+
+

बिमस्टेक बैठक : हिन्दु नेता पशुपतितिर, बौद्ध नेताहरु लुम्बिनी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ८ गते १६:५७

८ भदौ, काठमाडौं । आगामी भदौ १४ र १५ मा काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)कोे चौथो शिखर सम्मेलनमा भाग लिने नेताहरुले तीर्थाटनसमेत गर्ने भएका छन् ।

बिमस्टेकको शिखर सम्मेलनका काठमाडौं आउन लागेका हिन्दु नेताले पशुपतिको भ्रमण गर्ने छन् भने बौद्ध धर्म मान्ने नेताहरु तीर्थाटनका लागि लुम्बिनी जाने भएका छन् ।

श्रीलंकाका राष्ट्रपति मैथ्रीपाल सिरीसेना र म्यान्मारका राष्ट्रपति विन मिन्टवीच काठमाडौंमा द्वीपक्षीय भेटवार्ता तय भएको छ । साथै उनीहरु दुबैजनाले लुम्बिनीको भ्रमणसमेत गर्नेछन् ।

त्यसैगरी हिन्दु नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच १६ भदौमा द्वीपक्षीय वार्ता हुनेछ । वार्तापछि भारतको सहयोगमा पशुपति क्षेत्रमा निर्मित धर्मशाला उद्घाटन तथा हस्तान्तरण कार्यक्रम तय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

द्विपक्षीय भेटवार्तामा नेपाल र भारतबीच रक्सौल-काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरको तयारी भइरहेको उनले बताए ।

म्यानमारका राष्ट्रपति १२ गते नै आउने

सम्मेलनमा भाग लिन श्रीलंकाका राष्ट्रपति सिरीसेना र भूटानका चिफ एडभाइजर दसो छिरिङ वाङचुक १३ भदौमा काठमाडौं आउनेछन् । म्यान्मारका राष्ट्रपति मिन्ट भने १२ भदौमै काठमाडौं आइपुग्नेछन् ।

भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन अर्थात भदौ १४ मा काठमाडौं आउनेछन् ।

नेपाल सरकारसँग क्षेत्रीय एवं अन्तरराष्ट्रिय सम्मेलन एवं भेटघाट गर्ने कक्षहरुको अभाव छ । नयाँ बानेश्वरको सम्मेलन केन्द्रमा संसद बैठक बस्ने गरेको छ । राष्ट्रिय सभागृह पनि असुरक्षित रहेको बताउँदै निजी होटल सोल्टीमा बिमस्टेक बैठक आयोजना गर्न लागिएको छ ।
सम्मेलनमा आउने विदेशी पाहुनाहरु सोल्टी, हायत लगायतका होटलमा बस्ने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेक क्षेत्रका राष्ट्र प्रमुखको सम्मानमा आयोजना गर्ने दिवाभोज सकिएपछि होटल सोल्टीमा भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् ।

सोही दिन प्रधानमन्त्री ओलीले होटल हयातमा पाहुनाहरुको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार १५ भदौमा ‘रिट्रिट’ सकिएपछि विभिन्न दस्तावेजमा हस्ताक्षर हुनेछ ।

पाहुनालाई रिटि्रट कहाँ गराउने भन्ने सरकारले स्थान तय गर्न सकेको छैन । यसअघि सार्क सम्मेलनमा आएका पाहुनालाई धुलिखेलमा लगेर हिमाल देखाइएको थियो ।

शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ भन्ने मूल नारा रहेको सम्मेलनले कनेक्टिभिटी, गरिबी निवारण, अन्तरक्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?