Comments Add Comment

प्रदेश २ बाटै कोलकातासम्म पानीजहाज पुग्छः प्रधानमन्त्री

२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ बाट भारतको कोलकत्तासम्म पानीजहज चलाउने योजना अघि सारेका छन् । प्रदेश २ को प्रदेशसभलाई सम्बोधन गर्दै उनले सप्तरीको हनुमाननगरबाट कोलकाता पुग्ने पानी जहाज चलाउने केन्द्र सरकारको योजना सुनाए ।

‘मैले महासागरमा नेपालको आफ्नै पानीजहाज कुद्छ भनेको छु । अब कोशी, गण्डकी र कर्णलीबाटै समुन्द्रमा पानीजहाज पुर्‍याउने भनेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश २ बाटै कोलकत्तामा पनि पुग्छ ।’

उनले प्रदेश २ भाग्यमानी रहेको पनि बताए । पूर्वपश्चिम रेलमार्ग, पूर्वपश्चिम राजमार्ग, हुलाकी मार्ग प्रदेश २ सँग जोडिएको भन्दै उनले अब पानीको बाटोबाट पनि आवागमन हुने बताए ।

सीमामा भारतले सडकका बाँध बाँध्न नपाउने भन्दै त्यसका कारण नेपाली भूमि डुबानमा पर्ने समस्या हटाउनुपर्ने बताए । त्यसका लागि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुराकानी गरेको त्यसकै आधारमा समस्या समाधान गर्न काम थालिएको बताए ।

उनले वर्षमा गंगामा बग्ने ४० प्रतिशत र हिउँदमा ७० प्रतिशत पानी नेपालको भएको भन्दै नदी नियन्त्रणको काम साझेदारी र परस्परिक हितमा आधारित भएर गर्न भारतलाई आग्रह गरेको बताए ।

उनले अहिले चीन र भारतसँग अत्यन्त सुमधुर सम्बन्ध रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल दुबै देशसँग सहकार्यको वातावरण बनाउन लागेको बताए । प्रदेश २ भूमि, ज्ञान र आध्यात्मको भूमि भएको भन्दै उनले भने, ‘यहाँ असाधारण सम्भावना छ । अत्यन्त उर्बर भूमि छ । सुख्खा र र मरुभूमिकरण हुनबाट जोगाएर सिचाइको प्रवन्ध गर्ने र घट्दो पानीको सहतलाई फेरि माथि ल्याउने काममा जोड दिनुपर्छ’ उनले भने, ‘कृषिको आधुनिकीकरण गर्ने काम पनि सँगै लानुपर्छ ।’

एक टोकरी फूल अमेरिका र आँप अमेरिका, रसिया, जापान, मंगोलिया लगायतका देशमा निर्यात गर्न सकिने उनले बताए । भारतमा सिमेन्टको माग बढी रहेको भन्दै उनले ढुंगाबाटै कमाइन सकिने दाबी गरे ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारले स्पष्ट योजना बनाएर दिए सहयोग गर्न संघीय सरकार तयार रहेको बताए । ‘कतिपयले उडाउने हिसावले कुरा गरिररहेका छन् । पूर्वपश्चिम रेल किन चाहियो भन्छन् । साँझ विहान र छाक र रातका कुरा मात्रै गर्दा देश कसरी बन्छ ?’ उनले भने,’ १९ वर्षदेखि चर्चामा मात्रै रहेको हुलाकी राजमार्ग मैले बनाउन तीव्रता दिएका हुँ । पूर्वपश्चिम रेल बनाउन जोड मैले दिएको हुँ । उत्तरदक्षिण रेलमार्ग बनाउन भारतसँग कुरा भएको छ । वीरगञ्ज-काठमाडौं रेल मार्गका लागि मोदीजीसँग कुरा गरेर काम थालेका छौं । त्यो भएपछि यहाँको उत्पादन काठमाडौं पुर्‍याउन र काठमाडौंको यहाँ ल्याउन पनि सजिलो हुन्छ ।’

केरुङ काठमाडौं रेलमार्गमार्फत चीनसँग जोड्ने काम सुरु भएको भन्दै रेलमा के पठाउने भनेर चिन्ता गर्नुपर्ने बताए । ‘हाम्रो हिमाली क्षेत्रका पानी ट्यांकरका ट्यांकर पठाउन सम्भव छ । हिमालमा मिनरल नै मिनरल वाटर छ’ प्रधानमन्त्री ओलीले भने, ‘लेक लाग्दा तीब्वतमा रातो झोल खाएँ, के रहेछ यो भनेर बुझ्दा गुराँसको झोल रहेछ । हाम्रो डाँडाहरुमा ३६ प्रकारका गुराँस फुल्छन् । तर, हामी त दाउरा काटेरै सक्न लाग्यौं । अब सम्भावनालाई चिन्नुपर्छ ।’

उनले ५ वर्षभित्रै हुलाकी राजमार्ग पनि बनिसक्ने प्रदेशसभालाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment