एकलव्य महाभारतका एक चर्चित पात्र हुन् जसले आˆनो बूढी औंला काटेर गुरुदक्षिणाका रूपमा बुझाएका थिए । विभिन्न पुराणमा यिनको विषयमा अनेक कुरा पाइन्छ । कसैले एकलव्यलाई शिकारीको छोरो भनेका छन् भने कसैले भिल्लको छोरो भनेका छन् । कतिपयले एकलव्य शूऽ भएका कारण गुरु द्रोणाचार्यले शिक्षा दिन नमानेको बताएका छन्। जब कि यी कुरा गलत हुन् ।
एकलव्य न त भिल्ल थिए, न शूद्र न त आदिवासी । उनी निषाद जातिका थिए । निषाद नामक एक जाति आज पनि पाइन्छन् ।
उल्लेखनीय के छ भने धृतराष्ट्र, पाण्डु तथा विदुरकी हजुरआमा सत्यवती पनि निषादकन्या नै थिइन् । महाभारतका रचयिता वेदव्यास पनि सत्यवतीकै पुत्र थिए । सत्यवतीले राजा शान्तनुसँग विवाह गरेर चित्राङ्द र विचित्रवीर्य नामका दुई छोरा जन्माएकी थिइन् । सत्यवतीका पुत्र विचित्रवीर्यका पत्नीहरू अम्बिकाबाट धृतराष्ट्र तथा अम्बालिकाबाट पाण्डुको जन्म भएको थियो । वेदव्यासको नियोगबाट धृतराष्ट्र र पाण्डुबाहेक दासी पुत्र विदुरको समेत जन्म भएको थियो ।
को हुन् एकलव्य ?
एकलव्य निषादराज हिरण्यधनुका पुत्र थिए । महाभारत कालमा प्रयाग -इलाहाबाद) को तटवर्ती प्रदेशमा फैलिएको श्रृंगवेरपुर नामक राज्य निषादराज हिरण्यधनुको थियो । गंगाको किनारमा अवस्थित श्रृंगवेरपुर उक्त राज्यको सुदृढÞ राजधानी थियो ।
अर्को एक मान्यता अनुसार एकलव्य श्रीकृष्णको काकाको छोरो थिए । जसलाई उनले निषादराज हिरण्यधनुलाई दिएका थिए । जे होस् द्रोणभक्त एकलव्य निषादराज हिरण्यधनुका पुत्र थिए । उनको आमाको नाम सुलेखा थियो ।
उसबेला श्रृंगवेरपुर राज्यको शक्ति मगध, हस्तिनापुर, मथुरा, चेदि र चन्देरी आदि ठूला राज्यसमान नै थियो। निषादराज हिरण्यधनु तथा उनका सेनापति गिरिवीरको वीरता विख्यात थियो । हिरण्यधनु आˆना अमात्य (मन्त्री) परिषदको सहायताबाट राज्य संचालन गर्थे ।
एकलव्य कसरी धनुषविद्यामा निपूर्ण भए ?
शुरुमा एकलव्यको नाम अभिद्युम्न थियो । उनलाई अभय नामले बोलाइन्थ्यो । पाँच वर्षको भएपछि एकलव्यको शिक्षा सुरु भयो । तत्कालीन व्यवस्था अनुसार कुलीय गुरुकुलमै उनको शिक्षा थालनी भयो । त्यो गुरुकुलमा सबै जाति र समाजका उच्चवर्गका व्यक्ति पढ्थे ।
एकलव्य एक राजपुत्र थिए । उनको पिता हिरण्यधनुलाई कौरवहरू सम्मान गर्थे अर्थात् हस्तिनापुरमा उनको प्रतिष्ठा थियो । बाल्यकालदेखि नै अस्त्र-शस्त्र विद्याप्रति बालकको लय, लगन र एकनिष्ठता देखेर गुरुले उक्त बालकको नाम ‘एकलव्य’ राखिदिएका थिए । एकलव्य युवा भएपछि हिरण्यधनुले आˆना एक निषाद मित्रकी छोरी सुनीतासँग एकलव्यको विवाह गराइदिएका थिए ।
किन एकलव्यलाई शिक्षा-दीक्षा दिन इन्कार गरियो ?
एकपटक पुलक मुनिले एकलव्यको आत्मविश्वास एवम् धनुष बाण सिक्ने लगन देखेर निषादराज हिरण्यधनुलाई भनेका थिए, ‘हे निषादराज ! तपाईंको छोरोमा उत्कृष्ट धनुर्धर बन्ने क्षमता छ तसर्थ उसलाई सही दीक्षा दिलाउने प्रयास गर्नु राम्रो हुन्छ ।’
पुलक मुनिको कुराबाट प्रभावित राजा हिरण्यधनु, आˆनो पुत्र एकलव्यलाई महान गुरु द्रोणकहाँ लैजान्छन् । तर गुरु द्रोण केवल कुरुकुल र राजदरबारका बालकहरूलाई मात्र धनुष विद्या सिकाउन सक्थे किनभने उनी भीष्मप्रति यो कुरामा वचनबद्ध थिए । यसकारण उनले एकलव्यलाई शिक्षा दिन अस्विकार गरिदिए ।
द्रोणको प्रतिमालाई गुरु मानेर धनुर्विद्या
पछि एकलव्यले द्रोणलाई नै गुरु मानेर उनको प्रतिमा बनाई धनुर्विद्याको अभ्यास गर्न थाले। उनी यस विद्यामा पारङ्गत पनि भए । उनी द्रोणका अन्य कुनै पनि शिष्यभन्दा कुशल धनुर्धर भए । द्रोणाचार्यले जुन अर्जुनलाई महान सिद्ध गर्नका लागि एकलव्यको बूढी औँला कटाएका थिए, एकलव्यलाई पछि तिनै अर्जुन विरुद्ध समेत युद्ध लड्नुपर्ने भयो ।
एकलव्य अर्जुनको पुत्रको हत्याका कारण बन्न पुगे भने अर्जुनको सालोकै हातबाट उनको मृत्यु पनि भयो ।
एकलव्यको एकजना पुत्र थिए जसको नाम केतुमान थियो । एकलव्यले युद्धमा वीरगति प्राप्त गरेपछि केतुमान सिंहासनमा बसे । महाभारत युद्धमा केतुमान कौरवहरूको पक्षबाट लडेका थिए । उक्त युद्धमा केतुमान भीमसेनको हातबाट मारिएका थिए ।