Comments Add Comment

चेखभको कथाः प्रेमका कुरा

(पेसाले चिकित्सक आन्तोन पाब्लिबिच चेखब (१८६०–१९०४) आफूलाई सौखिन साहित्यकार मान्थे । तर, जगतले उनलाई यति धेरै माया गर्‍याे कि विश्वका ७९ भाषामा उनका कृतिहरू अनुदित भएका छन् । ४४ वर्षको उमेरमै संसारबाट बिदा भएका रुसी लेखक चेखबको ‘प्रेमका कुरा’ विश्वप्रशिद्ध कथा हो । यसलाई संसारका धेरै विश्वविद्यालयहरूले आफ्नो कोर्स बुकमा राखेका छन् । यो कथालाई त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौडेलले अनलाइनखबरका लागि अनुवाद गरेका हुन् ।)

भोलिपल्ट बिहानको खानामा पाई थियो, क्रे माछा थियो र खसीको मासुको कटलेट थियो । हामीले खाना खाइरहेको बेला भान्से निकानोर आयो र पाहुनाहरू साँझको खानामा के खान चाहन्छन् भनेर सोध्यो । मध्यम कदको मान्छे, उसको अनुहार पाउरोटीजस्तो भुक्क फुलेको थियो । आँखा चिम्सा, जुँघा चिटिक्क पारेर काटेको । दाह्री भने काटेको भन्दा पनि जरैबाट उखेलेको जस्तो देखिन्थ्यो । अलेहिनले मलाई भन्यो, त्यो सुन्दरी पेलागया यही भान्सेलाई माया गर्छे । ऊ रक्स्याहा थियो र उग्र व्यवहार गथ्र्यो । त्यसैले पेलागया ऊसँग बिहे गर्नचाहिँ इच्छुक थिइन, तर ऊसँगै “त्यसै” बस्ने भन्नेमा चाहिँ ऊ राजी थिई । निकानोर भने कट्टर थियो, र उसको धार्मिक आस्थाले यसरी अनैतिक रूपमा परस्त्रीसँग बस्न दिँदैनथ्यो । ऊ बिहे गरौँ भन्थ्यो, र बिहे नगरी कुनै पनि नैतिक सीमा नाघ्न राजी हुँदैनथ्यो । विशेषगरी रक्सी खाएको बेला । त्यसैले पनि ऊ पेलागयालाई होच्याउँथ्यो र हातपात पनि गथ्र्यो । उसलाई मातेको देखेपछि पेलागया भने माथि बुइँगलमा लुकेर स्याँस्या गर्थी र यस्तो परिस्थितिमा अलेहिन र उसका नौकरहरू घरैमा तैनाथ बस्ने, र परिआएको खण्डमा उनको सुरक्षाका लागि तयार रहन्थे ।

हामी प्रेमको बारेमा कुरा गर्न थाल्यौँ ।

०००

“प्रेमको जन्म नै कसरी भयो ?” अलेहिनले सुरु गर्‍याे ।

ऊ भन्दै गयो, “यो पेलागयाले अध्यात्मिक र बाहिरी दुवै गुणमा आफू सुहाउँदो कसैसँग किन बिहे नगरेकी होली? ऊ किन निकानोरजस्तो कुरूप थुतुनोसँग माया गरेकी होली? हामी सबै निकानोरलाई ‘थुतुनो’ भन्छौँ । प्रेममा व्यक्तिगत खुसीको प्रश्न कत्तिको महत्वपूर्ण हो? यो सबै कुरा त हामीलाई थाहै छ । यसमा जसलाई जे लाग्छ, त्यस्तै धारणा राखे भैगो । आजसम्म प्रेमका बारेमा एउटामात्रै अकाट्य सत्य भनिएको छः कि प्रेम एउटा महान रहस्य हो ।

जबजब म सहर जान्थेँ, म हरेकचोटि उनका आँखामा मेरो आगमनको प्रतीक्षा देख्थेँ । हामी दुवैले एक अर्काप्रतिको माया अभिव्यक्त गरेनौँ । बरु लजाउँदै, डाहा गर्दै त्यसलाई लुकाइरह्यौँ, छुपाइरह्यौँ । हाम्रो गोपनीयताको पर्दाफास गर्न सक्ने सबै कुराको डर थियो हामीलाई

प्रेमका बारेमा भनिएका अथवा लेखिएका अन्य सबै कुरा कुनै निचोड होइनन्, केवल प्रश्नहरूमात्रै हुन्, जसको उत्तर आजसम्म पनि भेटिएको छैन । एउटा सन्दर्भमा उपयुक्त लागेको व्याख्या अर्को सन्दर्भमा बेमेल होइदिन्छ, र मेरो विचारमा, सबैभन्दा सुन्दर समाधान भनेको प्रेमका फरक फरक प्रसङ्गलाई विशिष्ट मानेर हेर्नुपर्छ र समान्यीकरण गर्ने प्रयास नै गर्नुहुन्न । चिकित्सकहरूले भन्ने गरेझैँ प्रत्येक अवस्थालाई छुट्टै मानेर हेर्नुपर्छ ।”

“सत्य कुरा,” भन्दै बर्किनले सहमति जनायो ।

“हामी पढेलेखेको वर्गका रसियालीहरू अनुत्तरित रहेका यी प्रश्नका बारेमा पनि अलिकति विभेद राख्छौँ । प्रेमलाई प्रायः कविताजस्तो बनाइदिन्छौँ, गुलाफ र जुरेलीको गीतले सजाइदिन्छौँ । हामी रसियालीहरू प्रेमलाई यस्तै यस्तै क्षणिक प्रश्नले सजाइदिन्छाैं, र यीमध्यै सबैभन्दा कम रोचक कुराको पक्षमा पनि उभिन्छौँ ।’

“मस्कोमा, जब म विद्यार्थी थिएँ, मेरी एक सुन्दर सँगिनी थिइन् । जबजब म उनलाई अँगालोमा लिन्थेँ, उनी अरु नै केही सोचिरहकी हुन्थिन्ः घरको हेरचाह गरेवापत् मासिक कति पैसा थपिदिने हो, अथवा बजारमा मासुको मूल्य कति भएको हुँदो हो, आदि ! यसरी, जब हामी प्रेममा हुन्छौँ, हामी आफैँलाई प्रश्न सोधेर थाक्दैनौँः यो सम्मानजनक छ कि अपमानजनक, यो बौद्धिकतापूर्ण हो कि मूर्खतापूर्ण हो, यस प्रेमले कहाँ पुर्‍याउने हो, आदि । मलाई पनि थाह छैन यो राम्रो चीज हो वा खराब, तर मलाई पक्का थाह छ कि यो असन्तोषजनक छ, तथा दिक्कलाग्दो छ ।”

कुरा सन्दा लाग्थ्यो, अलेहिन कुनै कथा भन्न गइरहेको छ । एक्लो जीवन बाँच्नेहरूसँग सदैव मुटुभित्र कुनै न कुनै कथा गान्निएको हुन्छ, जो उनीहरू मौका पाउँदा सुनाउन चाहन्छन् । सहरमा अविवाहित पुरुषहरू स्नानघर अथवा रेष्टुराँ जान्छन् गफ गर्ने उद्देश्यले, र कहिलेकाहीँ स्नानघर र रेष्टुराँका परिचारकलाई चाखलाग्दा कुरा सुनाउँछन् । गाउँमा, नियमैले नै भनौँ, उनीहरू मनको बह पाहुनाहरूसँग खोल्छन् ।

यस बेला झ्यालबाट बाहिर हेर्दा धूमिल देखिन्थ्यो आकाश, रुखहरू सबै वर्षात्को पानीमा भिजेका थिए । यस्तो मौसममा बाहिर कतै जाने कुरै भएन । हामीसँग कथा सुन्नु र सुनाउनुबाहेक कुनै अर्को काम भएन हातमा ।

अलेहिनले कथा अगाडि बढायो ।

०००

म सोफिनोमा बस्दै आएको छु, र लामो समयदेखि खेतीपाती गर्दै आएको छु । मैले विश्वविद्यालय छोडेकै समयदेखि यसो गरेको हुँ । पढाइका हिसाबले म साह्रै अल्छे होइन, सुविधाका हिसाबले अलि पढन्ते पनि हुँ ।

जब म पढेर गाउँ फर्किएँ, जमिनमा परेको बन्धकीको ठूलो ऋण थियो हाम्रो टाउकोमा । मेरो पढाइको खर्च जुटाउनका लागि बुवाले ऋण लिनुभएको रहेछ । त्यसैले, मैले अब सहर नजाने, र यतै काम गरेर ऋण तिर्ने निधो गरेँ । यस्तै मनस्थिति बनाएर म काममा लागेँ, यद्यपि मभित्र गुनासो ठ्याम्मै नभएको भने होइन । यहाँको जमिनमा उब्जनी खासै हुँदैन । बालीमा घाटा नखाने हो भने आफैँले श्रम लगानी गर्नुपर्छ । हाँजिराका खेतालासँगै आफू पनि जमिनमा खटिनुपर्छ । अर्को कुनै मध्यमार्ग छैन । तर तिनताका म आफैँचाहिँ यो हदसम्म गइनँ । छिमेकी गाउँका सारा खेताला जम्मा पारेँ, जसमा महिला र पुरुष दुवै सामेल थिए । युद्धस्तरमा काम चल्यो । नफोरेको एउटै डल्लो छोडिएन । मैले आफैँ पनि हलो जोतेँ, बीउ छरेँ, बाली उठाएँ । यसो गर्दा दिक्क पनि लाग्यो, र रिसले मुर्मुरिँए पनि — गाउँको बिरालोजस्तो, जो भोकाएको छ, तर खानलाई करेसाबारीमा काँक्राबाहेक केही भेट्दैन ।

जीउ दुख्थ्यो । हिँड्दाहिँड्दै निदाउँथेँ । सुरुमा त मलाई लागेको थियो, मेरो परिस्कृत सहरिया जीवनशैलीसँग म यो गाउँले जीवनलाई सहजै समायोजन गर्न सक्छु । यसो गर्नका लागि कुनै प्रकारको बाहिरी सन्तुलन कायम गरे पुग्छजस्तो लाग्थ्यो । घरमा मैले आफ्नो लागि माथिल्लो तलाको सबैभन्दा सुविधासम्पन्न कोठा रोजेँ । बिहानबेलुकाको भोजनपछि कफी र मदिरा त्यहीँ ल्याउन अह्राए कामदारहरूलाई । सुत्तुअघि सधैँ येस्निक एभ्रोपीका भन्ने पत्रिका पढ्ने बानी बसालेँ ।

एक दिन हाम्रा पादरी, फादर इभान आएछन् र मेरो लागि राखिदिएको सबै मदिरा एकै बसाइमा पिइदिएछन् । र, येस्निक एभ्रोपीको मैले पढ्दैगरेको अङ्क लगेर छोरीलाई दिएछन्, । यो बाली उठाउने व्यस्त बेलाको कुरा हो । यसरी माथिल्लो कोठामा साहेब बनेर सुत्ने मेरो उपक्रम विफल भयो । म अन्ततः जमिनमा फर्किएँ, गाइगोठमै सुत्न थालेँ, खेतमा, अथवा बनपालेको झुपडीमा । अब त कसरी पढ्न सक्नु? बिस्तारै बिस्तारै म माथिबाट तल जमिनमै ओर्लिएँ, नोकरहरूकै भान्सामा खान थालेँ । मेरो पुरानो विलासमा अब बुबाकै समयदेखि हामीसँगै बस्दैआएका केही नोकरबाहेक केही पनि बाँकी रहेन । यसरी बाँकी रहेका नोकरहरूलाई निकाल्नु पनि दुःखद हुने थियो ।

गाउँ फर्केको पहिलो वर्ष नै मलाई शान्ति परिषद्को मानार्थ न्यायाधीशमा नियुक्त गरियो । मलाई परिषद्का सत्रहरूमा तथा सर्किट न्यायालयका बहसहरूमा भाग लिन सहर गइरहनुपथ्र्यो । मलाई पनि हावा–पानी फेरिने हुनाले रमाइलो लाग्थ्यो । गाउँमै अविच्छिन्न रूपमा दुईतीन महिनासम्म बसिरहनु, त्यो पनि हिउँदको समयमा, दिक्क लाग्न थाल्थ्यो । मलाई कालो कोटको न्यास्रो बेस्सरि लाग्न थाल्थ्यो । सर्किट अदालतमा फ्रक–कोट लगाएका र ड्रेस–कोट लगाएका तमाम अधिवक्ता भेटिन्थे, र कुरा गर्नलाई म कोही न कोही फेला पारिहाल्थेँ । लामो समयदेखि गाडामा सुतेर र कामदारको भान्सामा खाएर आएको मान्छेलाई सुकिला लुगा लाउनु, आर्म चेयरमा बस्नु, सफा जुत्ता लगाउनु, साङ्ली भएको इस्टकोट लगाउनु—एउटा छुट्टै आनन्दको विषय थियो ।

सहर पुग्दा मैले न्यायो स्वागत पाएँ । केहीसाथी बनाएँ । मेरा साथीभाइमध्ये सबैभन्दा नजिक, र साँच्चै भन्ने हो भने सबैभन्दा कुरा मिल्ने लुगानोविच भए, जो सर्किट कोर्टका उपाध्यक्ष थिए । उनलाई तिमी दुईजना पनि चिन्छौ नि, क्या गजबको व्यक्तित्व छ उनको । एकपल्ट यस्तो भयो कि आगजनीको एउटा मुद्दाको सुनवाइ दुई दिनसम्म चल्यो । हामी थकित भयौँ । लुगानोविचले मलाई हेरे र भने, “यसो गरौँ । खाना खान मकहाँ नै आउनुस् ।”

यो अनपेक्षित कुरा थियो । मैले लुगानोविचलाई अलिअलिमात्रै चिनेको थिएँ, त्यो पनि कार्यालयीय हिसाबले । उनको घर त म कहिल्यै गएको थिइनँ ।

म होटलमा गएँ, लुगा फेरेँ, र खाना खान उनका घर गएँ । त्यहाँ, सौभाग्यले मैले उनकी श्रीमती अन्ना एलेक्जेभ्नालाई भेट्ने सौभाग्य पाएँ । त्यो बेला उनी अझै जवान थिइन् । सायद बाइसभन्दा बढी थिएन उनको उमेर । उनको पहिलो बच्चो भर्खरै छ महिनाको भएको थियो । तर यो भयो उनको विगतको कुरा । हाल उनमा त्यस्तो विलक्षण कुरा के थियो, त्यसको व्याख्या गर्न मलाई निकै गाह्राे भइरहेको छ । उनमा केही त थियो, जसले मलाई अति नै आकर्षित गर्‍याे  । तर भोजनको बेला मैले त्यो रहस्य थाह पाएँ । उनमा मैले एक सुन्दर महिला देखेँ, जो सतगुणी थिइन्, बौद्धिक थिइन्, र सारै फरासिली । उनीजस्ती महिला मैले कहिल्यै भेटेको थिइनँ विगतमा । पहिलो भेटमै मलाई उनी नजिकको कोही, पहिल्यैदेखि चिनेजानेको कोहीजस्तो लाग्यो । त्यो अनुहार, ती संवेदनापूर्ण र तीक्ष्ण आँखा, मैले पहिल्यै, बाल्यकालमै देखे जस्तो, जाने जस्तो—मेरी आमाको कुनै घर्रामा रहेको अल्बमभित्रको कुनै तस्बिरमा देखेजस्तो ।

त्यस आगजनीको मुद्दामा हाम्रो अदालतले गुण्डागर्दी गरेबापत चारजना यहुदीलाई सजाय सुनाएको थियो । मेरो दिमागमा यो निर्णय आधारहीन छ भन्ने त लागिरहेको थियो । साँझ खाना खाँदा म निकै उत्साहित थिएँ, तर केही संकुचित पनि । खै मैले के भनेछु, अन्नाले टाउको हल्लाउँदै उनको लोग्नेलाई भनिन्, “दिमित्री, यो कस्तो निर्णय गरेको तिमीहरूले?”

हुन त लुगानोविच एक सत्चरित्रका पुरुष हुन्—ती सज्जनमध्येका एक, जो यो सोच्छन् कि एकपल्ट अभियुक्त मानेर अदालतमा उभ्याइएको मान्छे दोषी नै हुन्छ, र अदालतले सुनाएको सजायका विषयमा शङ्का गर्नका लागि कानुनी, त्यो पनि लिखित माध्यम चाहिन्छ, साँझको खानामा गफ गरेर अथवा निजी कुराकारी गरेर हुँदैन ।

“त्यस ठाउँमा आगो लाएको तिमीले र मैले होइन क्यारे,” उनले विनम्रतापूर्वक भने । “सजाय हामीले पाएका छैनौँ । हामी जेल गएको छैनौँ ।”

लोग्नेस्वास्नीले नै मलाई खूब ख्वाउने र प्याउने कोशिस गरे । ससाना कुरामा, कफी बनाउने काममा, आधा बोल्दै एकअर्कालाई बुझ्ने कुरामा उनीहरूको अभ्यास देखेर मैेले बुझेँ, उनी दुईबीच गज्जबको सुझबुझ र सहजता थियो, र पाहुनाका बारेमा दुवैजना खुसी थिए । खाना खाइसकेपछि पियानो बजाएर दुवैजनाले युगल गीत गाए । त्यसपछि रात छिपियो, र म होटल फर्किएँ । यो वसन्तको सुरुवातकै समयको कुरा थियो ।

सहरबाट गाउँ फर्केपछि मैले पूरै बर्खा सोफिनोमै बिताएँ, बिना कुनै छुट्टी । सरहको त सम्झना गर्ने पनि फुर्सद भएन मसँग । तर हरेक दिन ती कान्तिमति, सुनौलो कपाल भएकी महिलाको सम्झना भने आइ नै रह्यो । हुन त मैले उनका बारेमा सोच्न खोजेर यस्तो भएको होइन, तर पनि उनको हलुङ्गो छाया नै मेरो मुटुमाथि बसेको जस्तो लागिरह्यो ।

शरद ऋतु लागेपछि सहरमा कसैको सहयोगार्थ एउटा नाटक मञ्चन हुने भएछ । म पनि गएँ नाटक हेर्न । मध्यान्तरमा गोभर्नर बसेको ठाउँतिर यसो आँखा डुलाएँ । त्यहाँ अन्नालाई पनि देखेँ, गभर्नरकी श्रीमतीसँगै बसेकी । उनको अनुहारमा उही उद्वेगपूर्ण कान्ति, उही सौन्दर्य र उही माधुर्य थियो । आँखा उत्ति नै प्रेमिल, र मनमा उस्तै निकटताको भाव । हामी केहीबेर सँगसँगै बस्यौँ, र बाहिर प्रवेशद्वारनिर निस्कियौँ ।

“अलि कमजोर हुनुभएछ,” उनले भनिन् । “बिरामी हुनुभाथ्यो र?”

“अँ ।काँधमा बाथ छ । बर्खामा त सुत्नै सक्दिनँ ।”

“अलि थकित देखिनुभाछ । अस्ति हाम्रा घर खाना खाना आउँदा त रातोपिरो देखिनुभाथ्यो — अझ जवान र आत्मविश्वासपूर्ण । कति ऊर्जाशील हुनुहुन्थ्यो, र कति गफ पनि गर्नुभयो । सारै रमाइलो । मैले साँच्चै भन्नुपर्छ, मेरो त मनै जित्नुभाथ्यो । खै के कारणले हो, बर्खाभरि मैले सम्झिरहेँ तपाईंलाई । आज पनि यो नाटक हेर्न आउनलाई तयार भइरहँदा तपाईंलाई पो कतै भेटिहाल्छु कि भनेर कल्पना गरेकी थिएँ ।” यति भनेर उनी मुसुक्क मुस्कुराइन् ।

“तर तपाईं आज थकित देखिनुभाछ,” उनले फेरि भनिन् । “अलि बूढो पनि ।”

भोलिपल्ट पनि मैले लुगानोविचकैमा खाना खाएँ । खानापछि उनीहरू गाडीमा आफ्नो बर्खे घरतिर लागे, आर्काे यामको तयारीका लागि । म पनि उनीहरूसँगै गएँ । पछि उनीहरूसँगै सहर पनि फर्किएँ । मध्यरातमा, पूरै घरेलु वातावरणमा उनीहरूसँगै चिया पिएँ । आगो बलिरह्यो । ती जवान आमा, आफ्नी सानी छोरी मज्जाले सुतिरहेकी छ कि छैन भनेर हेर्न पटकपटक गइरहिन् ।

यसपछि, जबजब म सहर गएँ, म उनीहरूका घरको बाटो काट्नै छोडेँ । उनीहरू मसँग बानी परे, म उनीहरूसँग । नियमै भयोः म खबरै नगरी जाने, मानौँ, म त्यसै घरको एउटा सदस्य हुँ ।

“को आको छ?” भनेर सोध्ने गथ्र्यो टाढाको कुनै कोठाबाट आउने एउटा मधुर र प्रेमपूर्ण आवाज ।

“ए, पाभेल कन्स्टेन्टिनोविच हुनुहुँदोरहेछ,” भनेर भन्थी कुनै नोकरनी अथवा सुसारे ।

अनि अन्ना, मलाई भेट्न कौतुहलपूर्ण अनुहार लिएर आउँथिन्, र सधैँ सोध्थिन्, “किन यत्तिका दिनपछि आउनुभाके? केही भएको थियो र?”

उनका आँखा, मतिर बढेका उनका चञ्चल र सुन्दर हात, उनका घर बस्दा लाउने लुगा, उनको कपाल कोराइ, उनको आवाज र उनको चालले ममा सधैँ उही प्रभाव छोडिरहे — मेरो जीवनमा केही नयाँपन आए जस्ता,े कुनै पकारको विलक्षणता आइपरे जस्तो, कुनै सारै महत्त्वपूर्ण कुरा भए जस्तो । हामी घण्टौँ कुरा गथ्र्यौँ । फेरि आआफ्नै कुरा सम्झेर शान्त हुन्थ्यौँ । उनी मेरा लागि घण्टौँ पियानो पनि बजाउँथिन् । म पुग्दा घरमा उनीहरू रहेनछन् भने म घण्टौँ पर्खन्थेँ, सुसारेसँग गफ गर्थेँ, बच्चासँग खेल्थेँ, अथवा अध्ययन कक्षमा सोफामा सुत्थेँ र केही पढ्थेँ । अन्ना अलेक्जेभ्ना फर्केपछि म उनलाई भेट्न प्रवेशद्वारमै पुग्थेँ, उनले बोकिल्याएका सरसामान बोक्थेँ, र खै के कारणले हो म ती सामानलाई बढो प्रेमले, बढो ध्यानका साथ उचाल्थेँ, कुनै कलिलो ठिटोले जस्तो ।

एउटा भनाइ छ निः एउटी किसान महिलालाई कुनै अप्ठेरो छैन भने उनले सुँगुर पनि किन्छिन् । लुगानोविच परिवारमा त्यस्तो कुनै अप्ठेरो थिएन । त्यसैले उनीहरूले मलाई साथी बनाए । आउनुपर्ने बेलामा म सहर आइनँ भने म कि बिरामी परेको हुन्थेँ, अथवा केही भएको हुन्थ्यो । यस्तो बेलामा दुवै चिन्तित हुन्थे । उनीहरू यस कारण पनि चिन्तित थिए कि मजस्तो एउटा शिक्षित तथा भाषाको राम्रो ज्ञान भएको मान्छे विज्ञान अथवा साहित्यमा लाग्नुको साटो गाउँमा बसेको थिएँ, र मल्साँप्रोलेजस्तो यता र उता कुदिरहेको थिएँ, र सधैँ काममा छोट्ट्टिरहेको थिएँ, तर हातमा कहिल्यै एउटा फुटेको कौडी नहुने ।

उनीहरूले लख काटेका हुनुपर्छ, म बेखुस छु र म दुःख छुपाउनकै लागि कुरा गरिरहेको छु । हाँसिरहेको छु, अथवा खाइरहेको छु । खुसीका पलहरूमा पनि जब म प्रसन्न देखिन्थेँ, उनीहरूका खोजपूर्ण आँखा ममा केन्द्रित देखिन्थे । जबजब म निकै निराश हुन्थेँ, साहुबाट सताइएको हुन्थेँ, अथवा कसैको ऋणको ब्याज भनेको दिनमा तिर्न नसकेर चिन्तित हुन्थेँ, उनीहरू ममाथि सारै द्रवित हुन्थे । उनी दुई–लोग्ने स्वास्नी झ्यालमा बसेर एकअर्कालाई साउती गर्थे । अनि लुगानोविच मेरो नजिक आउँथे र भन्थे, “पाभेल कन्स्टेन्टिनोविच, तपाईंलाई यस बेला पैसाको सारै खाँचो परेको भए, म र अन्नासँग केही पैसा लिन नहिच्किचाउनु होला ।”

र उनको अनुहारभरि भावुकता पोखिन्थ्यो । अनि फेरि, अघिकै जसरी झ्यालमा अन्नासँग केही साउती गरेर, फेरि कान राता पार्दै भन्थे, “म र मेरी श्रीमती हाम्रो यति उपहार स्वीकार गरिदिन तपाईंलाई विनम्रतापूर्वक आग्रह गर्दछौँ ।”

उनीहरू मलाई काँटीकिल्ला, चुरोटदानी, बत्ती आदि उपहार दिन्थे । म पनि घरबाट घिउ र फूलहरू पठाइदिन्थेँ । उनीहरू दुवै आआफ्नै तरिकाले कमाउँथे ।सुरुसुरुमा मैले उनीहरूबाट ऋण लिएँ पनि । तर यसमा कुनै प्रकारको नियतिमता थिएन । म अरु नै कतैबाट पनि काडखोज गरेर चलाउन सक्थेँ । लुगानोविचसँगै माग्नुपर्छ भन्ने त्यस्तो बाध्यता थिएन मसँग । तर, उनीहरू किन आफैँ यो कुरा गरिरहन्थे, मलाई थाहा भएन ।

म केही कुराले त्यति खुसी थिइनँ वास्तवमा । घरमा, खेतमा, बारीमा…सबैतिर अन्नाको मात्रै सम्झना आइरहन्थ्यो । एउटी त्यति सुन्दर, बौद्धिक र जवान नारीले त्यस्तो निरस, चालीस कटेको बूढोसँग किन बिहे गरेकी होलिन् र उनका सन्तान जन्माएकी होलिन् भन्ने कुराको रहस्य बुझ्न खोजिरहेको थिएँ म । जान्न खोजिरहेको थिएँ, ती निरस, तर भलाद्मी पाराका, सोझा पुरुषको रहस्य के हो, जो निकै सहृदयताका साथ बहस गर्थे, नाचगान अथवा राति हुने पार्टीहरूमा प्रभावशाली व्यक्तिहरूसँग उठबस गर्थे, निरस र आवश्यकताभन्दा ज्यादा उदास रहन्थे, र एउटा पराजित, रसहीन भावभङ्गीका साथ बस्थे मानौँ उनी त्यहाँ बिक्रीका लागि ल्याइएका हुन् । उनी अझै खुसी हुने र अन्नासँग सन्तान जन्माउने आफ्नो अधिकारमा विश्वास गर्थे । म सोचिरहन्थेँ, अन्नाले पहिले लुगानोविचलाई किन भेटिन् र मलाई किन भेटिनन्, र हाम्रो जीवनमा यस्तो गम्भीर त्रुटि कसरी हुन पुग्यो !

जबजब म सहर जान्थेँ, म हरेकचोटि उनका आँखामा मेरो आगमनको प्रतीक्षा देख्थेँ । उनी आफैँ भन्थिन्, दिनभरि उनलाई मेरो झझल्को आइरह्यो रे, र म त्यहाँ पुगिहाल्छु कि जस्तो लागिरह्यो रे । हामी लामो समयसम्म कुरा गथ्यौँ र फेरि चुप हुन्थ्यौँ । तर अहँ, हामी दुवैले एकअर्काप्रतिको माया अभिव्यक्त गरेनौँ । बरु लजाउँदै, डाहा गर्दै त्यसलाई लुकाइरह्यौँ, छुपाइरह्यौँ । हाम्रो गोपनीयताको पर्दाफास गर्न सक्ने सबै कुराको डर थियो हामीलाई ।

म उनलाई औधी माया गर्थेँ, गहिरो माया । तर म सोचिरहन्थेँ, र अफैँलाई सोधिरहन्थेँ — हामीले यसलाई नियन्त्रण गर्ने सामथ्र्य गुमायौँ भने यस मायाले हामी दुवैलाई कहाँ पुर्‍याउला? मलाई लाग्थ्यो, यो अनिष्ट नै हुनेछ, यदि मेरो सभ्य तर उदास मायाले उनी, उनका श्रीमान र बच्चाको सौहार्दपूर्ण पारिवारिक सम्बन्धलाई निर्ममताका साथ टुक्य्राओस्, र मलाई त्यति माया र विश्वास गर्ने त्यो परिवार टुटोस् ।

के त्यो अवस्था इज्जतिलो होला? उनी मसँग त जालिन् । तर कहाँ? मैले कहाँ लान सक्थेँ उनलाई? मेरो जीवन स्वयंमा सुन्दर र रोमाञ्चक भइदिएको भए एउटा छुट्टै कुरा । यदि म देशको मुक्तिका लागि संघर्ष गर्दैगरेको कुनै सेनानी थिएँ भने, अथवा कुनै ख्यातिप्राप्त वैज्ञानिक, कलाकार अथवा चित्रकार थिएँ भने, कुरा बेग्लै हुने थियो, सायद । अहिलेको स्थितिमा मैले लगेँ नै भने पनि एउटा उदासिन जीवनबाट अर्को उदासिन जीवनमा घिसार्नुमात्रै हुनेछ । यसरी लाँदा, हाम्रो खुसी दिगो होला? यदि म बिरामी भएँ भने, अथवा मरेँ भने, अथवा हामी दुवै एकअर्काप्रति रुष्ट भयौँ भने उनको हालत के हुन्छ ?

उनले पनि त यसै गरी सोचेकी होलिन् । उनले सायद लोग्नेको बारेमा सोचिन्, बच्चाको बारेमा सोचिन्, आमाको बारेमा सोचिन्, जसले उनको लोग्नेलाई छोरोसरह माया गर्थिन् । उनले आफ्नो भावुकताकै पछि लाग्ने हो भने धेरैै झुट बोल्नु पर्नेछ । उनी जुन अवस्थामा थिइन्, त्यहाँबाट साँचो बोलिन् भने त्यो उत्तिकै अकल्पनीय र असहजपूर्ण हुनेछ । उनलाई पनि सायद यही प्रश्नले सताइरहेको थियो कि उनको प्रेमले मलाई थप खुसी बनाउला कि नबनाउला ! स्वयंमा कठिन र धेरैप्रकारका जटिलतामा जेलिएकोे जीवन उनको आगमनले थप जटिल बन्ने त होइन? उनले सायद सोचिन्, उनी मेरो उमेरलाई सुहाउने हदमा जवान थिइनन् र नयाँ जिन्दगी सुरु गर्नका लागि उनीसँग आवश्यक जाँगर र ऊर्जा पनि थिएन । उनी पटकपटक मेरो बिहेका बारेमा उनको लोग्नेसँग कुरा गर्थिन् । भन्थिन्, कुनै ज्ञान र शीलले पूर्ण युवतीसँग मेरो बिहे होस्, जो मेरो लागि एक योग्य गृहिणी र सहयोगी बनोस् । अनि थपि पनि हाल्थिन्, त्यस प्रकारको गुण भएकी केटी त्यस सहरभरिमा पाउन सम्भवै छैन ।

यसैबीच, वर्षहरू पनि बिति नै रहे । अन्ना एलेक्जेभ्नाका दुई सन्तान भए । जब म पुनः लुगानोविचका घर पुग्थेँ, नोकरहरू सौहाद्रपूर्ण मुस्काउँथे । बच्चाहरू अङ्कल पाभेल आउनुभएछ भन्दै खुसी हुन्थे र मेरो गलामा झुण्डिन आइपुग्थे । सबैजना सारै खुसी हुन्थे । मेरो आत्मामा कस्तो ज्वारभाटा उठिरहेछ, उनीहरू कसैलाई थाहै हुँदैनथ्यो, र सोच्थेँ, म पनि उनीहरूजस्तै खुसी छु । सबैजना मलाई एउटा भलाद्मीको रूपमा हेर्थे । वयस्क र बच्चा सबैलाई लाग्थ्यो, एउटा सज्जन आइपुगेको छ उनीहरूको कोठामा । त्यस भावनाले मप्रति उनीहरूले गर्ने व्यवहारमा छुट्टै परिस्कार हुन्थ्यो, मानौँ मेरो उपस्थितिमा उनीहरूको जीवन पनि थप पवित्र र थप सुन्दर हुन पुगेको छ । अन्ना अलेक्जेभ्ना र म सँगै नाटकघर जान्थ्यौँ, सधैँ सँगै हिँड्थ्यौँ । पसलहरूमा नजिकै बस्थ्यौँ, एकको कुमले अर्कालाई छुँदै । अनुमति नै नमागी म उनको हातबाट ओपेरा ग्लास चस्मा फुत्त खोस्थेँ । त्यो बेला लाग्थ्यो, उनी मेरो नजिक छिन्, उनी मेरै हुन् र हामी एकअर्काबिना बाँच्नै सक्दैनौँ । तर एउटा अनौठो असझदारी भनौँ—नाटकघरबाट बाहिर निस्केपछि हामी एकअर्कसँग बिदा हुन्थ्यौँ र अपरिचितहरूजस्तै गरी आआफ्नो बाटो लाग्थ्यौँ । सहरका मान्छे हाम्रो बारेमा केके कुरा गर्न थालिसकेको थिए, त्यो दैव जानोस्, तर त्यसमा रत्तिभर पनि सत्यता थिएन ।

पछिल्ला दिनहरूमा अन्ना अलि बाक्लै गरी आफ्नी आमा अथवा दिदीका घर जान थालिन् । उनी बढी नै लाचार देखिन पनि थालिन् । उनलाई लाग्न थाल्यो, उनको जीवन नष्ट भइसकेको छ, र उनी असन्तुष्ट छिन् । बेलाबेला उनी आफ्नो लोग्ने अथवा बालबच्चालाई हेर्न पनि चाहँदैनथिन् । उनलाई नसाको दुर्बलताको उपचार पनि सुरु गरियो ।

हामी अझै चुप थियौँ । बाहिरका अन्य मान्छेको उपस्थितिमा उनी मप्रति अतीव घृणा पनि प्रदर्शित गर्थिन् । मैले जे भने पनि त्यसको बिरोध गर्थिन्, र म कुनै बहसमा उत्रिएँ भने मेरो विपक्षीको समर्थन गर्थिन् । मैले केही भुलेँ भने, मलाई “बधाई” भनेर उपहास गर्थिन् । नाटकघर जाँदा मैले चस्मा लान बिर्सेँ भनेँ पछि भन्थिन्, “तिमीले बिर्सन्छौ भन्ने मलाई पहिल्यै थाहा थियो ।”

भाग्यले भनौँ या दुर्भाग्यले, हाम्रो जीवनमा त्यस्तो केही पनि छैन, जसको ढिलोचाँडो अन्त्य नहोस् । मेरो यो परिवारसँग बिछोडको समय आयो, किनकि लुगानोविचको कुनै पश्चिमी प्रान्तको अध्यक्षको रूपमा सरुवा भयो । उनीहरूले घरका सरसामान बेचे, घोडा बेचे, बर्खे घरबारी बेचे । उनीहरू आफ्नो बर्खे घरबारी गए र बेचबिखन गरेर सधैँका लागि त्यहाँबाट बाहिरिए । बाहिरिँदै गर्दा अन्तिमपटक रोकिएर आफूले छोड्दैगरेको बगैँचा र हरियो छानो हेरे, सबैका अनुहार उदास उदास देखिए । मैले बुझेँ, मैले बिदा भन्ने बेला आइपुगेको छ – उनीहरूको घरबारीलाई मात्र होइन, अरू पनि केहीलाई, कोहीलाई ।

यो पनि व्यवस्था मिलाइयो कि पश्चिम जानुपूर्व, अगस्तको अन्त्यमा अन्नालाई क्रिमिया पठाइनेछ, जहाँ उनको थप उपचार हुनेछ । त्यसको केही समयपछि लुगानोविच बालबच्चा लिएर सहरको घर छोडी पश्चिमतिर लाग्नेछन् ।

अन्नालाई बिदा गर्न जम्मा भएका हामी थुपैै्र नै भयौँ । उनले आफ्नो श्रीमान र बालबच्चासँग बिदा मागिन् । रेलको तेस्रो घण्टी बज्न एक मिनटमात्रै बाँकी हुँदो हो । उनले बाहिर र्‍याकमै छोडेको एउटा बास्केट दिन म कुदेँ र रेलभित्र पसेँ । मलाई पनि उनीसँग बिदा माग्नु थियो । रेलको डिब्बाभित्र जब हाम्रा आँखा जुधे, हामीलाई बाँधिराखेको संयमको बाँध गल्र्याम्म टुट्यो । मैले उनलाई अँगालोमा बाँधेँ । उनले आफ्नो अनुहार मेरो छातीमा टाँसिन् । उनका आँखाबाट आँसुका धारा छुटे । उनको अनुहार, कुम, तथा आँसुले भिजेका हातभरि चुम्दै मैले भनिदिएँ, “म तिमीलाई माया गर्छु ।” ओह, हामी अहिलेसम्म कति लाचार रहेछौँ! मुुुटुभित्र पोलिरहने एउटा पीडाका साथ मैले बुझेँ, अहिलेसम्म हामीलाई एकअर्काप्रतिको प्रेम अभिव्यक्त गर्नबाट रोक्ने ती तमाम कुरा कति अनावश्यक, कति छुद्र र कति भ्रामक रहेछन् ! मैले बुझेँ, कसैलाई प्रेम गरिरहँदा हामीले यसबारे बिचार गर्ने नै हो भने एउटा उच्चताबाट सुरु गर्नुपर्छ, जो सुख अथवा दुःखभन्दा माथि होस्, जो परम्परित अर्थमा बुझिने गरेको पाप र पुण्यभन्दा पनि माथि होस् । अन्यथा यसबारेमा विचारै गर्नुहुन्न ।

मैले अन्तिमपटक उनलाई चुम्बन गरेँ र उनको हात जोडसँग समातेँ । त्यसपछि हामी सदा सदाका लागि छुट्टियौँ । रेल चालु भइसकेको थियो । म अर्को डिब्बामा गएँ । खाली नै रहेछ । अर्को स्टेशनमा नपुग्दासम्म म त्यहीँ बसेर रोइरहेँ, रोइरहेँ । त्यहाँबाट म सोफिनोतिर लागेँ ।”

००००

अलेहिनले यो कथा भनेर सक्तानसक्तै बाहिर वर्षात् बन्द भयो र घाम लाग्यो । बर्किन र इभान इभानोविच बाहिर बरण्डामा निस्किए । त्यहाँबाट बाहिर बगैँचाको दृश्य अत्यन्तै मनोरम देखियो । मिलको पोखरी अहिले उज्यालो घाममा ऐनाजस्तै टल्किरहेको देखियो । उनीहरूलाई त्यो सारै मोहक लाग्यो । यसैबीच उनीहरूको मन करुणाले पनि भरियो—कि अलेहिनजस्तो एउटा मानिस, जसका आँखा यति करुणापूर्ण र तीक्ष्ण छन्, जसले त्यस्तो मौलिक भावका साथ त्यो कथा भनेको थियो, ऊ आफ्नै खेतबारीमा, कुनै चक्कामा अल्झिएको मलसाँप्रोजस्तो फनफनी घुम्न अभीशप्त किन थियो, विज्ञान अथवा उनको जीवन थप रोमाञ्चकारी बनाउने अन्य कुनै उपक्रममा लाग्नुको सट्टामा? उसले बिदा मागेको बेला, र अन्तिमपटक उनको अनुहार र कुममा चुम्बन गरेको बेला रेलभित्र बसेकी अन्ना अलेक्जेभ्नाको अनुहार कति द्रवित भएको हुँदो हो भनेर पनि उनीहरूले कल्पना गरे । उनीहरू दुवैले अन्नालाई सरहमा भेटेका थिए । बर्किनलाई त लागेको पनि थियो—उनी अत्यन्तै सुन्दर छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment