+
+
Shares

फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक तयार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते ९:२८

३१ भदौ, काठमाडौं । सरकारले फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक तयार पारेको छ ।

सरकारले तयार पारेको विधेयकमा फोहोरको उत्पादन न्यूनीकरण, स्रोतमै वर्गीकरण, संकलन, स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन केन्द्रमा पुन:प्रयोग र पुन:प्रशोधनको विषय समेटिएको छ । फोहोरबाट मल, ग्यास वा ऊर्जा उत्पादन र बाँकी फोहोरको सुरक्षित अन्तिम विसर्जनसम्मको सम्पूर्ण प्रक्रिया समेटेर विधेयक तयार भएको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक तयार भएको जानकारी दिइन् । ‘प्रकृतिले हामीलाई संसारकै सुन्दर देश दिएको छ । तर आज सडक, नदी, बस्ती र सार्वजनिक स्थलमा बढ्दो फोहोरले हाम्रो प्राकृतिक सुन्दरता, वातावरण र जनस्वास्थ्यलाई चुनौती दिइरहेको छ’ उनी भन्छिन्, ‘यही अवस्थालाई बदल्ने उद्देश्यसहित फोहोरमैला व्यवस्थापनसम्बन्धी ऐतिहासिक विधेयक संघीय संसदमा दर्ता गर्ने तयारीमा छौँ ।’

उनका अनुसार यो विधेयकको सबैभन्दा महत्त्वपूर्ण पक्ष फोहोर व्यवस्थापनलाई फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्रका रूपमा सम्बोधन गर्नु हो ।

साथै शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी जस्ता आधुनिक अवधारणालाई पनि कानूनी व्यवस्थामा समेटिएको उनले जानकारी दिइन् ।

‘फोहोर उठाउनु मात्र समाधान होइन, यस विधेयकमा फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्र व्यवस्थित गरिएको छ’ मन्त्री गौतमले जानकारी दिइन्, ‘स्वच्छ, स्वस्थ र सुन्दर नेपाल निर्माणतर्फ यो एउटा ऐतिहासिक कानुनी कदम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?