+
+

फुजेल काण्डः नुरप्रसादलाई झिकाउन अदालतको आदेश

सुवास पण्डित सुवास पण्डित
२०७५ साउन २० गते १९:२७

२० साउन, चितवन । गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा जाहेरीवाला नुरप्रसाद अधिकारीलाई झिकाउन जिल्ला अदालत चितवनले पुनः आदेश दिएको छ ।

कृष्णका दाजु नुरप्रसादलाई प्रहरीले काठमाडौंबाट हिरासतमा लिएकै अदालतले उपस्थित गराउन आदेश दिएको हो । नुरप्रसाद निकै लामो समयदेखि वेपत्ता थिए ।

अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको ईजलासले आइतबार उक्त आदेश गरेको हो । नुरप्रसादलाई भदौ ४ गते अदालतमा हाजिर हुने गरी म्याद जारी गरिनेछ ।

श्रेेस्तेदार गेहेन्द्रराज पन्तका अनुसार वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पुर्‍याई अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश भएको हो ।

यस अघि गत फागुन १३ गते न्यायाधीश शर्माले अधिकारीलाई झिकाउन म्याद जारी गर्न आदेश गरेका थिए । तर, जिल्ला अदालत गोरखाका कर्मचारीहरुले व्यक्ति र परिवार नभेटेपछि फागुन २२ गते गोरखा जिल्लाको फुजेलस्थित घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँस गरिएको थियो । यो रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको हो ।

वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली, जाहेरीवालाका तर्फबाट बरिष्ठ अधिवक्ता बाबुराम गिरी र अधिवक्ता ईन्द्र अर्यालले बहस गरेका थिए । त्यसैगरी प्रतिवादीका तर्फबाट बरिष्ठ अधिवक्ता धर्मराज आचार्य, मुक्ति प्रधान, रमण श्रेष्ठ र अधिवक्ता दिनमणि पोखरेलले बहस गरेका थिए ।

मुद्दा दायर भएको दुई वर्षभित्र फैसला आउने परिपाटी रहे पनि यो मुद्दा चार वर्षभन्दा बढी समयदेखि प्रक्रियामा नै अल्झेको छ । पेसी तोकेका दिन अनेक कारणहरूले बहस रोकिँदै आएको थियो । आइतबारको पेसी २१ औं हो ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको बि.सं. २०६१ जेठ २४ गते चितवनमा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।

मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

मुद्दामा १३ जना प्रतिवादी छन् । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नुपग्ने भन्दै अदालतले दुईजनालाई धरौटीमा छाडेको थियो ।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । असार २४ गते पौडेल सर्वाेच्चमा समक्ष हाजिर भएका थिए । अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको छ ।

हत्यारालाई कारबाही नभएको भन्दैं कृष्णप्रसाद अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए । अनसनकै क्रममा नन्दप्रसादका निधन भयो ।

गंगामायाले हाल अनसन तोडेकी छिन् । उनलाई सरकारले क्षतिपूर्ति वापत एक करोड रकम प्रदान गरेको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?