Comments Add Comment

बिमस्टेकको अर्थतन्त्रः नेपाल उल्टोबाट दोस्रो !

१३ भदौ, काठमाडौं । बिमस्टेक सदस्य राष्ट्रमध्ये अर्थतन्त्रका हिसाबले नेपालको स्थान कहाँ होला ? नेपाल उल्टोबाट दोस्रो, अर्थात सुल्टोबाट छैठौं स्थानमा देखिएको छ । अर्थतन्त्रको आकारमा सातौं स्थानमा रहेको भूटान प्रतिव्यक्ति आयको हिसाबमा भने नेपालभन्दा अगाडि छ ।

बिमस्टेकका ७ राष्ट्रहरुमध्ये अर्थतन्त्र र जनसंख्या दुवैको आकारमा भारत पहिलो स्थानमा छ । एक अर्ब ३० करोड जनसंख्या रहेको भारतको कुल ग्राहस्थ उत्पादन २३ सय अर्ब अमेरिकी डलर छ ।

बिमस्टेक राष्ट्रमध्ये अर्थतन्त्रको आकारमा थाइल्याण्ड दोस्रो स्थानमा छ । करिब ७ करोड जनसंख्या रहेको थाइल्याण्डको कुल ग्राहस्थ उत्पादन चार सय अर्ब डलर छ ।

बिमस्टेक राष्ट्रहरुमा जनसंख्याका आधारमा दोस्रो स्थानमा रहे पनि अर्थतन्त्रको आकारमा बंगलादेश तेस्रो स्थानमा छ । १६ करोडभन्दा बढी जनसंख्या रहेको बंगलादेशको कुल ग्राहस्थ उत्पादन २०५ अर्ब डलर छ ।

त्यस्तै अर्थतन्त्रको आकारमा श्रीलंका चौथो स्थानमा छ । दुई करोड हाराहारी जनसंख्या भएको श्रीलंकाको कुल ग्राहस्थ उत्पादन ८० अर्ब अमेरिकी डलर छ ।

अर्थतन्त्रको आकारमा म्यानमार पाँचौं स्थानमा छ । पाँच करोडभन्दा धेरै जनसंख्या रहेको म्यानमारको कुल ग्राहस्थ उत्पादन ६८ अर्ब अमेरिकी डलर छ ।

बिमस्टेक राष्ट्रहरुमध्ये अर्थतन्त्रको आकारमा नेपाल छैठौं स्थानमा छ । दुई करोड ८० लाखभन्दा धेरै जनसंख्या रहेको नेपालको कुल ग्राहस्थ उत्पादन २७ अर्ब अमेरिकी डलर छ ।

बिमस्टेक सदस्य राष्ट्रहरुमध्ये जनसंख्या र अर्थतन्त्र दुवैको आकार सानो भुटान हो । करीब ८ लाख मात्रै जनसंख्या रहेको भुटानको कुल ग्राहस्थ उत्पादन २.२ अर्ब अमेरिकी डलर रहेको छ । यद्यपि प्रतिव्यक्ति आम्दानीको हिसाबमा भने भूटान नेपालभन्दा धेरै माथि छ ।

बिमस्टेकबारे यो पनि थाहा पाइराखौं

बंगालको खाडी छेउमा रहेका दक्षिण एसियाली र दक्षिणपूर्वी एसियाली ७ देशहरु सम्मिलित बिमस्टेकको स्थापना सन् १९९७ जुन ६ मा भएको हो । यस संगठनमा सम्मिलित देशहरुमा विश्वका २१ प्रतिशत जनसंख्या अर्थात डेढ अर्बभन्दा धेरै मानिसको बसोबास रहेको छ ।

बिमस्टेकको पूरा रुप ‘बे अफ बंगाल इनिसिएटिभ फर मल्टी सेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेसन’ हो । नेपालीमा यसलाई बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यको लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) भनिन्छ ।

सुरुवातमा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड गरी ४ वटा देशहरु मात्रै यसका सदस्य थिए । सन् १९९७ जून ६ मा थाइल्याण्डको राजधानी बैंककमा स्थापना गरिँदा यसको नाम बिस्टेक थियो ।

त्यतिखेर चारवटै देशको नामको पहिलो अक्षर मिलाएर छोटकरीमा बिस्टेक अर्थात ‘बंगलादेश, इन्डिया, श्रीलंका एण्ड थाइल्याण्ड इकोनोमिक कोअपरेसन’ नाम राखिएको थियो ।

सोही वर्षको डिसेम्बरमा म्यानमार पनि संगठनको पूर्ण सदस्य बनेपछि संगठनको नाम ‘बंगलादेश, इन्डिया, म्यानमार, श्रीलंका एण्ड थाइल्याण्ड इकोनोमिक कोअपरेसन’ (बिमस्टेक) राखियो । नेपाल सन् १९९८ मा संगठनको पर्यवेक्षक बन्यो ।

पछि सन् २००४ को फेब्रुअरीमा नेपाल र भूटान पनि संगठनको पूर्ण सदस्यका रुपमा थपिए । नेपाल र भुटान थपिइसकेपछि सन् २००४ जुलाई ३१ मा भएको पहिलो शिखर सम्मेलनमा संगठनको नाम फेरेर ‘बे अफ बंगाल इनिसियएटिभ फर मल्टी सेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेसन’ राखियो । तर, छोटकरी नाम भने बिमस्टेक नै रहृयो ।

बंगलादेशको ढाकामा मुख्यालय रहेको बिमस्टेकले प्राविधिक र आर्थिक सहकार्यका लागि १४ वटा मुख्य उद्देश्य लिएको छ । व्यापार, प्रविधि, कृषि, यातायात, सञ्चार, पूर्वाधार, पर्यटन, कृषि माछापालन, मानव संशाधन आदि क्षेत्रमा सहकार्य गर्ने बिमस्टेकको उद्देश्य छ ।

यस संगठनले १४ वटा प्राथमिकताको क्षेत्र पहिचान गरेर प्रत्येक क्षेत्रको नेतृत्व एउटा देशले गर्ने गरी कार्यक्रम तर्जुमा गरेको छ । नेपालको भागमा गरिबी निवारण रहेकाले यो क्षेत्रको गरिबी निवारणका लागि नेपालले नेतृत्व गर्छ ।

भारतले यातायात र सञ्चार, पर्यटन, प्रतिआतंकवाद र अन्दरदेशीय अपराधका साथै वातावरण र विपद व्यवस्थापन गरी ४ वटा क्षेत्रको नेतृत्व गर्छ ।

थाइल्याण्डले जन स्वास्थ्य, माछापालन र नागरिक सम्बन्धसमेत गरी ३ वटा क्षेत्रको नेतृत्व गर्छ ।

बंगलादेशले व्यापार र लगानी, जलवायु परिवर्तनसमेत गरी दुईवटा क्षेत्रको नेतृत्व गर्छ भने उर्जा र कृषि क्षेत्रको नेतृत्व म्यानमारले गर्छ । श्रीलंकाले प्रविधि र भुटानले सांस्कृतिक सहकार्यको नेतृत्व गर्छन् ।

अहिलेसम्म बिमस्टेकको बडापत्रसमेत बनेको छैन । बिमस्टेक सदस्य राष्ट्रहरुबीच स्वतन्त्र व्यापारका लागि सम्झौता भइसके पनि कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा निक्र्योल भइसकेको छैन । उक्त सम्झौता सन् २००४ मै भएको थियो । पटक-पटकको छलफलपछि पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । सम्झौताको कार्यान्वयन हुन नसक्दा बिमस्टेक सदस्य देशहरुले क्षेत्रीय व्यापार बढाएर आपसी लाभ लिन सकेका छैनन् ।

यसैवीच बिमस्टेकको अध्यक्ष राष्ट्रका प्रमुख समेत रहेका नेपालका प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको २० वर्षको इतिहास खासै उपलब्धिमूलक नदेखिएको भन्दै अब विगतको पाराले नभई यसलाई गतिशील बनाउनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment