Comments Add Comment

गंगामायाका छोरा नुरप्रसाद भेटिए, आमालाई बुझाउने तयारी

२० साउन, काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । गंगामायाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो ।

हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् ।

त्यसअनुसार अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको हो । प्रक्रिया पुरा गरेर उनलाई बुझाइने महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए ।

अनसनकै क्रममा नन्दप्रसादको निधन भयो । तर, उनी आमाको सम्पर्कमा थिएनन् ।

फुजेल घटनाको बहस शुरु

यसैबीच, गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस शनिबारबाट शुरु भएको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिए ।

कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।

घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारवाही गर्न माग गर्दै तत्कालै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।

लामो समयसम्म कारवाही नभएपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए । उनीहरू अनशनमा बसेको लामो समयपछि प्रहरीले २०७० साउनमा सो उजूरीबारे अनुसन्धान शुरु गरेको थियो ।

उजूरीमा किटिएकामध्ये केहीलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुनसकेको थिएन ।

नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो घटनामा १३ प्रतिवादी छन् ।

सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नपुग्ने भन्दै अदालतले दुई जनालाई धरौटीमा छाडेको थियो ।

सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्तले पनि फरक फरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए । बयान दिन आएकामध्ये केही साधरण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए ।

सो मुद्दाका एक अभियुक्त रुद्र आचार्य विदेशमा छन् । उनी अदालतमा अझसम्म उपस्थित भएका छैनन् ।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतमा समेत निवेदन पुगेपछि एक अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो ।

सोही आदेशानुसार गत असार २४ गते उनी सर्वाेच्च अदालतसमक्ष हाजिर भएका थिए । अदालतले सोही दिन उनलाई डिल्लीबजार कारागार चलान गरेको थियो ।

सो मुद्दा हालसम्म पाँच न्यायाधीशले हेरिसक्नु भएको छ ।

गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाई चितवन अदालतमा मुद्दा दायर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment