Comments Add Comment

धितोपत्र विनियमावली पारित, धमाधम सेयर सूचीकरण गर्दै नेप्से


६ भदौं, काठमाडौं । ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ तथा ‘धितोपत्र कारोवार संचालन विनियमावली, २०७५’ पारित भएको छ ।

विनियमावली पारित नहुँदा करोडौं कित्ता सेयर सूचीकृत हुन सकेको थिएन । विनियमावली पारित भएसँगै बुधबार ९ कम्पनीहरुको सेयर सुचिकृत भएको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

पुरानो विनियमावली खारेज भएको र नयाँ पारित हुन नसक्दा नयाँ आर्थिक वर्ष लागेदेखि नै नेप्सेले सेयर सूचीकृत गरेको थिएन ।

बुधबार एकै दिन सिद्दार्थ बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैंक, एनएमबि बैंक लगायतको कुल ४ करोड ४१ लाख भन्दा बढी कित्ता सेयर सूचीकरण भएको नेप्सेका सीईओ साउदले बताए ।

जस अनुसार हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । एनएमबि बैंकले पूँजी वृद्धिका लागि निस्काशन गरेको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ पनि सूचीकृत भएको छ ।

यसैगरी सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५६४ कित्ता बोनस सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ ।

कणर्ाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार ५ सय कित्ता, कावली विकास बैंकको ९ लाख १२ हजार ९ सय १२ कित्ता, मिर्मिरे लघुवित्तको १ लाख ३८ हजार ६ सय कित्ता, सूर्योदय लघुवित्तको ७६ हजार कित्ता, हाम्रो विकास बैंकको ३ लाख ३४ हजार ८ सय ८८ र भार्गव विकास बैंकको २१ लाख १२ हजार २ सय कित्ता सेयर बुधबार सूचीकृत भएको छ ।

अन्य कम्पनीको आईपीओ सूचीकरण भोलिसम्म

सूचीकरण हुन बाँकी रहेका अन्य कम्पनीहरुको पनि बिहीबारसम्म सूचीकरण हुने नेप्सेका सीईओ साउद बताउँछन् । ‘१ महिनाभन्दा बढी समयदेखि सूचीकरण रोकिएको थियो’ सीईओ साउदले भने, ‘आजै कम्पनीको पनि सूचीकरण गर्ने तयारी छ, आज नभएर भोलि हुन्छ ।’

नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सेयर पनि आजै सूचीकरण गर्ने तयारीमा रहेको उनले बताए । सूचीकरणका लागि थोरै मात्रै प्रक्रिया बाँकी रहेको भन्दै समय भए बुधबारै नत्र बिहीबारसम्म सूचीकरण हुने उनले जानकारी दिए ।

नाडेपले चार लाख ८० हजार कित्ता अर्थात ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment