Comments Add Comment

गुगलका सयौँ कर्मचारीहरु विरोधमा उत्रिए, चीन छिर्ने योजना के होला ?

चीनका लागि सेन्सरयुक्त सर्च इन्जिन सुरु गर्ने गुगलको तयारीको विरोधमा गुगलका सयौँ कर्मचारीहरु उत्रिएका छन् । उनीहरुले गुगलको यस्तो योजनाको विरोधमा खुल्ला पत्र लेखेर सार्वजनिक गरेका हुन् ।

चीनमा सेन्सरयुक्त सर्च इन्जिन सुरु गर्ने परियोजनाले नैतिक प्रश्न उठाएको भन्दै उनीहरुले गुगललाई पारदर्शी बन्न आग्रह गरेका छन् ।

आफ्नो कामका बारेमा नैतिक रुपमा निर्णय लिनका लागि आवश्यक पर्याप्त जानकारी आफुहरुसँग नरहेको उनीहरुले जनाएका छन् ।

तर गुगलले भने यसबारेमा आधिकारिक रुपमा कुने टिप्पणी गरेको छैन ।

चिनिया सरकारको सेन्सरसीप सम्बन्धी कडा कानूनको विरोधमा गुगलले आठ वर्षअघि चीनमा सर्च इन्जिन सेवा बन्द गरेको थियो । उतिबेला चीनमा सरकारी तबरबाटै गुगल ह्याक गरिएको आरोप पनि लागेको थियो ।

तर अघिल्लो महिना सार्वजनिक एक रिपोर्ट अनुसार गुगलले चीनमा सर्च इन्जिन सुरु गर्न गोप्य रुपमा तयारी गरिरहेको छ । गुगलको त्यो सम्भावित सेन्सरयुक्त इन्टरनेट सर्च इन्जिनलाई ड्रागनफ्लाई नाम दिइएको छ ।

समाचार अनुसार गुगलको उक्त चिनिया सर्च इन्जिनले मानव अधिकार तथा धर्मको विषयका सामाग्री तथा वेबसाइटहरु देखाउनेछैन । यद्यपि यो प्रस्तावित सर्च इन्जिनले अहिलेसम्म चिनिया सरकारको स्विकृति पाइनसकेको बताइन्छ ।

गुगलको यस्तो योजनाबाट उसका धेरै कर्मचारीहरु आक्रोसित बनेका छन् । गुगलको यस्तो कदमले वाक् स्वतन्त्रतामाथि पावन्दी लगाउने चिनिया कदमलाई झनै सहयोग पुग्ने उनीहरुको भनाई छ ।

धेरै मिडिया संस्थाहरुसँग समेत शेयर गरिएको उक्त पत्रमा यस्तो योजनाले गुगलको आचार संहिता पनि उल्लंघन हुने दाबी गरिएको छ ।

पत्रमा भनिएको छ, ‘हामीलाई तत्कालै बढी भन्दा बढी पारदर्शिता चाहिन्छ । यस विषयमा छलफलका साथै स्वच्छ तथा खुल्ला प्रक्रियाप्रतिको प्रतिबद्धता आवश्यक छ । हामीले के बनाइरहेका छौँ भन्ने कुराको जानकारीका गुगलका हरेक कर्मचारीले पाउनुपर्दछ ।’

कम्पनीको निर्णयको विरुद्धमा गुगलका कर्मचारीहरु उत्रिएको यो पहिलोपटक भने होइन ।

गत अपि्रलमा गुगलका हजारौँ कर्मचारीले कम्पनीको एक परियोजनाको खुलेर आलोचना गरेका थिए । अमेरिकी मानवरहित विमान अर्थात् ड्रोनका लागि गुगलले आर्टिफिसियल इन्टेलिजेन्सको विकास गरिदिने प्रकारको कार्यक्रमको गुगलका कर्मचारीहरुले सख्त विरोध गरे ।

तत् पश्चात् गुगलले यस परियोजनाका लागि पेन्टागनसँग भएको सम्झौता तोडेको थियो ।

चीन विश्वको सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता भएको देश हो । तर सरकारी बन्देज र सामाग्रीहरुमाथिको कसिलो सेन्सरसीपका कारण गुगलले चीनमा सफलता प्राप्त गर्न सकेको छैन ।

चीनमा अहिले गुगलका तिनवटा कार्यालय छन् । तर गुगलमात्र होइन फेसबुक, टि्वटर तथा इन्स्टाग्राम लगायतका साइटहरु चीनमा प्रतिबन्धित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment