+
+

शान्तदास मानन्धरः एक ८५ वर्षे बालक !

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १६ गते १०:४५

मदन पुरस्कार गुठीले जगदम्बाश्री सम्मान घोषणा गरेको भोलिपल्ट । काठमाडौंको छाउनीस्थित घरमै बालचित्र बनाएर बसिरहेका शान्तदास मानन्धर केही लेखक–पत्रकार घरमा आउने सूचना पाएपछि कुची र कलमलाई एकातिर थन्क्याएर कोठा सफा गर्दै रहेछन् । सामान्य गन्जी र हलुका पाइजामा लगाएर बाटोसम्म लिन आएका मानन्धरले बडो हँसमुख र ठट्यौलो पारामा भने, ‘आफ्नो काम आफै गर्नुपर्छ भनेर कोठा सफा गरेको ।’ त्यसपछि उनी यसरी हाँसे, उनको हँसाइमा निश्छलता बाहेक केही देखिँदैनथ्यो ।

लामो समय मानिसले जस्तो चिन्तन गर्छ, त्यो मानिस त्यही बन्छ भन्ने आहान शान्तदासलाई भेट्दा सजिलै महसुस हुन्छ । उनी कुरागर्दा बच्चा जस्तै हाँसेर, थोरै अप्ठ्यारो तर सरल भाषामा कुरा गर्छन् । आफूले गरेको स–सानो कामलाई पनि महत्व दिएर सुनाउँछन्, चाहे एउटा बालचित्र बनाएको कुरा नै किन नहोस् । वरपर बालपत्रिका, कुची, रंग र बालसाहित्यका सामग्री छरिएका छन् । एउटा बच्चा, आफूलाई मनपर्ने सामग्री जसरी जतनका साथ तर यतउता छरेर राख्छ, त्यो भन्दा कम छैन मानन्धरको कोठा ।

उनका कोठामा भेटिन्छन्, संसारका सबैजसो प्रसिद्ध बालसाहित्य, संसारका सबैजसो बालसाहित्यकार र आफूले लेखेका–सम्पादन गरेका पुस्तक र पत्रपत्रिका । आफूले बनाएका चित्रलाई कम्युटरमा स्क्यानिङ् गरेर इमेल पनि गर्नसक्ने भएका छन् । आफूले कम्युटर चलाउन सिकेका कुरा उनी दोहोर्‍यएर सुनाउँछन् र भन्छन्, ‘निगालाको टुप्पोमा पकाएको मसी चोबेर अक्षर फुटाउन सिकेको थिएँ, अहिले पनि त्यही अक्षर चलाउन सिक्दै छु, कम्प्युटरमा । म पनि बालक नै हुँ, जो आजपर्यन्त त्यही अक्षर सिकिरहेको छु ।’

त्योबेला नेपालमा बालबाहित्यका उनी एक्ला बादशाह थिए । बालसामग्री आवश्यकता पर्नेबित्तिकै सरकारी कार्यालय, गैरसरकारी संस्थाहरू उनकै भर पर्दथ्यो

गएको साता उनी ८५ वर्ष लागे । १५ वर्षदेखि लेख्न थालेका उनी आफ्नो लेखनको ७० वर्षे दौड पूरा गर्दै छन् । यस बीचमा उनले ५० वटा जति बालसाहित्यका पुस्तक लेखे । रुम रु रिड नामक संस्थाले सल्लाहकार सम्पादक बनाएयता उनको हातबाट १ सय ५० पुस्तकको सम्पादन भएका छन् । उनले प्रकाशन सुरु गरेको ‘बालकोसेली’ नामक पत्रिका बीच बीचमा केही समयका लागि आर्थिक अभावले बन्द भए पनि ४० बर्षदेखि निस्किरहेको छ । उनको संसार भन्नु नै मस्तिष्कका लागि बालसामग्री नै हुन्, जसले उनलाई हृष्टपुष्ट बँचाइरहेको छ । जब जब रोगले च्याप्छ, एउटा बाल सामग्रीको जन्म हुन थाल्छ । त्यो तयार पार्ने क्रममा उनको रोग हराइसक्छ ।

‘मेरा लागि औषधि भन्नु नै यिनै बाल सामग्री हुन् । जब रोगले च्याप्छ, राम्रा सामग्री पढ्न नपाएका कलिला साथीहरू सम्झन्छु । उहाँहरूका लागि सामग्री तयार पार्दा रोग निको भइसक्छ ।’ उनी अपत्यारिलो सत्य सुनाउँछन्, ‘उहाँहरूको चिन्ता लाग्छ ।’

उनी बालबालिकालाई तपाईं सम्बोधन गर्छन् तर उमेर बढ्दै गएका मानिसलाई चाहिँ ‘तिमी’ भन्छन् ।

‘खासमा मानिस उल्टो काम गर्छ । सानालाई सम्मान गर्नुपर्छ र ठूलालाई माया गर्नुपर्छ ।’ मानन्धर भन्छन्, ‘जसले यो देश सम्हाल्छ, उसलाई तिमी र मजस्ता बुढाखाडालाई चाहिँ तपाईं रे ।’ उनीबाट पुनः बालहाँसो फुस्कन्छ ।

०००

शान्तदास काठमाडौंका रैथाने नेवार हुन् । तीन बहिनीका एक्ला दाजु शान्तलाई अनौठो रूपमा पढ्ने वातावरण जुर्‍याे । अनौठो यसकारण कि त्यो बेला कसैले पढ्नु भनेकै अचम्मको कुरा थियो । काठमाडौंमा कसले पढेको छ भनेर हातमै औंलामा गन्न सकिन्थ्यो । उनका बुबा असनका व्यापारी थिए । व्यापारी भएका नाताले सामान्य हिसाव–किताब राख्न सक्ने थिए । तर नेवारी बाहेक अरू भाषाको ज्ञान नहुँदा परिवारलाई बाहिरबाट सामग्री ल्याउन गाह«ो हुन्थ्यो । यही समस्या देखाएर शान्तदासका बुबाले राणाको अनुमति लिएर उनले आफ्नो छोरालाई जुद्धोदय हाइस्कुलमा भर्ना गरिदिएका थिए । त्यो बेला बच्चालाई ‘हिन्दुस्तानबाट झिकाइएका शिक्षकबाट पढाइन्थ्यो । केही नेपाली शिक्षक पनि कलकत्ताबाट पढेर फर्केका थिए । शिक्षकलाई जागीरेका रूपमा भन्दा पनि समाजसेवीका रूपमा लिइन्थ्यो ।

‘जब अक्षरसँग मितेरी लाग्न थाल्यो, यस्तै अक्षर लेख्न सक्ने बन्न मन लाग्यो । त्यस्तै १५ वर्षपछि जानी नजानी कविता गर्न थालेँ ।’ शान्तदासले आफ्नो पुरानो स्मृति अनलाइन खवरसँग खोल्दै भनेँ, ‘तर ती कविता कस्ता हुन्थे होलान् ? मानन्धर पुनः फुस्केका दाँत देखाएर मज्जाले हाँसेर भने, ‘अहिले त लेख्न जान्दिन, त्यो बेला कस्तो लेखियो होला ।

२००५ सालको कुरा हो, मछिन्द्रबहालमा एउटा पुस्तकालय भएको कुरा सुनेका थिए तर हेर्न पाएका थिएनन् । एक दिन डराइ डराई उनी त्यो पुस्तकालयमा छिरे । एकै साथ सयौं पुस्तक देख्दा उनलाई भोको मान्छेलाई भान्सामा छाडिदिएको महसुस भएछ । त्यो दिनदेखि उनी बिहान पुस्तकालय खुलेदेखि बन्द नहुन्जेलसम्म त्यही बसेर पुस्तक पढ्न थाले । उनी अंग्रेजी र हिन्दी पढ्न सक्दैनथे । भएका नेपाली पुस्तक पढिसक्न उनलाई एक वर्ष लागेछ । त्यो बेलासम्म भानुभक्तको रामायणदेखि गोविन्द मल्ल ‘गोठाले’ सम्मका गरी नेपाली भाषामा जम्माजम्मी दुई–चार सय मात्र पुस्तक छापिएका थिए । त्यो सानो उमेरमै नेपाली भाषामा छापिएका सबै पुस्तक पढिसक्ने उनी पहिलो किशोर बन्न पुगे । त्यसले उनलाई नेपाली भाषामा परिपक्व मात्र बनाएन, लेख्ने कला पनि सिकायो ।

०००

एसएलसी पास गरेपछि उनलाई टोलमै नयाँ विद्यालय पढाउने निम्तो आयो । प्रजातन्त्रपछि जताततै विद्यालय खुल्दै थियो र त्यसका लागि धमाधम नेपाली भाषामा पाठ्यपुस्तक लेखिदै थियो । लेखनाथ पौडेल नेपाली विद्यार्थीका लागि नैतिक शिक्षा भएको पुस्तक लेख्नुपर्छ भन्ने कुरामा जोड दिन्थे । लक्ष्मीप्रसाद देबकोटा केही क्रान्तिकारी थिए । उनी विद्यार्थीलाई प्राकृतिक कुरा सिकाउनु पर्छ भन्ने कुरामा जोड दिन्थे । यही बेला देवकोटाले भिखारी, यात्री, कोपिलाजस्ता कविता लेखेर विद्यालयको पाठ्यक्रममा राखेका थिए । एउटा शिक्षक भएर ती सामग्री पठाउँदा शान्तदासलाई चित्त बुझ्दैनथ्यो । बालबालिकाको रुचि एकातिर, कविहरूका सामग्री अर्कोतिर ।

बलबालिकाका बीचमा रहेका शान्तदासले उनीहरूको रुचिका सामग्री पूरा गर्न कथा, कविता र निबन्ध लेख्न थाले । ती लेख्दै गर्दा उनलाई ती बालबाहित्यको विधा पर्छ भन्ने समेत थाहा थिएन । तर उनका सामग्री बालबालिकाले मन पराउन थाले । त्यसपछि उनले ‘बालकोसेली’ पत्रिकाको प्रकाशन गर्न थाले । पत्रिका झनै लोकप्रिय भयो । त्यसपछि उनीसँग ठूला ठूला साहित्यकारसँग उठबस हुन थाल्यो र उनीहरूले विश्वप्रसिद्ध बालसाहित्यसँग परिचित गराइदिए । त्यसपछि त के थियो, उनले बालबाहित्यलाई नै आफ्नो जीवनको अभीष्ट बनाए । बालपत्रिकाका लागि बालबालिकासँगै बस्ने, उनीहरूबाट बिषय लिने, कतिपय सामग्री उनीबाट लिने, कतिपय सामग्री आफू लेख्ने । धेरैजसो आफ्नै पत्रिकामा छाप्ने, बढी भएका सामग्रीलाई पुस्तकमा निकाल्ने गर्न थाले । यसरी २०२९ सालसम्म शिक्षक रहँदा उनले बालबाहित्यमा लगातार काम गरे ।

त्योबेला नेपालमा बालबाहित्यका उनी एक्ला बादशाह थिए । बालसामग्री आवश्यकता पर्नेबित्तिकै सरकारी कार्यालय, गैरसरकारी संस्थाहरू उनकै भर पर्दथ्यो ।

शिक्षण पेसाबाट अवकास लिएपछि उनको बालसाहित्य लेखन कम भयो । तर साहित्य छाडेनन् । उनले नेपाल–चीन मैत्री संघमा उनी लाइब्रेरियन भएर दोस्रो जागीर सुरु गरे । त्यो जागीरमा छँदा उनले चर्चित चिनियाँ कवि, लेखक लु सुनका चारवटा पुस्तक अनुवाद गरे । नेपाली साहित्यमा लु सुन भित्र्याउने उनी पहिलो लेखक हुन् । त्यसपछि उनी एक महिना चिनियाँ अतिथि भएर चीनको भ्रमण गरे । उताबाट चिनियाँ बाल साहित्य मात्रै होइन, चिनिया शैलीका बाल कथालाई नेपालमा भित्र्याए । उनको ‘पानीको कथा’ चिनिया बालसाहित्य शैलीमा लेखिएको चर्चित पुस्तक हो । त्यसमा चीनले पानीबाट कसरी पानी निकालिरहेको छ भन्ने कुराको कथात्मक विवरण छ ।

लु सुन बाहेक उनले चीनको चर्चित उपन्यास ‘ओयानहाइको गीत’ लाई पनि नेपालीमा अनुवाद गरेका छन् ।

बाल बाहित्यमै लागेर डेनमार्क र अमेरिका पुगेका शान्तदास मानन्धर अमेरिकी नागरिक जोड उडका प्रशंसक हुन् । जोन उडले माइक्रोसफ्ट कम्पनीको जागीर छाडेर नेपालमा बाल साहित्यलाई पुर्‍याएको योगदान उनका लागि निकै ठूलो कुरा लाग्छ । जोन उडका असल मित्र भएर उनले ‘रुम टु रिड’मा तीन वर्ष सल्लाहकार सम्पादक भएर काम गरे ।

‘काम गर्ने रहर त थियो तर बुढेसकाल भएकाले सकिन ।’ मानन्धर भन्छन्, ‘जोन उडले गरेको काममा सहयोग गर्न अझै मन लागिरहेको छ ।’

०००

मदन पुरस्कार स्थापना भएको ६१ वर्षपछि आफूलाई सम्झेकामा उनलाई अनौठो लागेको रहेछ । ‘बालबालिकाका लागि त सुरुमा सम्झनु पर्ने होइन र ?’ उनले मनमा बिझेको कुरा सुनाए, ‘पहिले बालबालिकाले राम्रो पौष्टिक तत्व पाए पो उमेरदारले राम्रो काम गर्न सक्छ ? नेपालमा बालसाहित्यलाई हेर्ने दृष्टिकोण कस्तो छ यसबाट पनि थाहा हुन्छ ।’

यद्यपि नेपालमा बालसाहित्य फस्टाएर गएकोमा उनी गद्गद् रहेछन् । धेरै लेखक जन्मिएका, बाल साहित्यलाई गुणस्तर कायम गर्न खोज्ने लेखक पनि निकै भएकोमा उनको खुसी छछल्किएको देखिन्थ्यो । तैपनि अझै मैले खोजेजस्तो कथाहरू जन्मन सकेको छैन । उनी भन्छन्, ‘एउटा राम्रो बाल कथा सुनेर मर्ने इच्छा छ । यही कारण पनि म अहिले पनि आफू पनि लेख्छु र अरूलाई पनि लेख्न लगाउँछु ।’

०००

दुई लाख रुपैंयाको जगदम्बाश्री सम्मान पाएका शान्तदासलाई हिँड्नुअघि हामीले सोध्यौं, ‘दुई लाख रुपैंया के गर्नुहुन्छ ?’

उनले मुस्कुराउँदै भने, ‘पहिले कसैसँग लाख रुपैंया हुनु भनेको निकै ठूलो कुरा हुन्थ्यो । हजारपतिलाई नै धनाढ्य भनिन्थ्यो । लखपतिको कुरा त के भनौं र । मानिसहरू उसलाई हेर्न आउँथे । अहिले त एउटा पुरकार नै लाखको । धेरै ठूला कुरा । मैले ३ सय ५० रुपैैयाँको जागीर खाँदा हातमा लाख रुपैंया पर्ने कुरा कल्पना गर्नसम्म सक्तिनथिएँ ।’

हामीले पुनः त्यही प्रश्न सोधेपछि उनले उही मुस्कानसाथ थपे, ‘मैले बालबालिका बाहेक केही जानिनँ । त्यही बाल कोसेली अलि बढी छाप्छु र अलि धेरै विद्यालयमा पुर्‍याउँछु । उहाँहरूले राम्रो कुरा पढ्न पाउनुभएको छैन । किनभने पाठ्यपुस्तकका सामग्री पढेर कसैलार्इं पनि साहित्यको तृप्ति हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?