Comments Add Comment

विमस्टेकमाथि विज्ञको शंका– यसको हालत पनि सार्कजस्तै हुन्छ

१२ भदौ, काठमाडौं । आसन्न बिमस्टेक सम्मेलन मार्फत नेपालले आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्न सक्नेमा परराष्ट्र मामिलाका विज्ञहरुले आशंका ब्यक्त गरेका छन् । यसप्रकारका सम्मेलन र उच्चस्तरीय बैठक अघि गर्नुपर्ने जति तयारी नगर्ने गरेका कारण अपेक्षाकृत लाभ हासिल नहुने गरेको उनीहरुको विश्लेषण छ ।

बिमस्टेक सम्मेलनबाट नेपालले के कस्तो लाभ लिन सक्ला भन्ने जिज्ञाशामा त्रिभुवन विश्वविधालय राजनीतिकशास्त्रका प्राध्यापक तथा पूर्व राजदूत विजयकान्त लाल कर्णले भने, ‘नेपालले ‘ओकेजनल पोलिसी’ (जहिले जे आयो त्यही गर्ने नीति ) बनाउने गर्छ । यस्ता फोरमहरुको बारेमा निश्चित धारणा बनाउने नै गरेको छैन । अनि कसरी लिन सक्छ लाभ ?’

‘नेपालले धेरै क्षेत्रीय र उप-क्षेत्रीय संगठनहरुमा हात हालेको छ, यो आफैमा राम्रो कुरा हो । तर, तर त्यसबाट लाभ लिन सक्नेगरी नेपालले कुनै तयारी गरेको चाहिँ देखिँदैन । कुन मञ्चमा के कुरा लिएर जाने भन्ने नै निर्क्यौल नगरी यस्ता सम्मेलन आयोजना गर्नु र संगठनहरुको सदस्य बनेर बस्नुको उपादेयता रहँदैन ।’ उनको प्रश्न छ ।

‘बिमस्टेक हाम्रा लागि धेरै राम्रो मञ्च हो, यसलाई कसरी आˆनो हितमा प्रयोग गर्ने भन्ने सही योजना बनाउने हो भने । तर, न द्वीपक्षीय, न त क्षेत्रीय हिसाबले काम गर्ने संयन्त्र तयार छन्, अनि के अर्थ हुन्छ यस्ता संगठनको सदस्य बनेको ?’

क्षेत्रीय संगठनहरुमा नेपालको सक्रियताको औचित्यमाथि नै कर्ण प्रश्न उठाउँछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका प्रमुख डा. खड्ग केसी पनि नेपालले बिमस्टेकबाट ठूलै लाभ लिन सक्नेमा शंका व्यक्त गर्छन् । उनका अनुसार ‘नेपालले अघिसारेको कनेक्टिभिटीको विषय सही छ र बिमस्टेकको महत्व पनि यसैमा छ । तर, कतै यो संगठनलाई भारतले रणनैतिक गठबन्धनको रुपमा त उपयोग गर्ने होइन भन्ने प्रश्न उठिसकेको सन्दर्भमा नेपालले यसलाई चिर्न सक्छ वा सक्दैन भन्ने कुराले नै सबैकुरा निर्धारण गर्छ ।’

त्यसो त नेपालले ‘माउन्टेन इकोनोमी’ भन्ने नयाँ विषय यसपल्ट यो मञ्चमा प्रवेश गराउँदै छ । जलविद्युतसँग सम्बन्धित यो विषय उर्जाको व्यापार र विद्युत प्रसारण लाईनसँग जोडिएको कुरा हो । यसलाई दर्बिलोसँग उठान गर्न सक्ने हो भने र कार्यान्वयनको तहसम्म लान सक्ने हो भने निकट भविष्यमा नै नेपालले उत्पादन गर्ने जलबिधुतको लागि क्षेत्रीयस्तरमा बजार खुल्न सक्छ ।

सन् २००४ मा पहिलो पटक सम्मेलनमा भाग लिँदा नै नेपालले ‘बुद्धिष्ट सर्किट’को अवधारणा प्रस्तुत गरेको थियो । तर, त्यसले आजसम्म पनि कुनै निश्चित आकार ग्रहण गर्न सकेको छैन ।

नेपालले प्राथमिकतामा राखेको कनेक्टिभिटीको बिषयमा भने केही ठोस उपलब्धि हासिल हुन सक्ने सम्भावना भने केसीले देखेका छन् । ‘पाकिस्तान र चीन नभएको यो मञ्चमा भारत केही जिम्मेवार भएर पेश भयो भने कनेक्टिभिटिमा महत्वपूर्ण काम हुन सक्छ । भारतले बिमस्टेकको सबैभन्दा प्रभावशाली राष्ट्रकारुपमा आˆनो उपस्थिति देखाउने मौका पनि हो यो ।’ केसीको भनाइ छ ।

नेपालले लिनसक्ने लाभको कुरा मात्र नभएर स्वयं बिमस्टेक सम्मेलन नै सफल होला त भन्ने बिषयमा समेत डा. केसीमा आशंका देखिन्छ । यसले आˆनै बडापत्र कस्तो बनाउने हो त्यसले बिमस्टेकको भविष्य निर्धारण गर्ने उनको ठम्याइ रहेको छ । केसी भन्छन्, ‘द्वीपक्षीय कुरा उठाउन नपाउने भन्ने राखियो भने यसको पनि हालत सार्कको जस्तै हुन्छ । यसका प्रमुख दुई राष्ट्र भारत र थाइल्यान्ड कत्तिको उदार भएर पेश हुन्छन् सबैकुरा त्यसमा भर पर्छ ।’

अर्का परराष्ट्रविद तथा पूर्वराजदुत हिरण्यलाल श्रेष्ठ पनि नेपालले बिमस्टेकबाट ठूलो उपलब्धि लिनसक्नेमा आश्वस्त छैनन् । उनी नेपालले भारतको चाहना अनुरुप दक्षिण मात्र र्फकन नहुने धारणा राख्छन् । र, नेपालले भारतले भने झैँ नगर्ने हो भने बिमस्टेकबाट पनि धेरै लाभ लिनसक्ने वातावरण बन्नेमा विश्वास नरहेको बताउँछन् । ‘भारतले सम्झौता गर्ने तर कार्यन्वयन नगर्ने गरेका धेरै उदाहरण छन् । नेपालका लागि जलमार्ग खोल्ने र नेपाली विद्युत बंगलादेशसम्म निर्वाध पुग्न दिने काम भारतले गरेमात्र फाइदा भो भन्न सक्ने अवस्था आउँछ ।’ श्रेष्ठको विश्लेषण छ ।

साझा सांस्कृतिक महत्वका आधारमा नेपालले अघि सारेको बुद्धिष्ट सर्किटलाई पूरा गर्न पाकिस्तानलाई छुटाउन नमिल्ने धारणा श्रेष्ठको रहेको छ । उनी भन्छन्- ‘बुद्धको पहिलो मूर्ति बनेको गान्धरलाई छोडेर त्यो सर्किट पूरा हुँदैन । यता भारत कुनै पनि बाहानामा पाकिस्तानलाई बिमस्टेकमा जोड्न चाहँदैन । यसोहुँदा नेपालले सन् २००४ मा राखेको प्रस्ताब नै अझै अलपत्र छ भने थप के आशा गर्ने ।’ तर, यदि भारतले नेपाल हुँदै चीन पनि बंगालको खाडीसम्म पुग्ने कुरामा आपत्ति नजनाउने हो भने नेपालले प्रयाप्त लाभ लिन सक्नेमा उनी विश्वस्त देखिन्छन् ।

पूर्व राजदुत तथा परराष्ट्र सम्बन्धका विश्लेषक अजय शर्मा बिमस्टेकलाई भारतले सार्कलाई कमजोर पार्ने अस्त्रका रुपमा अघि सारेको संगठनको रुपमा ब्याख्या गर्छन् । ‘यो सार्कको भूमिका कमजोर पार्न र पाकिस्तानलाई क्षेत्रीय रुपमा अलग्याउन भारतले महत्व दिएको संगठन हो’ शर्माभन्छन् ‘यसमा भारतले क्षेत्रीय सहयोग र पारस्परिक विकास भन्दा कालान्तरमा सैनिक गठबन्धनलाई आफ्नो अभिष्टका रुपमा राखेको गन्ध आउन थालेको छ । नेपालले अहिले नै ठोस लाभ लिने अवस्था पनि देखिँदैन ।’

भारतको भूमिका र स्वार्थले नै बिमस्टेकले सदस्य राष्ट्रहरुलाई पुर्‍याउने लाभ र हानी निर्धारण गर्ने हुनाले भारतीय स्वार्थ के हो भन्ने पहिले बुझ्नुपर्ने शर्मा बताउँछन् ।

विज्ञ र विश्लेषकहरुले जे जस्तो आँकलन गरे पनि नेपालले पहिलोपटक आयोजना गर्न लागेको बिमस्टेक सम्मेलनले नेपालका लागि नयाँ क्षितिज खोल्ने अपेक्षा गरिएको छ । विशेषगरी उर्जाको ब्यापार र बंगालको खाडीसम्मको सहज पहुँचलाई यसले सुनिश्चित गर्न सक्यो भने ठूलै उपलब्धि भएको मान्नुपर्ने हुन्छ ।

तिब्रगतिको आर्थिक बृदि हासिल गर्दै गरेका पूर्वी एशियाली मुलुकसम्म नेपाललाई जोड्न यो संगठन सहयोगी बन्नसक्नेमा दुईमत छैन । तर, यस्ता उप-क्षेत्रीय संगठनहरुलाई कसरी आˆनो हितमा अधिकतम प्रयोग गर्ने भन्ने ठोस योजनाविहीनता नेपालको प्रमुख समस्या रहेको चाहीँ सबैले स्वीकार्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment