Comments Add Comment

सिनियर टिममा बालगोपालको पहिलो परीक्षा

१७ भदौ, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल नजिकिदै गर्दा नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जन दबावमा छन् । उमेर समुहमा नेपाललाई दिलाएको सफलता राष्ट्रिय टिममा विस्तार गर्ने चुनौती उनीमाथि छ ।

अहिले नेपालको राष्ट्रिय टिममा रहेका स्टार खेलाडीहरुलाई उमेर समूहमा बालगोपालले प्रशिक्षण दिएका थिए । यू-१४ देखि नै सँगै रहेका खेलाडीहरू यतिबेला सिनियर टिमका मुख्य खेलाडीका रुपमा छन् । त्यसैले साफ च्याम्पियनसिपमा बालगोपालले युवा टिममा देखाएको लय दोहोर्‍याउने आशा गरिएको छ ।

अहिले सिनियर टिमका प्रमुख खेलाडीको रुपमा विमल घर्तिमगर, अनन्त तामाङ, अन्जन विष्ट, हेमन्त थापामगर, सुनिल बल लगायत छन् । उनीहरुलाई यहाँसम्म ल्याउन बालगोपालको भूमिका महत्वपूर्ण छ । त्यसैले उनीहरु मैदानमा उत्रदा गुरु बालगोपाल मैदानको छेउमा गर्विलो छाति फुलाइरहेका हुनेछन् ।

बालगोपालको ट्र्याक रेकर्ड

बालगोपालले सन् २०१२ मा एन्फामा आबद्ध रहँदा उमेर समूहको जिम्मेवारी पाएका थिए । यू-१४ देखि यू-२३ सम्मको टिम सम्हालेका उनले आफूलाई अब्बल सावित गरे ।

२०१६ सम्म एन्फामा आवद्ध भएका उनले नेपालका लागि उत्कृष्ट खेलाडीहरू उत्पादन गरे । बालगोपाल भन्छन्, ‘मैले एन्फामा बसेर ५ वर्ष काम गर्दा खेलाडीहरूको नियमित अभ्यास, लगनशीलता, अनुशासन, म्याच एक्सपोजर हरेक कुराहरुमा ध्यान दिएँ । त्यसैको परिणामस्वरुप राम्रो नतिजा आइरहेको हो जस्तो लाग्छ ।’

बालगोपालले सुरुमा यू-१४ टिम सम्हालेका थिए । त्यसपछि यू-१६ को जिम्मेवारी दिइयो । यू-१६ टिमको जिम्मेवारी पाएसँगै उनले खेलाडीलाई झनै निखार्दै लगे । काठमाडौंमा सम्पन्न यू-१६ साफ च्याम्पियनसीपमा नेपालले फाइनलसम्मको यात्रा गर्‍यो । एएफसी यू-१६ को दोस्रो चरणसम्म नेपाल पुग्यो ।

युवा खेलाडी विस्तारै निखारिँदै गर्दा प्रशिक्षकका रुपमा बालगोपाल पनि माझिँदै गए । त्यहि यू-१६ को टिममा भएका अधिकांश खेलाडीलाई लिएर उनले यू-१९ साफ च्याम्पियनसीपमा प्रतिस्पर्धा गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सन् २०१५ मा सम्पन्न प्रतियोगिताले सिंगो नेपाललाई खुसी दियो ।

त्यसबेला झण्डै २३ वर्षपछि नेपाली फुटबलले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । प्रशिक्षकको रुपमा सबैभन्दा बढि जस पाए बालगोपालले । त्यतिबेलासम्म उनले प्रशिक्षण गरेका तीन जना युवा खेलाडी विमल, अनन्त र अन्जनले नेपालको सिनियर टिममा स्थान बनाइसकेका थिए ।

युवा टिममा आकाश थापा, शिव सुवेदी, अनिल गुरूङ, सुदन थापा, सोजित गुरूङ, तेज तामाङ, कमल श्रेष्ठ, गौरव बुढाथोकी लगायतका थुप्रै राम्रा खेलाडी थिए । ‘मलाई लाग्छ त्यति राम्रो टिम युथ लेभलमा पहिले थिएन’ बालगोपाल भन्छन् ।

अँध्यारो युगको अन्त्य

नेपाली फुटबल टिमका तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक तथा पूर्वखेलाडी अञ्जन केसी म्याच फिक्सिङको आभियोगमा पक्राउ परेसँगै नेपाली फुटबलमा ग्रहण लाग्यो । एएफसीले म्याच फिक्सिङको ठहर गर्दै उनीहरुलाई आजीवन प्रतिबन्ध लगाएपछि नेपाली फुटबल अन्तर्राष्ट्रियस्तरमा नै बदनाम हुन पुग्यो ।

यो घटनाबाट राष्ट्रिय टिमका अन्य खेलाडीलाई पनि मानसिक रुपमा असर पर्‍यो । यही धमिलो माहोलका बीच सन् २०१५ मा सम्पन्न बंगबन्धु गोल्डकप नेपालले जित्यो । युवा खेलाडीको जोश र बालगोपालको प्रशिक्षणमा नेपालले जितको खडेरी तोड्दै बंगबन्धुको उपाधि जित्न सफल भएको थियो ।

त्यस लगत्तै नेपालले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को फुटबलमा स्वर्ण पदक जित्यो । फाइनलमा भारतलाई उसकै भूमिमा हराएर नेपाली फुटबलले इतिहास रचेको थियो । लगतै एसियन फुटबल महासंघले आयोजना गरेको सोलिडारिटी कपको उपाधि पनि उचाल्यो ।

पहिलेको जस्तो छैन

तर, एकपछि अर्का सफलता पाएका बालगोपाल पछिल्लो दुई वर्ष एन्फाबाट टाढा भए । जापानका ग्यातोकी कोजी प्रशिक्षिक भए । नेपालको प्रदर्शन भने उलेख्य रहेन ।

ओभर स्टेका कारण नेपालको अध्यागमनले कोजीलाई नेपाल आउन रोक लगाएपछि बालगोपाल कार्यबाहक प्रशिक्षकको रुपमा राष्ट्रिय टोलीमा फर्किएका छन् । तर, बालगोपाल आफ्ना खेलाडी पहिलेको जस्तो नभएको स्वीकार्छन् ।

खेलाडीको स्पिड, खेल्ने शैली, जुझारुपन त्यति नभएको उनको विश्लेषण छ । ‘नराम्रो भएको भए त टिममा पर्ने नै थिएनन् । तर अलिकति उनीहरूमा जस्तो व्यवसायिकता हुनुपर्ने त्यो देखिएन । अघिल्ला प्रशिक्षकहरूले कसरी प्रशिक्षण दिनुभयो, मैले बुझ्न सकिनँ । खेलाडीहरू पहिले मैले हेरिरहेको भन्दा अलिक भिन्न पाएँ । पहिलेकै जस्तो बनाउन खोजिरहेको छु’ उनले भने ।

फाइनल पुग्ने लक्ष्य

बंगलादेशमा सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने साफ च्याम्पियनसिप फुटबलमा नेपालले फाइनल पुग्ने लक्ष्य बनाएको छ । युवा खेलाडीले भरिएको नेपाललाई यो इतिहास रच्ने राम्रो अवसर हो । तर, यो त्यति सजिलो भने छैन ।

बालगोपालले भने, ‘दक्षिण एसियामा लगभग एउटै स्तरका टिम छन् । मसँग भएका खेलाडीको क्षमतालाई हेर्दा राम्रो नतिजा ल्याउँछौ भन्ने कुरामा आशावादी छु ।’

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

एसियन गेम्समा भोगेको पराजयले नेपाली टिमको मनोबल गिरेको हुन सक्छ । तर, एसियन गेम्समा गरेको गल्तिलाई सुधार्दै अघि बढ्नुको विकल्प छैन ।

नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जन नेपाल फाइनलसम्म पुग्नेमा विश्वस्त छन् । ‘यो पटकको हाम्रो लक्ष्य भनेको फाइनल हो । किनभने यसपाली अफगानिस्तान छैन । भारत पनि हाम्रो समूहमा नभएको कारणले गर्दा बंगलादेश र पाकिस्तानलाई जितेर अघि बढ्ने लक्ष्य लिएका छौं,’ उनले भने ।

साफ फुटबलमा नेपाल

साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म ५ पटक मात्रै सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९९३, १९९५, १९९९, २०११ र २०१३ मा नेपाल सेमिफाइनल पूग्दा १९९७, २००३, २००५, २००८, २००९ र २०१५ मा भने समूह चरणबाटै बाहिरिएको तितो इतिहास छ ।

पहिलो साफ च्याम्पियनसिपमा नेपालले ३ खेलमध्ये २ खेलमा हार र १ खेलमा बराबरी खेलेको थियो । दोस्रोमा नेपाल सेमिफाइनलमा श्रीलंकासँग अतिरिक्त समयमा २-१ गोलले पराजित भएको थियो । सन् १९९९ मा भएको चौथो साफ च्याम्पियनसिपमा २ खेलमा १ जित र एक हार ब्यहोर्दै सेमिफाइनलसम्म पुगेको नेपाल बंगलादेशसँग २-१ गोलअन्तरले हारेर फाइनलमा पुग्न चुकेको थियो ।

सन् २०११ मा भएको साफ च्याम्पियनसिपमा नेपाल ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा बराबरी खेल्दै १२ वर्षपछि सेमिफाइनलमा पुगेको थियो । तर, चौथो पटक सेमिफाइनल पुगेको नेपालको लागि अफगानिस्तान बाधक बन्यो । अफगानिस्तानले अतिरिक्त समयमा १ गोल छिराउँदै नेपाललाई पाखा लगायो ।

सन् २०१३ मा आफैंले आयोजना गरेको साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई २-० ले हराएको थियो भने पाकिस्तानसँग १-१ गोलको बराबरी खेलेको थियो । अन्तिम खेलमा भारतलाई २-१ गोलले पराजित गर्दै समूह विजेता बनेर नेपाल सेमिफाइनलमा प्रवेश गर्‍यो । सेमिफाइनलमा नेपालको लागि फेरि बाधक बन्यो अफगानिस्तान । अफगानिस्तानसँग १-० गोलले पराजित भएपछि घरेलु भूमिमा पहिलो पटक ट्रफी आफैले चुम्ने नेपालको सपना चकनाचुर बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment