Comments Add Comment

बिमस्टेक सम्मेलनमा तामझाम धेरै, एजेण्डा थोरै

१४ भदौ, काठमाडौं । बिहीबारदेखि काठमाडौंमा शुरु हुने प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा प्रस्तुत हुने एजेण्डाहरु तय भएका छन् । बिमस्टेक राष्ट्रहरूबीच उर्जा व्यापार सहज बनाउन गर्न लागिएको विद्युत प्रसारण लाईन (ग्रीड इन्टरकनेक्सन्स) को एमओयुमा हुने हस्ताक्षरलाई सम्मेलनको सबैभन्दा महत्वपूर्ण विषयको रुपमा हेरिएको छ ।

विमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि ‘ग्रीड कनेक्टिभिटी सम्झौता’ मा हस्ताक्षर हुने निश्चित भएको हो । समझदारीपछि दक्षिण पूर्वीएशियाली देश म्यान्मार र थाइल्याण्डसम्म विद्युत बिक्रीको पहुँच विस्तार हुनेछ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले बिमस्टेकको काठमाडौं घोषणापत्र पनि तयार पारेको छ । ज्ञवालीका अनुसार सदस्य राष्ट्रहरूबीच कनेक्टिभिटी, गरिबी निवारण, अन्तरक्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ भन्ने मूलनारा रहेको यो सम्मेलनलाई नयाँ सम्झौता गर्ने भन्दा पनि कार्यान्वयनमा जोड दिइएको परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन् । बाहिर तामझाम देखिए जति नेपालले फाइदा लिन नसकेको भने उनी स्वीकार्छन् ।

सन् २००४ मा भुटानसँगै बिमस्टेकमा प्रवेश गरेको नेपालले आफ्नो प्राथमिकता र चासो निर्धारण गर्न नसकेको परराष्ट्र मामलाका जानकारहरू बताउँछन् ।

विश्वका २२ प्रतिशत जनसंख्या बस्ने बिमस्टेक मूलतः आर्थिक सहयोग संगठन हो । कुल ग्राहस्थ उत्पादन दुई खर्ब ७० अर्ब डलर रहेको बिमस्टेक क्षेत्रको औषत आर्थिक बृद्धिदर ६.५ प्रतिशत छ । पछिल्लो केही वर्षयता यो क्षेत्रको आर्थिक बृद्धि दर विश्वमै तीव्र मानिन्छ । तर, यसबाट लाभ लिने गरी नेपालले तयारी गर्न सकेको छैन ।

हस्ताक्षर सजिलो, कार्यान्वयन गाह्रो

काठमाडौंस्थित होटल सोल्टीमा मन्त्रिस्तरीय बैठकमा उदघाटन मन्तव्य राख्ने क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले (बिमस्टेक) लाई प्रतिवद्धताबाट कार्यान्वयन चरणमा लैजानुपर्नेमा जोड दिएका थिए । बिमस्टेकलाई परिणाममुखी बनाउनुपर्ने उनको धारणा थियो ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा भएका सम्झौता दुई दशक बितिसक्दा पनि प्रभावकारी कार्यान्वयनमा आउन नसकेको सातवटै देशका मन्त्रीहरूले बैठकमा स्वीकार गरेका थिए ।

सन् २००९ मा हस्ताक्षर भएको अन्तराष्ट्रिय आतंकवाद, सीमावार सांगठनिक अपराध र अवैध ओसारपसार सम्बन्धी बिमस्टेक सन्धि केही सदस्य देशले अझै अनुमोदन गरेको छैन । २०१४ देखि बिमस्टेकको अध्यक्षता गरेको नेपालले पनि ४ भदौमा आएर बल्ल प्रतिनिधिसभाबाट यो सन्धि अनुमोदन गरेको छ । परराष्ट्रका एक अधिकारीका अनुसार सम्मेलन हुने निश्चित भएपछि मात्रै संसद्बाट हतार हतार सन्धि अनुमोदन गरिएको हो ।

कतिपय आलोचकहरूका अनुसार भूराजनीतिक प्रतिकुलताका कारण बिमस्टेक सम्झौता कार्यान्वयनमा नआएको हो

मन्त्रिस्तरीय बैठकमा बिमस्टेक सचिवालयका महासचिव साहिदुल इस्लामले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा राखेको धारणाले पनि कार्यान्वयन पक्ष कमजोर रहेको देखाउँछ ।

महासचिव इस्लामले बिमस्टेकको संस्थागत संरचनामा जोड दिनुपर्ने, सचिवालयको क्षमता विस्तार गर्नुपर्ने, सदस्य देशहरूले एक अर्कासँग भएको सूचना हस्तान्तरण गर्नुपर्नेमा बताएका थिए ।

बिमस्टेक स्थापनाको १७ वर्षपछि बंगलादेशमा स्थापना भएको सचिवालयलाई सदस्य देशहरूलाई सम्झौता कार्यान्वयन गर्न सक्ने गरी क्षमता विकास गर्नुपर्नेमा १९ औं सचिवस्तरीय बैठकको जोड थियो । सम्झौता कार्यान्वयनका लागि बलियो संयन्त्र र बजेट अभाव, नेतृत्व संकट, अन्तरदेशीय समन्वय र राजनीतिक इच्छाशक्तिको अभाव देखिएको जानकारहरू बताउँछन् ।

यो पनि पढ्नुहोस्-  बिमस्टेकका नेताको प्रोफाइलः शेख हसिना सबैकी दिदी !

बिमस्टेकको शिखर सम्मेलन २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारले आयोजना गरेको थियो । पाँचौं सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।

कतिपय आलोचकहरूका अनुसार भूराजनीतिक प्रतिकुलताका कारण बिमस्टेक सम्झौता कार्यान्वयनमा नआएको हो । उनीहरूका भनाईमा भारतले यसलाई पाकिस्तान बाहेकको दक्षिण एसियाली देशहरूको संगठनको रुपमा मात्रै लिएको छ । महाशक्ति राष्ट्र अमेरिका र महाशक्ति बन्ने दौडमा रहेको चीनले पनि कुनै न कुनै रुपमा बिमस्टेकलाई प्रभाव पार्न चाहेको परराष्ट्र मामिलाका जानकार बताउँछन् ।

यो पनि पढ्नुहोस्

बिमस्टेकका पाहुनाः अधिनायकवादका ‘कोरियोग्राफर’

बिमस्टेकको अर्थतन्त्रः नेपाल उल्टोबाट दोस्रो ! 

विज्ञको शंका– यसको हालत पनि सार्कजस्तै हुन्छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment