षेत्रको व्यवस्थापन तथा निजी लगानी आकर्षित गर्ने नीतिमा सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया 4