Comments Add Comment

इङ्ग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडको विजयी सुरुआत


२६ साउन, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुआत गरेको छ । शनिबार राति भएको उदघाटन खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराएको हो ।

घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेड पउल पोग्बाको कप्तानीमा मैदान उत्रिएको थियो । पोग्बाले यो सिजनको पहिलो गोलसमेत गरे । उनले तेस्रो मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एलेक्स सान्चेजको प्रहार रोक्ने क्रममा लेस्टर सिटीका डानिएल अमार्टेयले फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

पहिलो हाफको खेल १–० मा सकिए पनि दोस्रो हाफको अन्तिम समयतिर युनाइटेडले अर्को एक गोल थप्यो । ८३ औं मिनेटमा ल्युक शोवले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

यसैगरी लेस्टर सिटीका लागि जेमी भर्डीले इन्जुरी समयको दोस्रो मिनेटमा एक गोल फर्काए । रिकार्डो परेराको क्रसमा उनले बललाई जाली चुमाएका थिए ।

खेलपछि प्रशिक्षक जोसे मोरिन्होले पोग्बाले म्यानचेस्टर युनाइटेडको कप्तानी सम्हालेको र गोल गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

रुस विश्वकप फुटबलको उपाधि उचालेको फ्रान्सका पउल पोग्बा चार दिनअघि मात्रै युनाइटेडको प्रशिक्षणमा सहभागी भएका थिए । त्यसअघि उनी बार्सिलोना जाने चर्चा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment