२७ साउन, चितवन । चितवनको रत्ननगर नगरपालिकाले कर वृद्धि गरेको भन्दै रिले अनशन सुरु भएको छ । नेपाली कांग्रेस लगायत सात राजनीतिक दलले संयुक्त संघर्ष समिति नै बनाएर आन्दोलन सुरु गरेका हुन् ।
चरणबद्ध आन्दोलन गर्दा समेत जनप्रतिनिधिले सुनुवाइ नगरेकाले अनसन बस्नु परेको कांग्रेस रत्ननगर नगर समितिका सभापति रुपनराज घिमिरेले बताए । आन्दोलनमा उत्रिएका दलहरुले वृद्धि भएको कर तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन् ।
रत्ननगर नगरपलिकाले एक हजार प्रतिशतसम्म कर वृद्धि गरेको आरोप उनीहरुको छ । रत्ननगर नगरपालिकाले भने करको दरमा वृद्धि नभएको तर, जग्गाको मूल्याङ्कन बढेको तर्क गरेको छ ।
अघिल्लो वर्ष १५ लाख ६१ हजार रुपैयाँ मूल्याङ्कन भएको जग्गाको अहिले मूल्याङ्कन बढेर ८६ लाख ९७ हजार पुगेकाले कर बढेको नगरपालिकाको दाबी रहेको छ ।
मालपोत कार्यालयको मूल्याङ्कनअनुसार जग्गाको मूल्याङ्कन गरेको नगरपालिकाले जनाएको छ । स्थानीयले भने जग्गा बिक्री वितरण गर्दा एक पटक तिर्ने करको मूल्याङ्कन र प्रत्येक वर्ष तिर्ने करको लागि एकै मूल्याङ्कन बनाउनु व्यवहारिक नहुने बताएका छन् ।
अनशनरत दलका कार्यकर्ताले नगरपालिकाको राजस्व शाखामा अवरोध पुर्याएका छन् । अवरोधपछि कर राजस्व संकलन कार्य बन्द भएको छ ।
प्रतिक्रिया 4