+
+

रवीन्द्र अधिकारको प्रश्न : काम अड्काएर मन्त्रीले सकेन भन्दै हिँड्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते २:००


३ साउन, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वर्षको अन्तिममा योजना पुरा गर्न सकिएन भनेर रकमान्तरका गर्ने आयोजना र निकायलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्रालयमा भएको वाषिर्क समीक्षा कार्यक्रममा मन्त्री अधिकारीले पुरातन शैलीले काम नगर्न र सच्चिन आफू मातहतका प्राधिकरण, संस्थान र आयोजनाहरु तथा मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए ।

‘नियतबस नै हुने काम पनि नगरीकनै बसिरहने अनि अन्तिममा गर्न सकिएन भनेर फाइल बोकेर मन्त्रालयमा आउने जोकसैलाई पनि कारवाही हुन्छ,’ मन्त्री अधिकारीले भने,’हिजोको जस्तो मन्त्री फेरिरहने र नयाँ मन्त्री आएपछि एउटा-एउटा कुरा भनेर कामहरु अड्काएर राख्ने दिन अब छैन ।’

उनले मनत्रालय मातहतका सबै निकायको कामको आफूले निगरानी गरिरहेको भन्दै सचेत भएर दृढताका साथ दिइएका जिम्मेवारी पुरा गर्न कर्मचारीहरुलाई भने ।

‘मैले एक-एक हेरिरहेको छु । काम गनुअघि समस्या के-के आउँछन् भनेर पहिल्यै पहिचान गर्नुस् । पछि यो भएन हजुर, अर्थको अड्कायो, कानुनमा अडि्कयो, के-के भनेर वर्षको अन्तिममा यता नधाउनुस्,’ मन्त्री अधिकारीले कर्मचारीसँग भने,’बनेका योजना कार्यान्वयनमा ढिलासुस्ती गर्ने छुट तपाइँहरु कसैलाई छैन ।’

उनले केही कर्मचारी कार्यालय समय सकनासाथ मन्त्रालयकै विरुद्ध लाग्ने विभिन्न व्यक्तिहरुलाई होटलमा भेट्दै हिँडेको सूचना आफूसँग रहेको भन्दै अधिकारीले त्यसो नगर्न सचेत गराए ।

‘हुने काम पनि रोकेर राख्दा मात्रै रातमा मज्जाले निदाउन सक्ने साथीहरु पनि यहाँ हुनुहुन्छ । हेक्का राख्नुस्, यो काम गर्न आएको सरकार हो,’ अधिकारीले भने,’आफैं काम रोकेर देखिस् मन्त्रीले काम गर्नै सकेनन् नि भन्दै नहिँडनुस् ।’

मन्त्री अधिकारीले एक वर्षभित्र भैरहवामा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकेर सञ्चालनमा ल्याइसक्ने बताए । यस्तै एक वर्षभित्रै त्रिभुवन विमानस्थलको रन-वे पुनस्र्थापनाको काम पनि सक्ने दावी मन्त्री अधिकारीले गरे ।

उनले रानीपोखरी निर्माणका सम्बन्धमा विवाद भइरहे मन्त्रालयले नै हस्तक्षेप गर्ने बताए । काठमाडौं महानगरपालिकाले अलपत्र छाडिदिएपछि रानीपोखरी निर्माण कसले गर्ने भन्ने अन्योल छ ।

सेनालाई दिन सहमति भएपनि पुनर्निर्माण प्राधिकरणका सीईओमा सुशिल ज्ञावाली आएपछि फेरि महानगरपालिकामार्फत नै निर्माण अघि बढाउन तयारी भएको छ ।

मन्त्री अधिकारीले नरायणहिटीको श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला गर्न, पर्यटकको तथ्यांक आधुनिक प्रणालीमार्फत राख्न, पशुपति क्षेत्रलाई व्यवस्थित गर्न, प्रज्ञा प्रतिष्ठानको सभाहल छिटो सञ्चालनमा ल्याउन पनि निर्देशन दिए ।

उनले पर्यटन मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरबका आयोजनाको काम तीव्र पार्न र मुआब्जा लगायतका समस्या छिटो समाधान गर्न पनि अधिकारीहरुको ध्यानाकर्षण गरे ।

समीक्षामा पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले सेवा प्रवाहमा चुस्त ढंगले काम गर्न र परिणाम निकल्न कर्मचारीलाई भने ।

‘म कहाँ एउटा पनि फाइल पेन्डिङमा छैनन् । मन्त्रीज्युले पनि फाइल अड्काएर राख्नुभएको छैन । तपाइँहरु पनि काम त्यसैगरी गर्नुस्,’ सचिव देवकोटाले भने,’कार्यशैली सुधारेमात्रै सफल हुन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?