Comments Add Comment

‘कायरा’को इनिसियल व्यापार राम्रो, कस्तो छ दर्शकको प्रतिक्रिया ?


लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्र ‘कायरा’ले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको छ । साउनको झरीले चलचित्रको व्यापारलाई प्रत्यक्ष प्रभाव पारेको थियो ।

तर पनि यो चलचित्रको व्यापार भने सुखद मान्नुपर्छ । शुक्रबार र शनिबार चलचित्रको व्यापारलाई लिएर यसको निर्माणपक्ष खुशी देखिएको छ । नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्रले प्रेम र विछोडको कथालाई बोल्छ ।

चलचित्रको वितरण गरिरहेका वितरक सुनिल मानन्धरका अनुसार चलचित्रले २ दिनमा करिब ९५ लाख ग्रस कलेक्शन गरेको छ । इनिसियल व्यापार सुखद भएको र आइतबारदेखि वर्ड अफ माउथमा भर पर्ने उनले बताए ।

फिलिपिन्समा छायांकन भएको चलचित्रको समिक्षा भने मिश्रति छ । विशेषगरि, चलचित्र स्लो भएको, २ जना कलाकारलाई मात्र देखाइएको लगायतका प्रतिक्रिया चलचित्रले पाएको छ । यसैले, आजबाट चलचित्रको व्यापार वर्ड अफ माउथमा नै भर पर्नेछ ।

१ करोड भन्दा बढी लागतमा बनेको चलचित्रले लगानी उठाउन ३ करोड हारहारीको व्यापार गर्नुपर्ने हुन्छ । यसैले पनि इनिसियल व्यापारले मात्र चलचित्रको लगानी नेपालबाट उठ्न गाह्रो छ ।

नायक आर्यन सिग्देल केही समयपछि पर्दामा र्फकनु, नायिका साम्राज्ञी राज्यलक्ष्मीप्रति दर्शकको भरोसाकै कारण चलचित्रले २ दिनमा करिब ९५ लाखको व्यापार गर्न सकेको हो । वितरक मानन्धरले भने-‘अरुले भएको भए डेढ करोड कमायो भन्थे । तर, म जति हो त्यती भन्छु । अहिले त बक्स अफिस आँकडा आउने भएकाले पनि झुट बोल्न गाह्रो छ ।’

यसैविच, चलचित्रका मुख्य कलाकार नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह शनिबार काठमाण्डौका केही हलमा पुगेका छन् । काठमाण्डौको अष्टनारायण हलमा पुगेर उनीहरुले दर्शकसँग साक्षात्कार गरे । दर्शकको भीड र प्रतिक्रियाबाट आफू अत्यन्तै उत्साहित भएको आर्यनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment