Comments Add Comment

‘देउवा दूरदर्शी रहेछन्, खै रुन पाइएको कम्युनिस्ट राज्यमा ?’

१८ भदौ, पोखरा । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३९ दिन बितिसक्यो । पोखरा लामाचौरकी पुष्पा केसी शंकास्पद अवस्थामा मृत भेटिएको ११ दिन भयो ।

आइतबारमात्रै कपिलवस्तुमा ७ महिने गर्भवती महिलामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भयो । एकपछि अर्को बलात्कार र हिंसाका घटना भए पनि दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै गण्डकी प्रदेशका सांसदले सरकारको आलोचना गरेका छन् ।

कांग्रेस सांसद कुमार खड्काले साढे २ वर्षीय बालिकादेखि ७६ वर्षकी हजुरआमासमेत बलात्कृत भएको घटना कहालीलाग्दो भएको बताए । ‘स्त्रीलाई देवी, ज्ञान चाहिँ सरस्वती, धन माग्दा लक्ष्मी र शक्ति चाहिँदा दुर्गालाई परम्परामा हुर्केको नेपाली समाज अहिले फोटोको देवी पुज्ने र घरकी देवी चुट्ने मार्गतिर अग्रसर भइरहेको छ,’ सांसद खड्काले भने ।

सोमबार गण्डकी प्रदेशको संसद बैठकमा खड्काले दोषीलाई कानुनी कठघरामा उभ्याउनुको साटो पीडित परिवारलाई मानसिक यातना दिने काम भइरहेको बताए । कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार बन्यो भने रुन पनि पाइँदैन भनेको कुरा अहिले सत्य बनिरहेको उनको भनाइ थियो । ‘हाम्रा नेताको अभिव्यक्तिले शालीनताको लक्ष्मण रेखा नाघेकोजस्तो लागेको थियो । कति दूरदर्शी रहेछन्, हाम्रा नेता । खै रुन पाइएको नेकपा राज्यमा ?’ खड्काले प्रश्न गरे ।

दिदीबहिनी बलात्कृत भइन्, मारिइन भनेर शान्तिपूर्ण तरिकाले न्याय मान्दै सडकमा निस्केका नागरिकमाथि सरकारले दमन गरेको भन्दै उनले सरकारको निन्दा गरे । न्याय माग्न निस्केका नागरिकमाथि लाठी चार्ज, अस्रुग्यास र गोलीले २ दर्जन घाइते बनाउँदै एक बालक सन्नी खुनाको ज्यान जानु अकल्पनीय भएको उनले बताए ।

सांसद खड्काले कञ्जनपुरकी १३ वर्षीय निर्मलाको बलात्कारपछिको हत्या, मृत भेटिएकी पोखरा लामाचौरकी पुष्पा केसी घटना छानबिन गरी दोषीलाई दण्डित गर्न सरकारसँग माग गरे । ।

नेकपा सांसद कृष्णबहादुर थापाले पोखरा-१९ लामाचौरकी पुष्पा केसीको लास भेटिएको लामो समय बितिसक्दा पनि वास्तकिता बाहिर नआएको भन्दै यथार्थ सार्वजनिक गर्न माग गरे ।

अर्की सांसद मीना गुरुङले महिलाहरुमाथि भइरहेको घटनाले विक्षिप्त बनाएको बताइन् । यस्ता घटनाले आमा, दिदी, बहिनीलाई असुरक्षित महसुस भइरहेको उनको भनाइ थियो । ‘निर्मता पन्तको घटना सेलाउन नपाउँदै, पुष्पा केसीको घटना आयो, अहिले फेरि कपिलवस्तुमा ७ महिनाको गर्भवतीको सामूहिक बलात्कार घटना आयो,’ नेकपाकी सांसद गुरुङले भनिन्, ‘प्रहरीले किन दोषी पत्ता लगाउन सकेको छैन कि कि प्रहरी अनुसन्धान नै कमजोर बनेको हो ।’

उनले पोखराको पुष्पा केसीको घटनाको छानबिन कहाँ पुग्यो संसदमा जानकारी गराउनुपर्ने बताइन् । अर्की सांसद पुष्पा केसीले लामाचौरकी पुष्पा मृत भेटिएको ११ दिन बितिसक्दा पनि यथार्थ बाहिर आउन नसकेकोमा चिन्ता व्यक्त गरिन् । ‘पुष्पाको घटनाले परिवार, समाज विक्षिप्त बनेको छ । त्यही परिवारकी एक सदस्य पनि हुँ,’ नेकपा सांसद केसीले भनिन्, ‘घटनाको अनुसन्धान गरी सत्य बाहिर ल्याएर दोषीउपर कडा कारबाहीको माग गर्दछु ।’

कांग्रेस सांसद मेखलाल श्रेष्ठले सरकार गठन भएको ८ महिना बितिसक्दा पनि केही गर्न नसकेका कारण असफल भइसकेको बताए । ‘सरकारको मुहार उज्यालो बनाउँछु भन्ने सरकारले के गर्‍यो, ऐनाजत्तिकै छर्लंग छ,’ श्रेष्ठले भने, ‘देशमा भइरहेका घटनाले सरकार कत्तिको जतनामुखी भन्ने थाहा भइसक्यो ।’

नयाँ शक्तिका सांसद हरिशरण आचार्यले देशमा भइरहेको बलात्कार घटनाको छानबिन गर्न सरकार मौन बसेको आरोप लगाए । महिलामाथि भएका बलात्कार तथा हिंसाजन्य घटनाका दोषीलाई तत्काल कानुनी कठघरामा ल्याउने उनले आग्रह गरे । अहिले सरकार र जनताबीच अन्तर्विरोध बढ्दै गएको आचार्यले बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पुष्पा केसीको घटनाको प्रारम्भिक अनुसन्धानपछि प्रक्रिया मिलाएर भदौ १४ गते परिवारलाई शव बुझाइएको जानकारी दिए । पोष्टमार्टमबाट बलात्कार नभएको पुष्टी भइसकेको जानकारी दिँदै चुमानले हत्या हो या होइन भन्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए ।

नेकपा सांसद मोहनप्रसाद रेग्मीले जनप्रतिनिधि असुरक्षित बनिरहेको बताए । भदौ १३ गते स्याङ्जा हरिनास गाउँपालिका अध्यक्षमाथि हमला भएको रेग्मीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment