Comments Add Comment

शेख हसिनाले सम्झेको चार दशक पुरानो त्यो नरसंहार

१४ भदौ, काठमाडौं । बिहीबार शुरु भएको प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको पहिलो दिन सोल्टी होटलमा ७ वटै देशका राष्ट्र प्रमुख/सरकार प्रमुखहरूले मन्तव्य राख्ने कार्यक्रम थियो ।

सम्मेलनको अध्यक्षता गरिरहेको देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि देशहरूको वर्णानुक्रम अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले मन्तव्य दिइन् ।

७० वषर्ीय हसिनाले मन्तव्यको शुरुमै आफ्नो परिवारसँग जोडिएको चार दशक पुरानो नरसंहारको संस्मरण गरिन् । त्यो संहार बंगलादेशको राष्ट्रपिता शेख मुजीबर रहमानसँग जोडिएको छ । जहाँ हसिनाका १८ जना पारिवारिक सदस्यले ज्यान गुमाएका थिए ।

शेख हसिना बंगालादेशको प्रथम राष्ट्रपति शेख मुजीबर रहमानकी छोरी हुन् । सन् १९२० मा जन्मेका रहमानले राजनीतिको शुरुवात १९४० मा अल इन्डिया मुस्लिम स्टुडेन्ट्स फेडरेसनबाट शुरु गरेका थिए । सन् १९४७ मा भारत विभाजित भएर पाकिस्तान बनेपछि उनी इस्ट पाकिस्तान मुस्लिम लिग हुँदै पाकिस्तान अवामी लिगमा आवद्ध भएका थिए ।

सन् १९७० को निर्वाचनमा रहमानले नेतृत्व गरेको अवामी लिगले पूर्वी पाकिस्तानको नेसनल एसेम्बलीमा १६९ मध्ये १६७ स्थानमा जित हासिल गर्‍यो । पाकिस्तान सरकारले यो निर्वाचन परिणाम स्वीकार्न नमानेपछि ढाकालगायतका पूर्वी पाकिस्तान क्षेत्रमा दंगा भडि्कयो ।
दंगा फैलिँदै जाँदा १९७१ मा रहमान नेतृत्वको अवामी लिगले छुट्टै देशको घोषणा गरे । जसको नाम राखियो, बंगलादेश ।

यसैवीच १७ अप्रील १९७१ मा बंगलादेशको राष्ट्रपति बनेका रहमान १२ जनवरी १९७२ मा प्रधानमन्त्रीमा निर्वाचित भए । २५ जनवरी १९७५ मा बंगलादेश कृषक श्रमिक अवामी लिगबाट राष्ट्रपतिमा रहमान पुनः निर्वाचित भए ।

१५ अगस्ट १९७५ को एक बिहान ढाकास्थित राष्ट्रपति निवासमा एक हुल विद्रोही सैनिकहरु प्रवेश गरे । उनीहरूले रहमानसहित उनको परिवारका १८ सदस्यको निर्मम हत्या गरे ।

रहमानका पाँच सन्तान मध्ये वर्तमान प्रधानमन्त्री शेख हसिना र शेख रेहना मात्रै बाँचे । उनीहरू दुईजना पश्चिम जर्मनीको भ्रमणमा रहेकाले कत्लेआम हुनबाट जोगिएका थिए ।

बाँचेका शेख हसिना र रेहनालाई स्वदेश र्फकन दिइएन । उनीहरू १९८१ सम्म भारतको नयाँ दिल्लीमा शरण लिएर बसे । त्यसपछि स्वदेश फर्किएर शेख हसिनाले राजनीति शुरु गरिन् । र, उनी पटक-पटक सरकारको नेतृत्वमा पुगिन् ।

प्रधानमन्त्री हसिनाले विहीबार बिमस्टेकको बैठकमा सम्वोधन गर्ने क्रममा यही त्रासदीपूर्ण घटना सुनाइन् ।

एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment