+
+

भारतले थिचेको बिमस्टेकः नेपालको ब्यापार घाटा सबैसँग

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १५ गते १६:०८

१५ भदौ, काठमाडौं । काठमाडौंमा बिमस्टेकको शिखर सम्मेलन चलिरहेको छ । यो शिखर सम्मेलनमा स्वतन्त्र ब्यापार सम्झौताको सञ्चालन प्रक्रियाको मानक बनाउने विषयले प्रवेश नै पाएन । विज्ञहरुका अनुसार यस विषयलाई ओझेलमा छाडिँदा सबैभन्दा बढी घाटा नेपाललाई नै छ । किनभने नेपालको सबै बिमस्टेक राष्ट्रसँग ब्यापार घाटा छ ।

अन्य राष्ट्रको अन्तर्राष्ट्रिय ब्यापारमा यस्तो ‘बिजोग’ अवस्था छैन । गत आर्थिक वर्षमा मात्रै नेपालले बिमस्टेक सदस्य राष्ट्रहरुबाट मात्रै ७ खर्ब ६४ अर्बको ब्यापार घाटा बेहोर्‍यो । यो नेपालको कुल ब्यापार घाटाको ६७ प्रतिशतभन्दा बढी हो । अर्थात् नेपालले मुख्य ब्यापार घाटा यिनै देशहरुसँग बेहोरेको छ । नेपालले गत वर्ष ११ खर्ब ६७ खर्बको ब्यापार घाटा भोगेको थियो ।

बिमस्टेकको अध्यक्ष र आयोजकका हिसाबले नेपालले ब्यापारघाटा न्यूनीकरण गर्दै सबै देशको आर्थिक लाभका लागि ब्यापार सहजीकरण गर्ने विषयमा छलफल गराउन सक्थ्यो । तर, विषय ‘नोगोसियसन’ नटुंगिएको भन्दै अन्य देशले चासो देखाएनन् । नेपाल पनि यो एजेण्डामा जोडबलका साथ लागेन ।

भारत र पाकिस्ताको शीतयुद्धका कारण सार्क असफलताको दिशामा अघि बढिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिमस्टेकलाई नै प्रयोग गर्नुपर्ने संकेत गरिसकेका छन् । तर, त्यसका लागि सरकारले पृष्ठभूमि तयार गर्न भने सकेन ।

सार्कस्तरमा भएका ब्यापार सम्झौताहरु अलपत्र परिरँहदा बिमस्टेक सदस्य राष्ट्रबीचको स्वतन्त्र ब्यापार सम्झौतालाई टुंगोमा पुर्‍याएर कार्यान्वयनमा लैजान योपटक पनि नेपाल चुकेको अर्थविदहरु बताउँछन् ।

अन्य देशले नेपालले जस्तो ठूलो ब्यापार घाटा बेहोरिरहेका छैनन् । त्यसैले अन्य देशले यसलाई उति प्राथमिकता नदिएको अवस्थामा नेपाल पनि यो साझा मञ्चबाट सम्झौता कार्यान्यवनमा अन्य देशलाई घच्घचाउन असफल भएको छ ।

गत आर्थिक वर्ष ०७४/७५ मा बिमस्टेक राष्ट्रहरु भारत, थाईल्याण्ड, बंगलादेश, म्यान्मार, भुटान र श्रीलंकाबाट नेपालले ८ खर्ब ३४ अर्बको वस्तु आयात गरेको थियो । तर, एक वर्षको सोही अवधिमा नेपालले यिनै देशमा जम्मा ४७ अर्ब ८० करोड मात्रै समान बेच्न सक्यो ।

नेपालले विदेशमा निकासी गर्न पारवहन, क्वारेन्टाइन, भन्सार दर लगायतका धेरै समस्या छन् । ती समस्या समाधानमा लागि बिमस्टेेकको साझा मञ्च प्रयोग गर्न सकिने अवस्था रहेको अर्थ विद् अच्युत वाग्ले बताउँछन् ।

‘एउटा देशले जारी गर्ने उत्पादनको प्रमाणपत्रलाई सबै देशले स्वीकाकर्ने, क्वारेन्टाइन र स्वच्छताको जाँचका लागि ल्याब बनाएर सबै देशले त्यसलाई मान्ने, कृषि तथा खाद्यवस्तुमा क्षेत्रीय स्तरको गुणस्तर मापदण्ड तोकेर अघि बढ्ने लगायतमा मुद्दालाई बिमस्टेकमा ल्याइएको भएर त्यसले सबै देशलाई लाभ प्राप्त हुन्थ्यो,’ वाग्ले भन्छन्,’सबै देशले आफ्नो उत्पादन क्षमता बढाउने अठोटका साथ उत्पादनहरुलाई प्रतिस्पर्धी र तुलनात्मक लाभका लागि अन्तर्राष्ट्रिय बजाारमा सहज पहुँचका लागि छलफल हुनुपर्ने हो ।’

अहिले नेपालको सबैभन्दा ठूलो नेपाल ब्यापार घाटा नेपालको भारतसँग नै छ । भारतसँग नेपालले वाषिर्क ७ खर्ब ६४ अर्बको ब्यापार घाटा बेहोरिरहेको छ । नेपालले भारतमा ४६ अर्ब ६० करोडको समान निर्यात गरेर ८ खर्ब १० करोडको समान भित्र्याउँदैछ ।

भारतमा निर्यात वस्तुहरु अलैँची, अदुवा, चिया लगायतमा पटक-पटक अवरोध आइरहन्छ । नेपालले साझा मञ्चको प्रयोग गर्द यस्ता मुद्दा सम्बोधनका लागि आग्रह गर्न सक्थ्यो । तर, त्यसो गरिएन ।

‘बिमस्टेक त अर्धमृत जस्तै छ । यो मञ्च ब्यपार विविधिकरणका लागि प्रयोग गर्न सकन्छ । विश्व ब्यापार संगठन -डब्लुटीओ)का कतिपय अप्ठेरा प्रावधानलाई यस्ता क्षेत्रीय संगठनले क्रस गरेर काम गर्न सक्छ,’ अर्थविद् वाग्ले भन्छन्,’ विभिन्न सुविधा लिन-दिन सकिने भएकाले यसलाई उपयोग गर्न सकिने गरी काम हुनुपर्छ ।’

बिमस्टेक राष्ट्रमध्ये थाइल्याण्ड नेपाललको उच्च ब्यापार घाटा हुने दोस्रो मुलुक हो । थाइल्याण्डबाट नेपालले १३ अर्ब १३ करोडको आयात गरेर ३ करोडको समान मात्रै त्यता पठाउँदैछ । नेपालको ब्यापार घाटा थाइल्याण्डसाग १३ अर्ब १० करोडभन्दा माथि छ ।

म्यान्मारसँग पनि उस्तै हालत छ । ऊसँग ब्यापार घाटा मात्रै ४ अर्ब ११ करोडको छ । आयात ११ अर्ब ११ करोडको छ भने ९ लाखको मात्रै निर्यात भएको छ ।
बंगलादेशसँगको व्यापार घाटा उछालिँदै गइरहेको छ । चार वर्षअघि एक अर्ब ६४ करोड रहेको घाटा ३ अर्ब ७० करोडको ब्यापारमा पुगिसकेको छ । बंगलादेशबाट ४ अर्ब ७९ करोडको सामान भित्र्याइरहेको नेपालले त्यतापट्टी १ अर्ब ८ करोडको समानमात्रै पठाउन सकेको छ ।

भुटानसँगको नेपालको ब्यापारको पक्ष झनै रोचक छ । नेपालले वर्षमा १ अर्ब ६३ करोडको समान भुटानबाट ल्याउँछ, । तर, मुस्किलले ७ करोडको समान मात्रै नेपालबाट भुटान जान्छ । भुटानसँग मात्रै नेपालको ब्यापार घाटा १ अर्ब ५६ करोड छ ।


श्रीलंकासँगको ब्यापार पनि घाटामै चलिरहेको छ । ३० करोड ९६ लाखको समान नेपालबाट श्रीलंका गएको छ भने ८९ लाखको समान मात्रै नेपालबाट त्यहाँ पुगेको छ ।
बिमस्टेेका सबै देशसँग नेपालको ब्यापार घाटा लगातार बढिरहेको छ । ब्यापार घाटा बढ्दै गर्दा त्यसले अर्थतन्त्रलाई समस्यामा पार्ने विज्ञहरुले लामो समयदेखि नै औंल्याइरहेका छन् । यस्तो अवस्थामा पनि ब्यापार सहजीकरणका लागि सामूहिक प्रयास थालिनुपर्ने विषय बिमस्टेकमा जोडदार रुपमा उठेन ।

पारवाहन र गैरभन्सार अवरोध हटाउने अनि अन्तरदेशीय व्यापार प्रवर्द्धनमा देखिएका चुनौती समाधान गर्ने मामिलामा बिमस्टेक पूर्ण रुपमा कमजोर देखिएको छ ।
सार्कमा जस्तै बिमस्टेकको केन्द्रमा ठूलो अर्थतन्त्र भएको मुलुक भारत नै छ । उसले नचाहेसम्म यो क्षेत्रको ब्यापार सहजीकरण गर्न सम्भव नहुने वाणिज्य अधिकारीहरु पनि स्वीकार्छन् ।

‘भारतलाई त्यसका लागि तयार गर्न बिमस्टेभित्रकै अन्य मुलुकको ऐक्यवद्धतासहितको आवाज आवश्यक हुन्थ्यो । तर, प्रायः सबै देशहरु राजनीतिक संक्रमणमा फसेकाले पनि गहन आर्थिक मुद्दाहरु त्यसै ओझेलमा परेका छन्,’ वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीले अधिकारी भने, ‘बिमस्टेकका सबै सदस्य राष्ट्रमा भारतीय कम्पनीका उत्पादनहरुको ‘राज्य’ नै छ ।

बिमस्टेक मुलुकहरु पनि भारतको मुख्य अन्तर्राष्ट्रिय बजार हुन् । त्यसैकारण भारत थप ब्यापार सुविधा दिन खासै तयार छैन । हामी बल लगाउन पनि सक्दैनौं ‘
नेपाली मात्रै हैन, अन्य देशका वस्तुले भारतीय वस्तुसँग प्रतिस्पर्धा गर्न पनि नसक्ने अवस्था बनिरहेको छ । यस्तो अवस्थामा बिमस्टेक जस्ता फोरमहरु ब्यापारिक मुद्दामा छलफल गर्न चुक्नु अस्वभाविक नहुने विज्ञको भनाइ छ ।

‘ठूला अर्थतन्त्र भएका मुलुकले अन्य वरपरका साना मुलुकहरुलाई सधैं हेप्ने गर्छन् । यो बुझेर सरकार अब बहिर्मुखी भन्दा अन्तरमुखी भएर उत्पादन बढाउन अर्थपूर्ण प्रयासमा जुट्नुपर्छ,’ अर्थविद् वाग्ले भन्छन्, ‘सरकारले गफमात्रै लगाएर उत्पादन बढ्दैन । यसका लागि वातावरण पनि तयार गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?