Comments Add Comment

ठूलो आवाज निकाल्ने मोटरसाइकल कुदाउन नपाइने

४ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिकले ती मोटरसाइकलहरुमा कडाइ गरिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्त ठूलो आवाज निकाल्ने सवारीका कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेकाले नियन्त्रण गर्न लागिएको बताउँछन् ।

‘त्यस्ता मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ, असशक्त एवं बिरामीहरु तर्सिने गरेका छन् । कतिपय अचानक ढल्ने पनि गरेका छन्’, पन्तले अनलाइनखबरसँग भने, ‘त्यस्ता बाइकहरु ओभर स्पीडमा कुदाइने गरिएको छ । ठूलो आवाजमा बाइक आउँदा के रहेछ भनेर हेर्दा समेत दुर्घटना हुने गरेको देखिन्छ ।’

पन्तका अनुसार अहिले दैनिक ४० देखि ५० वटा मोटरसाइकल दैनिक कारबाहीमा पर्ने गरेका छन् ।

‘त्यसरी समातिएकाहरु मध्ये कम्पनीबाटै ठूलो आवाजमा आउनेलाई चलाउन रोक लगाएका छौं’, पन्तले थपे, ‘कतिपय मोडिफाइ गरेर ठूलो आवाज निस्किने बनाइएका छन् । उनीहरुलाई पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाडेका छौं ।’

त्यसरी समातिएकाहरुलाई जरिवाना स्वरुप १ हजार रुपैयाँ समेत लिने गरिएको छ ।

प्रहरीको निगरानीमा परेका मोटरसाइकल

ट्राफिक प्रहरीका अनुसार कतिपय मोटरसाइकल कम्पनीबाट आउँदै ठूलो आवाज निस्किने डिजाइनमा बनेका हुन्छन् । ती मोटरसाइकलहरु ‘रेसिङ’ र पहाडी क्षेत्रमा कुदाउनका लागि बनेका हुन् । यद्यपि, उपत्यकामा त्यस्ता मोटरसाइकलहरु कुदाइने गरिएको छ ।

ट्राफिक महाशाखाका अनुसार त्यसरी ठूला आवाज निकाल्ने मोटरसाइकलमा डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायत छन् ।

‘ती मोटरसाइकलहरु कतिपय ३ सय ५० सीसी, कपितय ८ सय त कतिपय ६ सय सीसीका छन्’, महाशाखाका एक अधिकारीले भने ।

स्रोतका अनुसार महाशाखाले त्यसरी अस्वभाविक आवाज निकाल्ने मोटसाइकललाई उपत्यकामा सञ्चालनका लागि अनुमति नदिन यातायात व्यवस्था विभागलाई पत्रचार समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment